मानव जातिले आफ्नो भौतिक जीवनका समग्र व्यवहारबीच निर्माण गरेका बौद्धिक मूल्य मान्यता, विधि व्यवस्था, दर्शन, नैतिकता, संगीत, साहित्य, कला, प्रविधि, सिर्जना, संस्कार, शिक्षा, स्वभावको एकीकृत प्रणाली नै संस्कृति हो ।
प्रसिद्ध विद्वान् डा. रामधारी सिंह दिनकर संस्कृति अन्तर्गत शिल्प तथ्यहरु वस्तुहरु प्राविधिक प्रक्रियाहरु, धारणाहरु, अभ्यासहरु तथा मूल्यहरु समावेश गरिन्छ भन्छन् ।
उनी थप्छन्, ‘संस्कृति जीवनको एउटा तरिका हो जो शताब्दीयौंदेखि जम्मा भएर समाजमा व्याप्त रहन्छ, जसमा हामी जन्म लिन्छौ । हामी जे पनि गर्छौं त्यसमा हाम्रै संस्कृतिको झलक हुन्छ । संस्कृति हाम्रो सभ्यताको परिचायक पनि हो’ ।
नेपाली बृहत् शब्दकोषका अनुसार संस्कृति भन्नाले धेरै समयदेखि देश काल सापेक्ष भई आन्तरिक, वैचारिक तथा परम्परागत धारणाको रुपमा विकसित हुँदै आएको र अचार, विचार रहनसहन आदिका माध्यमले कुनै राष्ट्र, समाज जाति आदिको स्वरुप खुट्टिने विभिन्न मान्यता, भावना, चिन्तन मनन भौतिक अभिव्यक्तिहरु समेतलाई बुझिन्छ ।
जसमा चाडपर्व, नाँच, जात्रा, प्रथा, मूल्य मान्यता संस्कार जस्ता कुरा पर्दछन् । सांस्कृतिक संस्कारले विश्वबन्धुत्व र आपसी भाइचारा जस्ता मानवीय विषयलाई केन्द्रमा राखेर कार्यहरु गर्दछ ।
नेपालको राष्ट्रिय संस्कृति बारे राष्ट्रिय संस्कृति नीति २०६७ मा यसरी उल्लेख भएको छ, ‘वर्तमान नेपालको सिमाभित्र इतिहासको विभिन्न कालखण्डमा बसोबास गरेका विभिन्न मानव समुदाय वा मानव समुदायहरुले सिर्जना गरेर छाडेका र हाल बसोबास गरिररहेका हाम्रा विभिन्न जाति एवं समुदायका पुर्खाहरुले सिर्जना र अवलम्बन गरी हामीलाई जिम्मा लगाएर गएका भौतिक, अभौतिक, सम्पदाहरु र त्यस अनुरुपको जीवनशैलीको समष्टिगत रुप नै नेपालको राष्ट्रिय संस्कृति हो ।’
नेपाल संस्कृतिमा एक सम्पन्नशाली राष्ट्र हो । बहुभाषी, बहुजाती र बहुधर्मका मानिसका आ–आफ्नै भेषभषा र संस्कृति छन् । समाजभित्र विभिन्न धर्म, पेसा, जातजाति, संस्कृति, भाषाभाषी, भेषभूषा, खानपान, रहनसहन, चाडपर्व भएका मानिसहरु बसोबास गरिरहेका छन् ।
कूटनीति एक प्रखर कला हो । अन्तर्राष्ट्रिय सम्बन्धमा कूटनीतिको ख्याल र महत्व निकै उच्च छ । कुनै पनि राष्ट्रहरुबीच सम्बन्ध स्थापना गर्न र सम्बन्धको सुमधुरतालाई निरन्तरता दिने उच्च कला र क्षमता नै कूटनीति हो ।
नेपाल एक प्राचीन राष्ट्र भएकाले हामीसँग कूटनीतिक क्षमता र दक्षताको निकै लामो र गौरवपूर्ण इतिहास छ । विश्वमै शक्तिमान राष्ट्र बेलायतसँग त हामीले कुटनीतिक सम्बन्धको २०० वर्ष पनि पार गरिसकेका छौं । कूटनीतिको लामो इतिहास भए पनि कूटनीतिमा विविधिकरणको सन्दर्भमा हाम्रा केही अपुगता प्रष्ट देखिने गरेका छन् । सांस्कृतिक कूटनीतिक सन्दर्भमा पनि हामीले केही प्रष्ट धारणा बनाउन नसकेको स्पष्ट नै देखिन्छ ।
