काठमाडौं- अवैध गतिविधि गरेको आरोपमा पक्राउ परेका १ सय २२ जना चिनियाँ नागरिकलाई बुधबार स्वदेश फिर्ता पठाइने भएको छ ।
अध्यागमन विभागले चिनियाँ दूतावासकाे समन्वयमा उनीहरुलाई चीन पठाउन लागेको हो । उनीहरुलाई लिन बुधबार अपराह्न चीनका दुईवटा विमान नेपाल आउनेछन् ।
चाइना साउदर्न र चाइना इस्टर्नका दुईओटा विमान बुधबार अपराह्न काठमाडौं आउने र ती विमानबाट उनीहरुलाई साँझ चीन लगिने तयारी गरिएको हो ।
काठमाडौंस्थित चिनियाँ दूतावासले १२२ जनाका लागि चीन प्रवेशको अनुमतिपत्र अध्यागमन विभागलाई बुझाइसकेको छ ।
पक्राउ परेकामध्ये ६७ जनासँग पासपोर्टसमेत नरहेकाले चिनियाँ दूतावासले ‘इन्ट्री डकुमेन्ट’ अध्यागमन विभागलाई उपलब्ध गराएको हो ।
चाइना साउदर्नको विमानमा ८० जना र चाइना इस्टर्नको विमानमा ४२ जनालाई राखेर लगिनेछ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको नेतृत्वमा महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाको टोलीले यही पुस ७ गते काठमाडौंका विभिन्न स्थानमा छापा मारी चिनियाँहरुलाई पक्राउ गरेको थियो ।
प्रहरीले उनीहरुलाई काठमाडौं सीडीओ कार्यालय बुझाएपछि सीडीओ कार्यालयले एक/एक हजार रुपैयाँ जरिवाना गरी उनीहरुलाई रिहा गर्ने आदेश दिएकोमा प्रहरीले तत्कालै अध्यागमन विभागमा बुझाएको थियो ।
प्रतिक्रिया