प्रधानमन्त्रीलाई गायक प्रकाश सपूतको यस्तो पत्र « Khabarhub

प्रधानमन्त्रीलाई गायक प्रकाश सपूतको यस्तो पत्र


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक प्रकाश सपूतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्दै कोरोना भाइरसको रोकथामका लागि खडा गरिएको कोषमा २ लाख रुपैयाँ सहयोग गरेका छन् ।

उनले कोरोना भाइरस नियन्त्रणमा सरकारले देखाएको चासोप्रति खुशी व्यक्त गर्दै सहयोग गरेका हुन् । यतिबेला आफ्नो जन्मभूमि बाग्लुङ पुगेका सपूतले लामो पत्र लेख्दै प्रधानमन्त्रीको सक्रियता र सरकारको जिम्मेवारी बोधप्रति खुशी भएको जनाएका छन् ।

यस्तो छ सपूतले लेखेको पत्रः

सम्माननीय प्रधानमन्त्री ज्यू, नमस्कार,

विश्वमा भयानक रुप लिदै महामारीको रुपमा फैलीरहेको कोरोना भाईरस सतर्कताका लागि नेपाल सरकारले गरेका प्रयासहरु सरहानिय छन । भर्खरै मिर्गौला प्रत्यारोपण गरेको आफ्नो कमज़ोर शरीर तर बलियो आत्मबल सहित सार्क राष्ट्रका सरकार प्रमुखहरुसंग गरेको भिडियो कन्फेरेन्स र शुक्रबार साझको सम्बोधनले व्यक्तिगत रुपमा तपाईको सक्रियता र सरकारको ज़िम्मेवारी बोध प्रति हामी कृतज्ञ छौ । यद्यपि केही दिन अगाडि स्वास्थ्य मन्त्री ज्यूले घरमा पाहुना आएको भन्दै देखाएको व्यक्तिगत हतारोले खिस्रिक्क परेका थियौ । अरु त सबै ठीकै छ । कोशिश राम्रो छ । किप इट अप ।

सरकारकै निर्देशनलाई पालना गर्दै सबै काम धन्दा छोडेर भिडभाड कम हुने र बस्ती अलि पातलो भएको आफ्नै गाउको घरमा आएर सेल्फ़ क्वारेनटाईनमा बसेका छौँ । दशैमा समेत नजुटिने हाम्रो परिवार यसपाली घर भरी भएका छौ । एक अर्थमा मेरो बाबा, आमा र गाउ सार्है खुसी देखिएका छन तर त्यो खुसी धेरै बेर रहन सकेन जब साझ खान खाने बेला बाबाले चिन्ता व्यक्त गर्नुभयो – “ अब अनिश्चितकालीन बन्द भन्छन् ।

यसरी सबै परिवार भेला भएर बसी – बसी खान कहिले सम्म पुग्ने हो ? ” माहोल स्तब्ध भयो । खाना खल्लो ! (बाबा लामो बैदेशिक रोज़गार पछि अहिले घरमा हुनुहुन्छ । मैले नै उहालाई ढाडस दिएको थिए – बा ! तपाई बुढो हुनु भो अब विदेश नजानुस । म गर्छु । “ आमा गृहिणी हुनुहुन्छ । माइलो भाई रोजगारीको लागि कहिले मलेशिया कहिले दिल्ली भौतारिरहेको छ । खास तरक्की गर्न सकेको छैन । बुहारी र छोरा गाउँमै छन् ।

अर्को दुई जना भाई र मेरी श्रीमती बिन्दु अध्यनरत छन् र आफ्नो करियरमा संघर्षरत छन । मेरी एउटा छोरी छिन ३ वर्षको । पछिल्लो ५/६ वर्ष देखि १० जनाको हाम्रो परिवार नितान्त म मा निर्भर छ भने पेशाले म गितसंगितमा निर्भर छु । फुलटाईमर कलाकार भनम न ।

