कोरोना भाइरस र पशुपतिका बाँदरको इमेल | Khabarhub Khabarhub

कोरोना भाइरस र पशुपतिका बाँदरको इमेल


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 7 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बट्र्रन्ड रसेलका अनुसार संसारको समस्या भनेकै मुर्ख र अतिवादीहरू निर्धक्क हुनु अनि ज्ञानीहरू चाहिँ शंकै शंकाको घेरामा बस्नु हो ।

अहिले वास्तवमा, चिकित्साकर्मीभन्दा अन्दाजीकर्मीको सुझाव बढी विश्वसनीय ढंगले आइराखेको छ । कतै गोमूत्र तथा कतै स्वमूत्रले, कतै जिरामेथीले भने कतै घाँसपातले कोरोनाको उपचार हुने कुरो पक्कापक्की भएको छ ।

चिकित्सकले सुझबुझपूर्ण र प्रामाणिक कुरामात्रै बोल्नु पर्छ । हामीलाई चाहिँ त्यो बाध्यता छैन । यसो पो होला कि भनेर मनले गम्यो, टाक्कटुक्क इन्टरनेट हेर्‍यो, अनि थोरै थप्यो, केही घटायो अनि आफ्नो मनगढन्ते तर्कले आधार भेट्टाउँछ ।

अब हाम्रो कुराकानीको खेती लगाउने टारबारी तयार भयो । फेसबुकमा ठ्यास्स ठेलिदिए पछि लाइक, ककमेन्ट र शेयरको चक्र चल्न सुरु गर्छ, हेगलको ‘वाद-प्रतिवाद र संवाद’ को सूत्र जस्तो ! कहिलेकाहीँ त लेख्नेलाई भन्दा पढ्नेलाई लाज भनेजस्तो पनि हुन्छ ।

अस्ति एउटा कथामा साकाहारी र खास गरी भारतीय मूलको खाना खाने मान्छेलाई कोरोनाको प्रकोपले छुँदैन भन्ने तर्क थियो । होला, हुन सक्छ तर त्यसै हो भन्ने प्रमाण चाहिँ कथामा छैन । समग्रमा यी र यस्ता कुराहरू मेरो कुरो ठीक भन्ने अहंकारको अभिव्यक्तिभन्दा अरू केही होइन । यिनीहरू (र म) जस्तालाई आफ्नो जानिफकारिताको प्रमाण पेश गर्ने उपयुक्त अवसर यस्तै हुन्छ ।

मनोविज्ञानका अनुसार हामीमा मृत्युले दुई किसिमका भय लिएर आउँछ । एक, आफ्नो मृत्युको भय र दुई, प्रियजनको मृत्युको भय । मृत्यु जसको भए पनि यहाँ चर्चा गर्न खोजिएको बुँदा मृत्युको भय हो । कसैले पनि जिउँदै छँदा मृत्युको अनुभव गरेको हुँदैन । हामीले अर्को व्यक्ति मरेको देखेका छौँ । आफन्तहरू मरेको देखेका छौँ, तर आफैँले मृत्युको अनुभव गरेका छैनौँ ।

प्लेटोले भनाइअनुसार हामी मृत्युको बारेमा केही पनि नजानी अड्कलका भरमा भयभीत हुन्छौँ रे । प्लेटो भन्छन्, ‘मान्छेका लागि मृत्यु सबैभन्दा ठूलो वरदान हो कि होइन कसैलाई थाहा छैन तर मानिस मृत्युलाई सबैभन्दा ठूलो शत्रु ठानेर डराउँछ ।’

केही पुराण र किम्वदन्ती हाम्रो मृत्युको जानकारीका स्रोत हुन् । सबै सम्प्रदायका आआफ्नै स्रोत छन् । सबैका अनुसार हामी सबै जो जो जन्मिएका छौँ, ढिलोचाँडो मर्नै पर्छ, नमर्ने कुनै उपाय छैन । समग्रमा मृत्यु सबैको केन्द्र हो ।

अरू दर्शनका बारेमा धेरै थाहा छैन, आफ्नै दर्शनबारे पनि अल्प सूचना मात्रै छ । सूचना लेखकको अनुभव अथवा उसको पनि सूचनामात्रै हुन सक्छ । न्यायशास्त्रले प्रमाणको कुरा गर्छ । प्रमाणमा आफैँले देखेको अथवा अनुभव गरेको प्रमाण सबैभन्दा बलियो मानिन्छ ।

त्यस उपरान्त एउटा आप्तवाणी पनि प्रमाण हुन्छ भनिएको छ । आप्त पुरुष अथवा जो मानसको चंगुलबाट बाहिरिएको छ, सन्त छ, उसको वचन र कथन प्रमाण हुन्छ रे । किनभने आप्त पुरुष प्रामाणिक कुरो मात्रै गर्छ भनिन्छ ।

