सूचना प्रविधिसम्बन्धी विधेयक संसदीय समितिबाट पारित « Khabarhub

सूचना प्रविधिसम्बन्धी विधेयक संसदीय समितिबाट पारित


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ ।

समितिको आजको बैठकको बहुमतले विधेयक पारित गरेको हो । बैठकमा सभापति कल्याणीकुमारी खड्काले विधेयकका १३१ दफामध्ये ३६ बुँदामा संशोधन भएको, फरक मत राख्ने सांसदहरुको आठ बुँदा पनि संशोधनमा समावेश गरी पारित भएको जानकारी दिइन् ।

बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले फरक मत राख्ने सांसदहरुको आठ वटा बुँदा सरकारले स्वीकार गरेको बताए ।

लोकतान्त्रिक मूल्य पद्दति विरुद्ध विधेयक बनाएर पेश गर्न संविधानले नै अनुमति नदिने भएकाले त्यसो नगरिएको उनले स्पष्ट पारे ।

“यो देशको कानून हो, सत्ता पक्षको मात्र कानून होइन, विधेयकमा नागरिक अधिकार कुण्ठित गर्ने विषय छन् भन्नु स्याल हुइँया मात्र हो, सरकारको आलोचना गर्न पाइन्छ तर जथाभावी गर्न पाइँदैन”, मन्त्री बाँस्कोटाले भने ।

फरक मत राख्ने सांसदहरुले पनि भित्र–भित्र विधेयक पारित भए हुन्छ भन्ने मान्यता राखेको उल्लेख गर्दै राजनीतिक कारणले विरोध गरेको हुनसक्ने उनले बताए ।

विधेयक पारित गर्ने सन्दर्भमा सांसदहरु सत्ता र प्रतिपक्षमा विभाजित भएका थिए । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुले ३६ बुँदाको संशोधनसहितको विधेयक पारित गर्नुपर्ने मत राखेका थिए ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुले विधेयकको दफा ८८ र ९१ देखि ९४ सम्मका बुँदा भने नागरिक स्वतन्त्रता र संविधानको मर्मविपरीत भएकाले हटाउन माग गरेका थिए ।

विधेयकका बारेमा दफावार छलफल गर्न गठित उपसमितिमा लिखित ‘नोट अफ डिसेन्ट’ पेश गरेका सांसद बहादुरसिंह लामाले नागरिकले बोल्ने अधिकार कुण्ठित गर्ने प्रावधान विधेयकमा राखिएकाले स्वीकार गर्न नसकिने बताए ।

संविधानको मर्मविपरीत आएको यो विधेयक प्रजातान्त्रिक मूल्य मान्यताविपरीत रहेको समेत उनले आरोप लगाए । फरक मतलाई संसद्को अभिलेखमा रहने गरी अघि बढाउन सांसद लामाले माग गरे ।

सांसद रामबहादुर विष्टले दफा ८८ र ९१ देखि ९४ सम्मका प्रावधान हटाएर समितिबाट सर्वसम्मत रुपमा पारित गर्ने व्यवस्था गर्न माग गरेका थिए ।

सांसद रङ्गमती शाहीले लोकतान्त्रिक मूल्य मान्यतामा सरकारविरुद्ध बोल्न नपाइने गरी विधेयक मस्यौदा गरी पारित गरिन लागेको भन्दै आपत्ति जनाइन् । सांसद टोपबहादुर रायमाझीले लोकतन्त्र भनेको छाडातन्त्र नभएकाले सूचना प्रविधिलाई व्यवस्थित गर्न विधेयक आएको बताए । समाचार र विचारलाई भने सम्मान गरिनुपर्ने उनको भनाइ थियो ।

सांसद गणेशकुमार पहाडीले सूचना प्रविधिको विषयलाई व्यवस्थित गर्ने अर्को कानून नभएकाले धेरै मानिस पीडित भएको उल्लेख गर्दै समितिमा विधेयक पारित नगरी अनिर्णयको बन्दी बनाइनु नहुने बताएका थिए ।

विधेयकका बारेमा दफावार छलफल गर्न गठित उपसमिति संयोजकसमेत रहनुभएकी सांसद बिनाकुमारी श्रेष्ठले बुँदा बुँदामा छलफल गरी फरक मतसहित प्रतिवेदन समितिमा पेश गरिएको बताइन् । सांसदहरु यज्ञराज सुनुवार, दामोदर भण्डारी, केदार सिग्देल, आशाकुमारी विक, लीलानाथ श्रेष्ठले विधेयक पारित हुनुपर्नेमा जोड दिएका थिए ।

विगत चार महिनादेखि समितिमै अड्किएको विधेयक पारित भएसँगै अव सदनको बैठकमा पेश गर्ने प्रक्रियामा अघि बढ्ने भएको छ ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  ६ : ५५ बजे

वर्षाले विभिन्न राजमार्ग प्रभावित, केही सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले राजमार्ग प्रभावित

परम्परागत सीप संरक्षणमा हेटौँडा उपमहानगरको जोड

हेटौँडा– हेटौँडा उपमहानगरपालिकाले परम्परागत सीप, कला र पेसाको संरक्षणमा जोड

विश्वकप फाइनलमा मेसी र यमालको महँगो भिडन्त : एउटा टिकटको मूल्य ३० करोड रुपैयाँ !

काठमाडौँ – अमेरिकाको न्युयोर्क न्युजर्सी (मेटलाइफ) स्टेडियममा हुने फिफा विश्वकप

विपद पूर्वतयारीमा आवश्यक परे निजी क्षेत्रसँग सहयोगको आग्रह गरिने

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को

अर्थसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसा अन्तर्गत रहेका दुई वटा समितिको बैठक