के हो शीतलहर, कसरी बच्ने ? | Khabarhub Khabarhub

के हो शीतलहर, कसरी बच्ने ?


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पुस पहिलो सातादेखि नै तराईका जिल्लामा शीतलहरले आक्रान्त पारेको छ । आखिर के हो शीतलहर ? यो कसरी चल्छ ? सबैलाई यस विषयमा जानकारी नहुन सक्छ ।

साढे दुईदशक यताको तथ्यांक हेर्दा नेपालमा शीतलहरबाट हरेक वर्ष सरदर ३७ जनाको मृत्यु हुने गरेको देखिन्छ । सन् १९९० पछि नेपालको दक्षिणी मैदानमा शुरू भएको शीतलहरका कारण ५२ जिल्लाका एक हजार जनाको ज्यान गएको प्रहरी तथ्यांकले देखाउँछ ।

पाकिस्तानको रावलपिन्डीदेखि बंगलादेशको रंगपुरसम्म फैलिने शीतलहरले दक्षिण एशियाको उत्तरी मैदानी इलाकामा हरेक वर्ष ५० करोडदेखि एक अर्ब जनालाई प्रभावित गर्ने विभिन्न अध्ययनले देखाएको छ ।

कसरी चल्छ शीत लहर ?

सूर्योदयसँगै बढेर मध्याह्नमा उच्चविन्दुमा पुग्ने तापक्रम सूर्यास्तसँगै घटेर सूर्योदय हुनुअघि न्यूनविन्दुमा झरिसकेको हुन्छ । राति सौर्यकिरण नहुने हुँदा पृथ्वीमा तापक्रम क्रमशः घट्दै न्यूनतिर झर्छ ।

मौसमविद्हरूका अनुसार सापेक्षिक आद्रता कम भएका बेला जलवाष्प जलकणमा परिणत हुन्छ । त्यो जलकणलाई कुहिरो भनिन्छ । कुहिरो लागेको बेला पृथ्वीको सतह र नजीकको वायुमण्डल चिसो र त्यसभन्दा माथिल्लो भागको वायुमण्डल न्यानो हुन्छ ।

दिन छिप्पिंदै जाँदा पृथ्वीको सतहको तापक्रम पनि बढ्दै जान्छ र वायुमण्डलको जलकण फेरि जलवाष्पमा परिणत हुन्छ । अर्थात् कुहिरो हट्छ । तर कुहिरोको तह बाक्लो भएर आवश्यक मात्रामा सौर्य किरण पृथ्वीको सतहसम्म आउन सकेन भने दिनभरि कुहिरो हट्दैन । त्यही अवस्थालाई शीतलहर भनिन्छ ।

न्यून तापक्रम, जलवाष्पको प्रचूरता, प्रशस्त धूलीकण र बादल हटाउन पुग्ने सौर्य किरण पृथ्वीको सतहसम्म नआइपुग्नु शीतलहरको प्रमुख कारण हो ।

यस्तो बेलामा मध्याह्नमा समेत सूर्यको किरण बादलको माथिल्लो भागबाटै परावर्तन भएर जान्छ । सूर्यकिरणले छिचोल्न नसकेपछि पृथ्वीको सतहमाथि बादल हट्दैन र शीतलहर कायम रहन्छ । यस्तो अवस्था हप्तौं रहने भएकाले यसलाई शीतलहर भनिएको हो ।

इन्धनको अत्यधिक प्रयोग, ईंटाभट्टा, डढेलो, विषाक्त धुवाँ–धूलो, फोहोर, हरितक्रान्ति आदि कारणले लामो समय जमीन चिसो रहन थालेको छ, जसले शीतलहर चल्ने गर्दछ ।

अपर्याप्त वर्षा, भौगोलिक अवस्थिति, हावाको बहाव आदिले शीतलहरको वातावरणलाई अझ् अनुकूल बनाउँछ । आँधीबेहरी आउँदा वा पानी पर्दा बाक्लो बादल फाटेर शीतलहर हट्छ ।

खासगरी उत्तरी भारतमा बढेको औद्योगिकीकरणलगायतका प्रकृतिमा प्रतिकूल प्रभाव पार्ने गतिविधिबाट तराईमा शीतलहर चल्ने गरेको पाइन्छ । शीतलहर चल्न थालेपछि मानव स्वास्थ्य बाहेक खेतीपाती, पशुपालन, सडक यातायात, हवाई उडान, पर्यटन, शैक्षिक संस्थालगायत प्रभावित हुने गर्छ ।

जाडोबाट कसरी बच्ने ?

