तीनकुने–कोटेश्वर–जडिबुटी शुरुङ मार्ग : पहिलो चरणको सम्भाव्यता अध्ययन सकियो « Khabarhub

तीनकुने–कोटेश्वर–जडिबुटी शुरुङ मार्ग : पहिलो चरणको सम्भाव्यता अध्ययन सकियो



काठमाडौं– ‘एम्बुलेन्समै जानु पर्ने रहेछ बरु ! ट्याक्सीमा आएर ठूलो गल्ती गरिएछ’ ट्याक्सीको झ्याल खोल्दै मूलपानीकी शिखा तामाङले लामो श्वास फेर्दै भनिन् ।

मलिन अनुहार । झट्ट हेर्दा निकै हत्तारोमा देखिन्थिन् उनी । काखमा छोरालाई सुताइरहेकी थिइन् । चिसो मौसममा पनि निकै गर्मी महशुस गर्दै ट्याक्सीका सिसा तल झारेपछि उनको आँखा जडीबुटी–कोटेश्वरको जाममा पर्‍यो ।

‘छोरा बिामी भएर जचाउन अस्पताल हिँडेकी आधा घण्टा भइसक्यो जाममा परेको पनि’ शिखाले निराश हुँदै भनिन्, ‘ट्याक्सीमा त बिरामीलाई नै लिएर हिँड्दा पनि बाटो छोड्दैनन् ।’

कुरा हो कार्यालय समय ९ बजेको । सवारी साधनले भरिएको सडक । त्यहाँ कोही सिकिस्तै बिरामी थियो भने पनि बाटो छोड्ने अवस्थामा कुनै सवारी साधन थिएनन् । त्यति खचाखच थियो सवारीको ।

‘उफ ! कोटेश्वरको ट्राफिक जामको लाइन’ मोटरसाइकलको पछाडी बसेका एक युवकले भने । ‘हरेक दिन कोटेश्वरकै जाममा आधा घण्टादेखि एक घण्टासम्म बित्छ’ खबरहबसँग कुरा गर्दै उनले भने, ‘यो ताजा समस्या होइन वर्षौ बितिसक्यो यति समस्या समाधान हुन सकेको छैन’ ।

जडीबुटी–कोटेश्वर सडक खण्डमा हुने दैनिक जामका कारण सवारीचालक र यात्रु हैरान छन् । काठमाडौं उपत्यकामा बढी जाम हुने ठाउँमध्ये जडीबुटी चोक पनि एक हो ।

यो चोकमा दैनिक आधा घण्टादेखि एकघण्टासम्म जाम हुने गरेको यात्रुहरु बताउँछन् । चोकमा ट्राफिक प्रहरी पनि नभएका होइनन् ।
अरनिको राजमार्ग हुँदै आएका ठूला बसहरु, त्यस्तै मूलपानी, पेप्सीकोला हुँदै आएका बसहरुको लामो जाममा ट्राफिक प्रहरी भने हातले इशारा गरिरहेका छन् ।

ट्राफिक बत्ती बल्दैनन् । सिट्ठी फुक्दा र हातले इशारा गर्दै सवारीलाई नियन्त्रण गर्न निकै हम्मे–हम्मे देखिन्थ्यो ।

काभ्रे, सिन्धुली, सिन्धुपाल्चोक, रामेछाप लगायतका जिल्लबाट आउने गाडीसँगै भक्तपुर नयाँबाटो हुँदै आउने सवारीसाधन त अर्कातिर मूलपानी गोठाटार, काँडाघारी र भक्तपुर पुरानो बाटो हुँदै आउने सवारीसाधनका कारण यो सडक सधै व्यस्त देखिन्छ ।

जडीबुटीबाट कोटेश्वरसम्म निस्कने वैकल्पिक सडक नहुँदा यात्रु जाम हुँदा पनि कति समयमा जाम खुल्ने हो भन्दै प्रतिक्षा गरेर बस्न बाध्य छन् ।
काठमाडौंमा जति जनसंख्या दिनप्रतिदिन बढिरहेको छ त्यति नै सवारी साधन पनि बढिरहेका छन् । लाखौं सवारी साधन गुड्ने सडक भने २ हजार ४ सय किलोमिटर रहेको छ । यही सडकमा दिनहुँ घण्टौं जाममा पर्ने गर्छन् यात्रु ।

सडक विभाग भन्छ : छिट्टै समाधान हुन्छ

जडीबुटी कोटेश्वरमा दैनिक हुने जाम हटाउने गरी काम गरिरहेको सडक विभागले जनाएको छ । यहाँको जामका कारण र समाधानको उपाय खोज्नका लागि केही समयअघि सडक विभागको समन्वयमा जापानिज सहयोग संस्था (जाइका) ले अध्ययन गरेको थियो ।

त्यसो त यसअघि पनि कोटेश्वर–जडिबुटिको जाम हटाउनका लागि धरै कार्यक्रम ल्याएपनि कार्यान्वयनमा आउन सकेको छैन ।