दर्शक स्रोताको मायाले जेनतेन चलिरहेको छ । हैन, राम्रै चलिरहेको छ । ) खाना खाईवरी कोठामा पुगेपछि श्रीमती बिन्दु जि र मैले हाम्रो अकाउन्ट चेक गर्यौ । यहि वर्ष काठमाण्डौमा सानो घर लिएकाले हामी संग धेरै नगद मौज्दात रहनेछ । व्यवस्थापनमा मास्टर्स डिग्री बिन्दु जिले हिसाब निकाल्नु भयो – सामान्य खर्चमा १० जनाको हाम्रो परिवारलाई बसि बसि खाए पनि ४ देखि ६ महिनालाई पुग्ने पैसा हामीसँग रहेछ ।

मैले आफुलाई भंयकर सम्पन्न भएको महसूस गरे । मैले आफ्नो करियरमा कहिल्यै पैसालाई महत्त्व दिइनँ । आत्मसम्मान र सपनाको पछि लागे । यद्यपि दुई छाक टार्न गरेको संघर्षको छुट्टै कहालीलाग्दो कथा छ । परिवारलाई हुँदा खाने धरातलबाट उठाएर ६ महिना बसी बसी खान पुग्ने धन जोर्नु भनेको ठुलो उपलब्धि हो ।

मैले खत्रै फड्को मारेको हो हाम्रो पुर्खाको तुलनामा – बिन्दु जीलाई यति गफ लाइदेको उनी ढुक्क भएर निदाइन् । तर, म निदाउन सकिनँ ।

सम्माननीय प्रधानमन्त्री ज्यू,

के हाम्रो बा ले गरेको जस्तो अड्कल र चिन्ता हजुरले गर्नु भएको छ ? मन्त्रिपरिषदको कोरोना भाइरस सुरक्षा शतर्कता बैठकमा के यो प्रश्न उठेको छ कि परिस्थिति यस्तै रहयो भने हामी कति दिन सम्म पाल्न सक्छौ हाम्रो जनतालाई भनेर ? !

के सरकारले मैले जस्तै आफ्नो खाता पाता र भकारी चेक गर्यो ? मैले आफुले पाल्नु पर्ने परिवारको हिसाब राखे जस्तै के सरकारले आफुले पाल्नु पर्ने नागरिकको हिसाब राखेको छ ? मैले छ महिना भने जस्तै के तपाई भन्न सक्नु हुन्छ यदि भकारी नै रित्तिएर मर्ने स्थिती आयो भने सरकारसंग कति महिनालाई पुग्ने भकारी छ ? समस्या अहिल्यै बाट शुरु भैसकेको छ ।

कोरोना नआए पनि भोकमरीले अलिअलि छाया देखाईसकेको छ ! कम्पनी बन्द भएपछि कतै सेल्फ़ क्वारेन्टाईन त कतै आईसोलेशनमा थुनिएको परदेशीले उसकै भरमा बसेको आफ्नो परिवारलाई केहि हप्ता देखि पैसा झिक्ने रेमिट नम्बर टिपाएको छैन ! काम ठप्पै भएपछि खल्तीमा डेड–दुईसय बँचेको एउटा दैनिक मजदुरले कालोबजारी पसेर अचानक महगिँएको पसल अगाडि गएर घण्टौ सोच्छ होला -यति पैसाले सेनिटाइजर किनम कि सानी छोरीको लागि एक गास चामल ?

हात धुनें साबुन किनम् कि भात भिजाउने तिउन ? कोरोना छेक्ने माक्स किनम् कि आशु पुछ्ने रुमाल ? रोगको डर र भोकको डरमा कति फरक छ ? , रोगले मर्नु र भोकले मर्नु मा मृत्युको मुल्य कति फरक हो ? कि उस्तै उस्तै हो ! साँझ निदाउने बेला एकपटक ‘कवि’ जस्तो मन बनाएर, एकपटक ‘बा‘ जस्तो मन बनाएर यस्सो सोच्नुस त प्रम ज्यू । के भन्दो रछ हजुरको मनले !