साँस्कृतिक कूटनीति भन्ने शब्दको प्रयोग सन् १९३० को दशकबाट शुरु भए पनि कूटनीतिमा संस्कृतिको प्रयोग र उपयोग प्राचीन कालदेखि नै रहँदै आएको छ ।
मिश्रको सभ्यता होस् वा रोमको सभ्यतामा अनि ग्रिसको सभ्यतामै पनि सांस्कृतिक कूटनीतिका प्राचीन सन्दर्भहरु फेला पारिएका छन् । सांस्कृतिक कूटनीति दुई शब्द संस्कृति र कूटनीति मिलेर बनेको हो ।
संस्कृतिका विभिन्न अवयभहरुको प्रयोग गरी दुई वा दुई भन्दा बढी देशबीच स्थापना गरिने सम्बन्ध सांस्कृति कूटनीति हो । अमेरिकी विद्वान मिल्टन कमिंग्सन का अनुसार ‘सांस्कृतिक कूटनीति सार्वजनिक कूटनीति भित्रको त्यो पाटो हो जसमा विचार, सूचना, कला र संस्कृतिका अन्य आयामहरुको आदानप्रदान हुन्छ । यसका माध्यमबाट राज्य र नागरिकबीच विशिष्ट खालको सम्बन्ध स्थापना गर्न मद्दत पुग्दछ ।’
सार्वजनिक कूटनीति अन्तर्गत राखेर बढी प्रयोग गरिने सांस्कृतिक कूटनीति पछिल्लो समयमा भने सैद्धान्तिक र व्यवहारिक रुपमा बढी प्रयोग गर्न थालिएको छ । त्यसैले कतिपय विद्वान् र सांस्कृतिककर्मीहरु सांस्कृतिक कूटनीतिलाई कुनै विषयको अंश वा सहायक नभई एक परिस्कृत र विकसित विषय रहेको मान्दछन् ।
आर्थिक रुपले कमजोर रहेको हाम्रो जस्तो राष्ट्रका लागि सांस्कृतिक कूटनीति अन्तर्राष्ट्रिय रुपमा आफ्नो उपस्थिति जनाउने एक सशक्त माध्यम हो । यो कुरालाई मनन् गरी सरकारले सांस्कृतिक कूटनीति सम्बन्धी कार्यक्रम बनाउन पहल थाल्नुपर्छ ।
सांस्कृतिक कूटनीतिको व्यापकतालाई बुझ्नमा धेरै ढिलाई भएको विचार विद्वान् साइमन मार्कको छ । उनी यसो हुनुको कारण यसरी खुलाउँछन् । यसो हुनुमा राजनीतिकर्मी तथा विद्वानहरुमा रहेको संकुचित सोच थियो । जो कूटनीतिभित्र केवल जब्बर शक्तिमात्र हावी भएको देख्दछन् ।
सांस्कृतिक कूटनीतिको प्रभावकारी उपयोगका लागि हरेक राष्ट्रले आफ्नो संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान तथा समर्थन दिलाउन विभिन्न ब्रान्ड र इमेज विकास गर्दै जान थालेका छन् ।
उदाहरणका लागि जस्तै अस्ट्रेलियाले आफूलाई आधुनिक सभ्यताशाली, बैभवयुक्त, प्रविधिले सम्पन्न देश जहाँ विविध कला र संस्कृति भएको र आदिवासी जनजातिको विशाल पूँजी भएको देश भनी अन्तर्राष्ट्रिय रुपमा प्रस्तुत गर्दछ ।
त्यसैगरी क्यानडाले पनि आफ्नो इमेजमा आफूलाई बहुसांस्कृतिक, आधुनिक विज्ञान र प्रविधिमा दक्ष राष्ट्रका साथै प्राकृतिक रुपमा पनि वनजंगल र तालहरुको देश भनेर प्रचार प्रसार गर्दैछ ।
सांस्कृतिक कूटनीतिले खासगरी गरिब राष्ट्रमा देखिएको भ्रमको मृगतृष्णालाई भत्काउने प्रयास गरेको छ । सांस्कृतिक कूटनीतिले सम्पूर्ण विश्वमा एकताबद्धको सन्देश सम्प्रेषण गर्ने मानिन्छ । जस अन्तर्गत विश्व व्यवस्थामा आइपर्ने विभिन्न सामाजिक, आर्थिक, राजनीतिक र अन्य समस्याहरुमा सौहार्दताद्वारा त्यसको निदान्तका लागि साझा खोजीको पैरवी गर्दछ ।
