काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान अवस्थामा सिङ्गो राज्यले स्वतन्त्रताको उपभोग गर्न नसक्ने स्थिति सिर्जना भएको दाबी गरेका छन्। देशको स्वाधीनतासमेत खण्डित बन्दै गएको उल्लेख गर्दै उनले यसलाई थप बिग्रन नदिन र मुलुकलाई स्वाधीनताको प्रयोग गर्न सक्ने बनाउन आन्दोलनको विकल्प नरहेको स्पष्ट पारेका हुन् ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बुधबार आयोजित नवमनोनीत केन्द्रीय सदस्यको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त धारणा व्यक्त गरेका हुन् ।
देशमा नागरिक बोल्नै नसक्ने गरी राज्य आतङ्क सिर्जना गरिएको, गुण्डाराज मौलाएको र सरकार बेलगाम फासीवादतर्फ अगाडि बढिरहेको उहाँको आरोप थियो।
एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई गन्तव्य बनाई आधुनिक नेपाल निर्माणको लक्ष्य लिएको प्रष्ट पार्दै अध्यक्ष ओलीले देशलाई अहिलेको ‘क्रिटिकल’ (जटिल) अवस्थाबाट पार लगाउने ऐतिहासिक अभिभारा पार्टीको काँधमा आएको बताए ।
पार्टीको सही नीति र विचारका आधारमा एकताबद्ध तथा अनुशासित ढङ्गले अगाडि बढे मात्र कार्यकर्तामा उत्साह भर्न सकिने र जनताको आकर्षण पुनः एमालेतर्फ फर्काउन सकिने उनको भनाइ छ। गत वर्ष फागुन २१ गते भएको निर्वाचनलाई उनले ‘चुनाव नभई प्रतिगमनको योजनाबद्ध दोस्रो शृङ्खला’को संज्ञा दिएका छन्।
नेकपा (एमाले) सधैं सत्य, न्याय, देश र जनताको पक्षमा उभिएकाले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीले विजय हासिल गर्ने विश्वास व्यक्त गरेका छन् ।
कार्यक्रममा पार्टीका नवनियुक्त केन्द्रीय सदस्यहरू इस्तियाक राई, इन्दु कडरिया विष्ट र पुष्पा केसी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको थियो। पार्टी महासचिव शङ्कर पोखरेलले सञ्चालन गरेको उक्त कार्यक्रममा उपमहासचिव योगेश भट्टराई, सचिव भानुभक्त ढकाल, नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णु रिमाल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बालगायत शीर्ष नेताहरूको उपस्थिति रहेको थियो।














प्रतिक्रिया