ल मानम् परिस्थिति यस्तै भयो- आफुसंग हुदा सम्म खाने , नभए मर्ने स्थिती आयो भने हाम्रो परिवारको आयु ६ महिना तोकियो । यसबाहेक पनि केहि रक़म बच्ने भयो करिब – २ लाख रुपैया । एउटा ज़िम्मेवार नागरिकका हैसियतले यो रक़म यो विषम परिस्थितीका निमित्त सहयोग गर्न चाहन्छु । कहा कसकों नाममा दिने निधो नभएपछि रक़म लेखेर हस्ताक्षर गरेको चेक पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिष ज्युको रोहबरमा महासंघको कार्यलय बागलुङमा पठाएको छु ।

यो रक़म सरकारकै मातहतमा जहा चलाए पनि हुन्छ । कोरोनाको आंशकामा विना पुर्वाधार बिरामी जाचिरहेका ति हिम्मतिला नेपाली डाक्टर र स्वास्थ्यकर्मिका लागि २ जोर ग्लब्स र एक जोर बलियो गाउन किन्न काम लागेपनि म खुसी ! सेल्फ़ क्वारेन्टाईनमा बस्न नपाई ज्यानको बाज़ी लगाएर नागरिकको सुरक्षामा खटिएका नेपाली सुरक्षाकर्मीले पाउने पेन्शनमा हौसला स्वरुप कतै थोरै थपिन्छ भने पनि म खुसी ।

रोग प्रतिरोधात्मक क्षमता कम भएका वृद्धवृद्दा/ बालबालिका र अन्य रोगले ग्रस्त कोहि कसैलाई २ बोतल भिटामिन ख्वाउन काम लागे पनि म खुसी । काम धन्दा सबै ठप्प भएर भोंकभोकै हुनुपर्ने केहि श्रमिक घरपरिवारलाई गोडाएक महिना दुई गास दालभात ख्वाउन पाए पनि म खुसी । रकम थोरै छ तर यस्तो परिस्थितिमा जहा जसरी काम लागे पनि म खुसी ।

ल मानम यो सबै परिस्थितीको सामना र ज़िम्मेवारी सरकारले नै पुरा गर्ने भयो । सामान्य नागरिकको सहयोग नचाहिने भयो र मेरो चेक फिर्ता आयो भने त म झनै खुसी । यदि फिर्ता आयो भने म यो चेकको केहि पैसाले सरकारको महिमामा एउटा गज्जबको गित रेकर्ड गर्ने छु । र

बाँकी रक़मले मेरी छोरीको शैक्षिक बीमा गरिदिनेछु । उस्ले धेरै पढोस र विश्वमा फेरी यस्ता विषम परिस्थिति आयो भने रक़म नतोकिएको चेक डोनेशन गर्न सक्ने हैसियत बनाओस । आफ्नो देशका लागि मात्रै होईन पुरै विश्वका लागि ।

आफ्नो र हाम्रो ख्याल राख्नुहोला । धन्यवाद ।

प्रकाश सपुत
एक नागरिक / एक कलाकार ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ६ : ०५ बजे

वातावरण संरक्षणमा सक्रिय सहभागिता आवश्यक : सभामुख यादव

महेन्द्रनगर– मधेस प्रदेशसभाका सभामुख रामआशिष यादवले मिथिलाको लोकपर्व जुडशितलको शुभ

दुई सय २५ केजी गाँजासहित दुई जना पक्राउ

इनरुवा– सुनसरी बराहक्षेत्र नगरपालिका–६ बाट ठूलो परिणामा लागूऔषध गाँजासहित पक्राउ

अब शिक्षकहरूको अवकाशपछिको ‘सिटरोल’ प्रदेशस्तरबाट

काठमाडौं– राष्ट्रिय किताबखाना (निजामती) ले सामुदायिक विद्यालयका स्थायी शिक्षकहरूको अवकाशपछिको

मन्त्रिपरिषद्को नियमित बैठक सिंहदरबारमा

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को बैठक अहिले सिंहदरबारमा बसिरहेको

गगनलाई पूर्णबहादुरको ‘काउन्टर’ : स्पष्टीकरण सोध्ने समिति नै अवैधानिक

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान उपसभापति पूर्णबहादुर खड्काले पार्टीको अनुशासन समितिले