काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि कार्यक्रम सुन्न उपस्थित भएका कार्यकर्ता रतन तिरुवाले जुत्ता हाने । यद्यपि उनले प्रहार गरेको जुत्ता प्रचण्ड भएको स्थान सम्म पुगेन ।
प्रचण्डलाई जुत्ता प्रहार गर्न व्यक्ति पूर्व माओवादीका कार्यकर्ता समेत थिए । उनका बुवाले जनयुद्धको समयमा ज्यान गुमाएका थिए ।
तिरुवा पार्टी अध्यक्ष प्रचण्डको भाषण सुन्न राजधानीको भृकुटीमण्डपमा रहेको राष्ट्रिय सभागृह पुगेका थिए ।
नेकपाका दिवंगत नेता भरतमोहन अधिकारीको स्मृतिमा आयोजना गरिएको कार्यक्रममा प्रचण्डले करिब २० मिनेट भाषण गरेका थिए ।
शुरुवाती केही मिनेट नेता भरतमोहनबारे चर्चा गरेका प्रचण्डले केही वेर वर्गीय कुरा गरेका थिए । पछिल्लो समय पूँजीवादीहरु मध्यमवर्गलाई आफूतर्फ तान्न उद्यत रहेको उनले बताएका थिए ।
लामै समय समाजमा व्यक्ति वर्गको व्याख्या प्रचण्डले गरेका थिए तर प्रचण्डले गरेको वर्गको व्याख्या कार्यक्रम सुन्न पुगेका तिरुवालाई चित्त बुझेन । चित्त नबुझेपछि आफूले जुत्ता प्रहार गरेको उनले प्रहरीसँगको वयानमा भनेका छन् ।
‘प्रचण्डसँग मेरो कुनै दुश्मनी हैन । तर, आइतबारको त्यो कार्यक्रममा उनले गरेको भाषण सुन्दा एक्कासी आक्रोशित भएँ,’ तिरुवाको भनाइ उद्धृत गर्दै प्रहरी स्रोतले खबरहबसँग भन्यो, ‘वर्ग संघर्षका विषयमा उनले गरेको विश्लेषणले मलाई रिस उठ्यो । रिस उठेका बेला जुत्ता हान्न पुगेछु ।’
प्रहरीसँगको बयानका क्रममा तिरुवाले आफ्नो पूरै परिवार तत्कालीन माओवादी समर्थित भएको बताएका छन् । तर, आफू भने पछिल्लो समय कुनै पनि राजनीतिक पार्टीमा आवद्ध नभएको उनले बयानमा बताएका छन् ।
बयानका क्रममा उनले आफ्ना बुवा मून तिरुवा पनि तत्कालीन जनयुद्धको क्रममा माओवादी पार्टीमै लाग्दा राज्यपक्षबाट मारिएको बताएका छन् ।
आखिर प्रचण्डले वर्ग बारे भाषणमा के भनेका थिए ?
यस्तो छ प्रचण्डको भाषण
……कम्युनिस्टहरु भनेका जनताका असल छोराछोरी हुन् भन्ने कुरा स्थापित गर्न भरतमोहनको भूमिका रहेको छ । यस अर्थमा उहाँ सबै कम्युनिस्टका निमित्त आदर्श हो । जसले कम्युनिजमलाई नाराको रुपमा मात्र होइन, जडसूत्रको रुपमा होइन, कम्युनिस्टका आदर्शलाई लोकतान्त्रिक आदर्शका रुपमा जनताको मनमस्तिकमा पुर्याउने काम गरेको छ ।
नेपाली कम्युनिस्ट आन्दोलनमा जो अहिले जहाँ छौं यस्तै नेताहरुका कार्यकुशलता र उनीहरुले प्रदर्शन गरेका नीतिहरुका कारण नै छौं । अग्रजहरुको योगदानविना यहाँ कोही पनि पुग्न सक्दैनौं ।
हाम्रो लागि उहाँ आफैं एउटा स्कूल हो । राजनीतिक विश्लेषण, निरंकुशताको संघर्ष वा लोकतान्त्रिकरणको प्रकृयामा होस् उहाँले जुन स्कुल र आदर्श प्रदर्शन गर्नुभयो त्यो निकै उत्कृष्ट रहेको छ ।
… आजभोलि अन्तर्राष्ट्रिय पूँजीवादले के कुरामा ध्यान दिन थालेको छ भने दोस्रो विश्वयुद्ध वरिपरिसम्म आउँदा कम्युनिस्ट पार्टीहरु जसरी विस्थापित भए त्यसको के कारण हो भनेर हेर्दै जाँदा पूँजीपतिले मध्यम वर्ग, निम्न मध्यम वर्गलाई जति ध्यान दिनु पर्थ्यो त्यसलाई ध्यान कम दिइएको र कम्युनिस्टहरुले निम्न वर्ग र मध्यम वर्ग बाट सपोर्ट प्राप्त गरेर विस्तारित हुँदै गएको निश्कर्ष अहिले साम्राज्यवादी थिंक ट्याक् अर्थात पूँजीवादीको दिमागमा छ ।