त्यस्तै सांस्कृतिक कूटनीतिको माध्यमबाट विश्वशान्तिको अपिललाई पनि प्रवाह गर्न मद्दत पुग्दछ । सांस्कृतिक कूटनीतिको सबैभन्दा मुख्य विशेषता के रहेको छ भने यसले प्रत्येक मानिसलाई जोड्दछ ।
सांस्कृतिक कूटनीति, कूटनीति भित्रको त्यो ताला हो जसले शत्रुतापूर्ण सम्बन्ध भएका राष्ट्रलाई नजिक आएर सम्वाद गर्न प्रेरित गर्दछ । सांस्कृतिक कूटनीतिका माध्यमबाट प्रत्येक राष्ट्रले चाहे त्यो सानो वा ठूलो, गरीब वा धनीले आफ्ना मूल्य र मान्यतालाई अन्तर्राष्ट्रिय जगतसम्म पुर्याउन सक्दछ ।
अन्तर्राष्ट्रिय सम्बन्धमा अहिले बढ्दै गएको आर्थिक तहले मानिस–मानिस बिचमा पनि खाडल बढाउँदै लगिरहेको छ । यसले वैमनस्यता र नैराश्यताको मात्र वृद्धि भइरहेको छ । सांस्कृतिक कूटनीतिको विषयले यस्ता नकारात्मक विचारलाई निस्तेज पार्दै भाइचाराको सन्देशमा बढी केन्द्रित गराउँदछ ।
नेपाल एक स्वतन्त्र, अभिभाज्य, सार्वभौमसत्ता सम्पन्न धर्म निरपेक्ष, समावेशी, संघीय लोकतान्त्रिक राज्य हो । बहुजाती, बहुभाषिक, बहुआयामिक तथा बहुसांस्कृतिक विशेषतायुक्त नेपाली समाज नेपालका लागि एक अनुपम पुँजी हो । विश्वको उच्चतम हिमशिखर सगरमाथा शान्ति दुत गौतम बुद्ध । हाम्रा अन्तर्राष्ट्रिय पहिचान हुन् । प्राकृतिक छटाले भरिपूर्ण, सांस्कृतिक, विविधताको घर आदि नेपालका परिचय हुन् । तर हामीले यी परिचयलाई पनि राम्रोसँग प्रसार गर्न सकेका छैनौ ।
सांस्कृतिक रुपमा नेपाल एक समृद्ध राष्ट्र हो । अनुपम प्राकृतिक सौन्दर्य, प्रचुर जैविक विविधता, बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र सामाजिक विविधता एवं ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण भएको हाम्रो मुलुकलाई अहिलेसम्म पनि हामीले अन्तर्राष्ट्रिय रुपमा प्रवद्र्धन गर्न सकिरहेका छैनौ । सांस्कृतिक कूटनीतिको उपयोग नेपाल जस्ता राष्ट्रका लागि उपयुक्त माध्यम हो । तर यसबारे हाम्रो ध्यान नपर्दा वा नपुग्दा यो विषय नेपालमा ओझेलमा पारिएको छ ।
नेपाल सरकारले अब सांस्कृतिक कूटनीति सम्बन्धी नीति तथा कार्यक्रमको थालनी गर्नु जरुरी छ । त्यस्तै गरेर सांस्कृतिक कूटनीतिको महत्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा अगाडि बढाउन जनशक्ति विकासका कार्यक्रम अगाडि बढाउनु पर्दछ ।
आर्थिक रुपले कमजोर रहेको हाम्रो जस्तो राष्ट्रका लागि सांस्कृतिक कूटनीति अन्तर्राष्ट्रिय रुपमा आफ्नो उपस्थिति जनाउने एक सशक्त माध्यम हो । यो कुरालाई मनन् गरी सरकारले सांस्कृतिक कूटनीति सम्बन्धी कार्यक्रम बनाउन पहल थाल्नुपर्छ ।
प्रतिक्रिया