आफैँ टाकटुके लेखक भएकाले लेखनी दुई किसिमले गरिँदो रहेछ । एक, विषयवस्तुको अनुभवजन्य ज्ञान भएर । दुई, विषयवस्तुको अनभिज्ञता प्रकट गर्न लाज भएर । मेरो अनुभव दोस्रो वर्गमा धेरै मेल खान्छ । झन्डै झन्डै मृत्यु जत्तिकै भय उत्पन्न हुँदो रहेछ यदि कसैले ‘तँलाई त्यति पनि आउँदैन ?’ भनिदियो भने ।

अनि यही भय लुकाउन लेख्छौँ । लेख्दा अरूलाई गाली गर्न र प्रश्न गर्न पाइयो भने झनै आनन्द आउँछ । त्यही जिम्मेवारी आफूले लिनु पर्दा आनाकानी हुँदो रहेछ । जति धेरै अरूलाई गाली गर्न पाइयो त्यति नै हामी भयमुक्त हुँदा रहेछौँ । यो चाहिँ एक नम्बरी अनुभव ।

अहिले हामी सरकारलाई जति बढी गाली गर्छौं त्यति नै बढी ‘कोरोना संक्रमण भय’ बाट टाढा हुँदै जान्छौँ । यो मृत्यु छल्ने एउटा मनोवैज्ञानिक सान्त्वना प्रणालीमा आधारित दृश्य हो ।

एकपटक विराटनगरबाट वीरगन्ज जाँदा लाहान नजिक पुगेपछि गाडी खुत्रुक्क नपल्टीकन नालाबाट खेतसम्म पुग्यो । चालक दौडेर फरार, गाडी स्टार्टमै छ ।

गाडी अझै असन्तुलित भएर पल्टिने सम्भावना छ । त्यहाँ एकजना चाहिँ ढोका ढाकेर चालकलाई तथानाम भन्न थाले । हामी पछाडि बस्ने मान्छे ओर्लिन ढोकातिर जान खोज्छौँ त ती मान्छे बाटो छाड्दैनन् ! अलिक जोडले कराएपछि छाडे, हामी सबै ओर्लियौँ । उनी पनि थरथरी खुट्टा कँपाउँदै बाहिर निस्के ।

अलिक पर्तिर आलीमा पुगेर यसो पछाडि हेर्दा त गाडी घ्याँक घ्याँक गर्दै आफैँ गुड्न थाल्यो अनि जोतिएर होलीमा पल्ट्यो । मलाई लाग्यो धन्न ती व्यक्तिलाई कराइएछ । उनलाई लाग्यो होला, चालक मार गाली गरेँ । हामी सबै आआफ्नै भय भिन्न भिन्न व्यक्तिप्रति लक्षित गरेर अभिव्यक्त गर्दै थियौँ । को सही को गलत भन्ने होइन, समग्र दृश्य भयको अभिव्यक्ति मात्रै थियो ।

अहिले कोरोना भाइरसको व्यवस्थापनसम्बन्धी निकास अथवा विकासका कुरामा पनि भयका अभिव्यक्ति मिश्रित छन् । समाधानका उपाय थोरैमात्र छन् । हामी सबैलाई प्रष्ट छ, हाम्रो स्वास्थ्यसेवा संयन्त्र कस्तो छ र कति आशा गर्न सकिन्छ भन्ने । फेरि पनि हामी व्यवस्थापन प्रणाली यस्तो कल्पना गर्दछौँ कि मानौँ हिजोको नेपाल आज स्विट्जरल्याण्ड !

गाउँमा कति मान्छे छन् भन्ने तथ्य थाहा नभएको अवस्थामा अस्ति एकजना कहलिएका डाक्टर सा’ब फलाक्दै थिए- सरकारले वास्तविक संख्या लुकायो, घरघरमा कोरोना फैलिसक्यो, सरकारसँग रोग जाँच्ने किट नै छैन ।

ए बाबा ! सरकारसँग किट नै छैन भनेर डाक्टरको डाक्टरीले उत्कृष्टता प्राप्त गर्दैन, बरु कसरी र कहाँबाट किट ल्याउन सकिन्छ भनेर अलिकति खोजी गरेर आफ्नो पहुँच बढाएको भए साँच्चै बहादुरी हुने थियो । युट्युबमा भिडियो खेल्दा डाक्टर सा’ब लाई तुष्टि प्राप्त भएको देखिन्छ तर त्यसले कोरोना रोकथाममा कुनै मद्दत पुर्‍याएन ।

विज्ञ नै यस्ता भएपछि हामी उपविज्ञ कस्ता हौँला !

डाक्टर सा’बको आक्रोश पनि भयकै एउटा अभिव्यक्ति थियो ।

शास्त्र भन्छ अज्ञानले भय उत्पन्न हुन्छ । मृत्यु त सबैलाई थाहा छ तैपनि हामीलाई किन यसको भय हुन्छ त ?