तर अब दुईमहिनामा जडीबुटीको जाममा केही सुधार आउने विभागका सूचना अधिकारी शिवहरी सापकोटा बताउँछन् ।
‘मनोहरामा बेलिब्रिज हालिसेकेका छौं पिच हुन मात्र बाँकी छ’ सापकोटा भन्छन्, ‘त्यो बाटो सञ्चालनमा आउनासाथ २० प्रतिशत ट्राफिक बालकुमारी जान्छ ।’

त्यस्तै बालकुमारीको पुलमुनि बिआइडीले गरेको काम सम्पन्न हुनासाथ करिडोर बाटो खुल्ने बताउँदै उनी भन्छन्, ‘करिडोरको बाटो खुल्नासाथ जाम कम हुदै जान्छ ।’

विभागको सम्वन्यमा जाइकासँगले उक्त ठाउँमा ‘अण्डर पास’ वा ‘फ्लाइ ओभर’ मध्ये कुन उपयुक्त हुन्छ भनेर अध्ययन गरेको थियो ।
‘फ्लाइ ओभर भन्दा पनि अन्डर पास नै बनाउने कुरा अघि बढेको छ’ सापकोटाले भने ‘त्यसका लागि गहिरो अध्ययन गर्नुपर्छ ।’

विभागले कोटेश्वर–जडीबुटीको जाम हटाउनका लागि कोटेश्वर देखि जडीबटुटीसम्म अर्को लेन थप्ने योजना बनाएको सापकोटाले खबरहबलाई जानकारी दिए ।

‘जडीबुटीदेखि कोटेश्वरसम्म दायाँ तर्फ एक लेन थप्ने योजना विभागको छ’ खबरहबसँग कुरा गर्दै उनले भने ‘त्यो योजनालाई कार्यान्वयनमा ल्याउन सकेमा शत प्रतिशत जाम हट्नेछ ।’

कहाँ पुग्यो तीनकुने–कोटेश्वर–जडिबुटी शुरुङ मार्ग निर्माणको काम ?

आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले तीनकुने–कोटेश्वर–जडिबुटी शुरुङ मार्ग निर्माण गरिने उल्लेख गरेका थिए ।

शुरुङ मार्गको लागि विस्तृत सम्भाव्यता अध्ययन गरी आगामी आर्थिक वर्षभित्रै निर्माण कार्य शुरु गरिने उनले बताएका थिए ।

अर्थमन्त्री खतिवडाले सूर्यविनायक–धुलिखेल (काभ्रे) सडकको स्तरोन्नति गर्ने, तीनकुने–कोटेश्वर–जडिबुटी शुरुङ मार्ग र नयाँ बानेश्वरमा अण्डर पास तथा त्रिपुरेश्वरदेखि माइतघरसम्मको फ्लाइओभरको विस्तृत सम्भाव्यता अध्ययन गरी आगामी आर्थिक वर्षभित्रै निर्माण कार्य शुरु गरिने बताएका थिए ।

‘अर्थमन्त्री खतिवडाले भनेझैं यही आर्थिक वर्षमा सुरुङ मार्ग निर्माण कार्य शुरु हुन सक्ला त ? पछिल्लो समय सुरुङ निर्माणका लागि के कस्ता अध्ययन भइरहेका छन् भन्ने प्रश्नमा विभागका महानिर्देशक केशव कुमार शर्मा भन्छन्, ‘त्यसबारे जापानी टोलीले अध्ययन गरिरहेको छ ।’

शर्माका अनुसार जापानी टोलीले पहिलो चरणको सम्भाव्यता अध्ययन सम्पन्न गरेको छ भने टोली जनवरीको अन्त्यसम्म नेपाल आउँदैछ ।

‘पहिलो चरणअन्तर्गत सम्भाव्यता अध्ययन सम्पन्न भएको छ’ शर्माले खबरहबसँग भने, ‘विस्तृत अध्ययनका लागि जापानी टोली नेपाल आउने तयारी भएको छ ।’

जापानीज टोलीले विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन सम्पन्न गर्नसाथ निर्माण कार्य शुरु हुने शर्माले खबरहबलाई जानकारी दिए ।

प्रकाशित मिति : १७ पुस २०७६, बिहीबार  १ : १० बजे

बन्द र घाटामा थलिएका केही उद्योगमा आशालाग्दा परिणाम देखिन थाले : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले वर्षौँदेखि बन्द रहेका, निरन्तर घाटामा थलिएका

साउदी अरेबिया, टर्की र पाकिस्तानबीच रक्षा सम्झौतामा हस्ताक्षर

काठमाडौँ- मध्यपूर्वमा जारी सैन्य तनावका बीच साउदी अरेबिया, टर्की र

देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ– वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न स्थानमा

स्पेन र इटालीबीचको विवाद उत्कर्षमा, हवाई र समुद्री यात्रामा सीमा नियन्त्रण लागू

काठमाडौँ– युरोपेली संघ (इयू) का दुई प्रमुख सदस्य राष्ट्र स्पेन

झापामा राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता बढ्दो

झापा– झापामा राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता गराउनेको सङ्ख्या