जाडोबाट बच्नका लागि कपडा लगाएर मात्र हुँदैन, मौसम अनुसार तातो खालका खानेकुरा समेत खानुपर्छ । तर, कहिलेकाँही जाडोमा शरीर तातो बनाउन खानेकुरा खाँदा उल्टै स्वास्थ्यमा हानी पुग्छ । त्यसैले जाडोमा कस्ता खानेकुरा खाने र कस्ता नखाने भन्ने ज्ञान हुन पनि जरुरी छ ।

जाडोमा भोक दबाउनु हुँदैन । स्वास्थ्यप्रद तरिकाले कस्तो प्रकारको प्राकृतिक खाद्यपदार्थ उपयोग गर्न सकिन्छ जानकारी लिनुपर्छ । हरियो सागपात राम्रो भोजन हो कारण यसमा फाइबर, फलिक एसिड, भिटामिन सी, पोटासियम, म्याग्नेसियमका साथै अन्य पोषक पदार्थ पर्याप्त मात्रामा हुन्छ । अतः हरियो सागपात खाऔं र स्वस्थ तथा फिट रहौं ।

–कम चिनी हालिएको गाजरको खीर खानुपर्छ । जाडोमा गाजरको सेवन गर्नु स्वास्थ्यका दृष्टिले अत्यन्त लाभदायक हुन्छ ।
–सिट्रस फलबाट भरपूर भिटामिन सी प्राप्त हुन्छ । यिनको सेवनले शरीरको प्रतिरक्षा प्रणाली बलियो हुन्छ । यसले रुघाखोकीसँग लड्ने शक्ति समेत प्रदान गर्छ।
–जाडो मौसममा सामान्य तापमानको भोजन सेवन गर्नुपर्छ । मुटुका रोगीले तेलयुक्त एवं तारेको खाद्यपदार्थको सेवनबाट जोगिनु पर्छ । नुनको सेवन पनि नियमित मात्रामा गर्नुपर्छ। खाना पकाउँदा संतृप्त बसीय पदार्थको साटो असंतृप्त बसीय पदार्थ प्रयोग गर्नुपर्छ अर्थात् रिफाइन्ड, जैतुन वा तोरीको तेलमा खाना बनाउनु पर्छ ।
–मधुमेहका रोगीले चिनीको सेवन नियन्त्रित रूपमा गर्नुपर्छ भने रिफाइन्ड कार्बोहाइड्रेटको सेवनबाट जोगिनुपर्छ र कम्प्लेक्स कार्बोहाइड्रेटको सेवन गर्नुपर्छ अर्थात् गहुँ, जौ एवं मल्टिग्रेन आटाको प्रयोग स्वास्थ्यका दृष्टिले फाइदाजनक छ ।
–जाडोमा हरियो सागपात एवं अन्य फलफूलको सेवनले शरीरमा हेमोग्लोबिनको स्तर पनि सही मात्रामा कायम रहन्छ ।
–पानी एवं अन्य तरल पदार्थको सेवन पर्याप्त मात्रामा गर्नुपर्छ । बालबालिका तथा प्रौढहरूले चिसो खाद्य पदार्थ वा आइसक्रिम आदिको सेवनबाट जोगिनुपर्छ ।
–जसले जाडो मौसममा शरीरको तौल कम गर्ने चाहना राख्छन् उनीहरूले चिल्लो पदार्थ सेवन गर्नु हुँदैन । उनीहरूको आहारमा फाइबर, फलफूल, सलाद एवं तरल पदार्थ पर्याप्त मात्रामा हुनुपर्छ । अन्न, मल्टिग्रेन आटा, ब्राउन ब्रेड तथा उच्च फाइबरयुक्त बिस्कुट पनि तौल कम गर्न सहयोगी हुन्छन् ।
–अम्बा, गाजर, स्याउ, हरिया सागपात, सुन्तला र काँक्रा फाइदाजनक हुन्छन् । घरमा बनेको टमाटर, मिक्स भेजिटेबल र हरिया सागपातको सूप बजारमा पाइने प्याकेटको सूपभन्दा लाभदायक हुन्छ ।
–जाडोमा कतिपय मानिस सोच–विचार नगरी बढी मात्रामा खान्छन् । प्रायः मानिसलाई के खाने र कति खाने भन्ने ज्ञान हुँदैन ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  ९ : ३४ बजे

ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

धरान– धरान उपमहानगरपालिका–११ मा मिनी ट्रकको ठक्करबाट एक पैदल यात्रीको

कीन इण्डियाद्वार १४५ जनाको उद्धार गरी स्वदेश फिर्ता 

काठमाडौं– मानव बेचबिखनविरुद्ध काम गर्दै आएको संस्था (कीन इण्डिया)ले १४५

अर्थसंक्षेप : नेपालको निर्यात ३१ प्रतिशतले बढ्यो, वाणिज्य बैंकहरूको नाफा घट्यो

काठमाडौं– चालु आर्थिक वर्षको ६ महिनामा अघिल्लो आर्थिक वर्षको सोही

स्वास्थ्य बीमा सुधार गर्न स्वास्थ्यमन्त्रीद्वारा आन्तरिक थालनी, कार्ययोजना शुरु  

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सुधार