अहिले एकाधिकार पूँजीवाद भन्छौं हामी । वित्तीय पूँजीको भूमण्डलीकरण भएको छ अहिले । उदार पूँजीवादको जुन कुरा गरिएको छ, विकास र समृद्धिमा सहयोग गर्ने भनेर पूँजीपतिहरुले तेस्रो विश्वका देशहरुमा हामी यति अनुदान सहयोग गर्छौं भनेर जे भन्ने गरेका थिए एउटा स्ट्राट्रेजी त्यसभित्र छ । त्यो के भने मध्यमवर्गहरुलाई आफूतिर आकर्षित गर्ने । तथाकथित विकासमा सहयोग गरेका छौं भन्ने नाममा मध्यमवर्गबाट वामपन्थीहरुलाई, प्रगतिशिलहरुलाई अलग्याउने र त्यहाँ आफ्नो वर्चश्व र एकाधिकार कायम गर्ने एउटा ग्लोबल स्ट्राट्रेजीमा उनीहरु अगाडि बढिरहेका छन् ।
अहिलेको लिबरल क्यापिटालिजम भनेर जसलाई भनिएको छ र वित्तीय पूजीको भूमण्डलीकरण गर्ने भनिएको छ त्यसको पछाडिको एउटा पोलिटिकल स्ट्राटेजी भनेको चाँही निम्न वर्ग र निम्न मध्यम वर्गलाई कम्युनिजम, सोसलिजम तिरबाट रोक्ने हो ।
हामीले अहिले नेपालमा चलिरहेको बहस छलफललाई हेर्यौं भने अन्तर्यमा नेपाली कम्युनिस्टहरु के का लागि च्याम्पियन भयौं भन्ने देखिएकै छ । उनीहरुले तल्लो र मध्यमवर्गमा विन गर्न सफल भएका छन् ।
राज्य सत्तामा कसले जित्छ भन्ने कुरा मध्यवर्गलाई कसले आकर्षित गर्छ भन्ने कुरामा भर पर्छ ।
मध्यमवर्गले पूँजीपति पनि आइसोलेटेड हुन्छ । सर्वहारा वामपन्थी पनि आइसोलेटेड हुन्छ । त्यसकारण अहिले लडाइँ के हुन थाल्यो भने मध्यम वर्गलाई पूँजीपतिले अन्तर्राष्ट्रिय वित्तीय एकाधिकार पूँजिवादीले जित्ने हो कि समाजवादीहरुले जित्ने हो । लोकतन्त्रको आधारमा, शान्तिपूर्ण रुपमा प्रतिस्पर्धाका आधारमा । यतिवेला विश्वभरी मध्यमवर्गलाई जित्ने लक्ष्य देखिएको छ । एसिया अफ्रिका वा ल्याटिन अमेरिकाका देशहरुमा युरोपमा जहाँ-जहाँ क्राइसिस हुन्छ त्यहाँ मध्यमवर्गलाई जित गर्नेमा केन्द्रीत छ ।
मध्यमवर्गका वुद्धिजीवी व्यवसायी, किसान लगायतलाई कसले जित्ने भन्ने लडाइँ चलेको छ ।
भरतमोहनले वामपन्थीलाई निम्न र मध्यवर्गसँग लगेर यसरी जोडिदिनुभयो, लाख कोशिश गर्दा पनि पूँजीपतिहरुले जनसम्बन्धको विस्तारलाई रोक्न सकेका छैनन् । त्यसैलेअहिले नयाँ नयाँ षड्यन्त्रहरु देखिन थालेका छन् ।
हामीले हाम्रा नाराहरुलाई, व्यवहार र आचरणहरुलाई जनतासँग जोड्ने र लोकप्रियसँग लैजाने काम गर्न सकियो भने भरतमोहन प्रतिको वास्तविक सम्मान हुनेछ ।
निम्न वर्गसँग टुटेको सम्बन्ध
रतन तिरुवाका बुवा मुन तिरुवा माओवादी जनयुद्ध कालमा मारिएका थिए । २०५५/५६ सालमा उनी जनयुद्धका क्रममा राज्य पक्षबाट मारिएका थिए ।
तत्कालीन माओवादीले निम्न वर्गको उत्थानका लागि भन्दै १० वर्ष शसस्त्र संघर्ष गरेको थियो । माओवादीले भनेको जनयुद्धमा निम्म वर्गका मानिसहरुको सहयोग र सद्भाव पनि राम्रो परेको थियो ।
तर, शान्ति प्रकृयामा आएपछि माओवादीले तत्लो तह अर्थात निम्न वर्गलाई विर्सिएको आरोप लाग्न थाल्यो । नेताहरु विलासी बन्दै गए । उनीहरु पूँजीवादीको घेरामा फसे ।
घर, सम्पत्ति, खुस सुविधा जोड्दै गए । नेता सुविधामुखि हुँदै जाँदा निम्म वर्गका जनताको अवस्था जस्ताको तस्तै रहेको आरोप पूर्व माओवादी कार्यकर्ताले नै लगाउने गरेका छन् भने नेताहरुको व्यवहार र चरित्रले पनि त्यसलाई पुष्टि गर्दै आएको छ ।
निम्न वर्गको हितका लागि आन्दोलन गरेका प्रचण्डले भाषणमा मध्यम वर्गलाई जित्ने विश्वको ध्येय रहेको र उनीहरुलाई ‘विन’ गर्न सकियो भने सत्तामा टिकिरहन सकिन्छ वा राज्यसत्ता रहिरहन्छ भन्ने चर्चा गरे । जसलाई तिरुवाले चित्त बुझाउन सकेनन् ।
यो पनि पढ्नुहोस्
प्रचण्डको भाषण चित्त नबुझेपछि जुत्ता हानें– तिरुवा
माओवादी जनयुद्धकालमा मारिएका थिए प्रचण्डलाई जुत्ता हान्ने रतनका बुवा
प्रतिक्रिया