भगवान श्रीकृष्ण अर्जुनलाई भन्नुहुन्छ :
जातस्य हि ध्रुवो मृत्युर्ध्रुवं जन्म मृतस्य च ।
तस्मादपरिहार्येऽर्थे न त्वं शोचितुमर्हसि ।।

जो जन्मिन्छ, त्यो मर्छ, त्यसैले मर्ने विषयमा सोच्नै पर्दैन ।

यहाँ भय मृत्युको मात्रै होइन । वास्तविक भय त मृत्युपछिको गतिको हो । हाम्रो अनुभवलाई प्रमाण मान्दा लोकायतवादीहरूले भनेजस्तो मरेपछि यो जीवन सबै सकिन्छ, पुनर्जन्म हुँदैन, बाँचुन्जेल ऋण काढेर भए पनि घिउ खानुपर्छ ।

यावज्जजीवेत सुखं जीवेत, ऋण कृत्वा घृतं पीबेत ।
भस्मी भूतस्य देहस्य पुनरागमनं कुतः ।

पुनर्जन्म हुन्छ कि हुँदैन भन्ने ठ्याक्क ज्ञान अहिले छैन । हुन्छ भने त्यसको तयारी के हो ? हुँदैन भने त्यसको प्रमाण के हो ? यी दुईवटा यक्षप्रश्न नै हाम्रो भयका कारण हुन् ।

श्रीला प्रभुपाद अमेरिकामा प्रवचन गर्दा गर्दै एकजना पत्रकारले प्रश्न सोधे रे- तपाईं यहाँ यत्रो प्रवचन गर्दै हुनुहुन्छ, मरेर उता जाँदा कृष्ण रहेनछन् भने नि ?

प्रभुपादले जवाफ दिनुभएछ- के होला यदि अहिले तिमी मर्‍यौ र उता पुग्यौ अनि श्रीकृष्णलाई देख्यौ ?

ती नास्तिक पत्रकार तुरुन्तै आस्तिक भए रे भन्ने प्रसंग मनन योग्य छ ।

वास्तवमा भय एउटा असाध्य रोग हो । भय नै सबै रोगहरूको जननी हो । भय मानसमा उत्पन्न हुने हुनाले यो मानसिक रोग हो । रोगको उपचार सम्भव हुन्छ रोगीको चाहिँ उपचार हुँदैन । रोगीलाई लागेको रोगको उपचार भएपछि रोगी स्वस्थ हुन्छ, यो सामान्य प्रक्रिया हो ।

अब एउटा कल्पना गरौँ, यदि रोगी स्वयम् नै रोग हो भने त्यसको उपचार होला कि नहोला त ?

हाम्रो पूर्वीय दर्शनको केन्द्रविन्दु आत्म हो । पश्चिमाको केन्द्रविन्दु मानस (माइण्ड) हो । पूर्वीय दर्शनका लागि ‘मानसिक रोग’ मात्रै नभएर मानस नै रोग हो । त्यसो भए भयको उपचार सम्भव होला त ?

यो त रोगबाट उत्पन्न भएको उपरोगजस्तो मात्रै देखियो !
पश्चिम भन्छ यसको उपचार हुन्छ, पूर्व भन्छ हुँदैन !

पूर्व के भन्छ भने भय भनेको घटना (इन्स्ट्यान्स) नभएर शृंखला (सेरिज) हो । एउटा घटना पो साम्य हुन्छ त तर पूरै शृंखला नै साम्य पार्न त त्यसको बीऊ नै मास्नु पर्छ । भय उत्पन्न गराउने मानसले हो । त्यसो हुँदा भयको बीउ मानस नै हुने भयो । मानसकै नास नगरेसम्म भयबाट त्राण मिल्दैन ।

यत्रो संसार मानसकै उपज हो भने मानस रोग हुन कसरी सम्भव हुन्छ भन्ने प्रश्न यहाँ मनन योग्य छ ।

यसको जवाफ पनि त्यस्तै छ । यो पनि मानसकै प्रश्न त हो नि ! एउटा पागलखानामा गएर हेर्दा कुनै पागलले ‘म पागल हुँ’ भनेको सुन्नुभएको छ र ? अनि अर्को कुरा, तर्कले मानस बलियो हुन्छ । मानस बलियो हुनु भनेको रोग अझै प्रगाढ हुनु हो । ईशावाश्य उपनिषद्मा एउटा अत्यन्तै सुन्दर श्लोक छः

अन्धं तमः प्रविशन्ति येऽविद्यामुपासते ।
ततो भूय इव ते तमो य उ विद्यायां रताः ।।

यसको अर्थ हुन्छ अविद्याले आच्छादित अर्थात् अज्ञानी त अन्धकारमा जान्छन् नै, जो विद्याले आच्छादित अर्थात विद्यावान हुन्छन् ती झनै ठूलो अन्धकारमा प्रवेश गर्छन् । किन ?

किनभने विद्या र अविद्या एउटै मानसका उपज हुन् । मानस नै आधार भएकाले जान्नेलाई जान्ने हुँ भन्ने अहं हुने हुनाले अहं नष्ट हुनुको सट्टा झनै बलशाली भएर आउँछ । अहं नै अन्धं तमः हो । जति बलियो अहं त्यति नै बढी अँध्यारो !

यो मानस छाड्ने उपाय चाहिँ के हो त ? यस प्रश्नको चर्चा जरुरी छ । भूमिका नै धेरै भयो भन्नु होला तर आधारविनाको घर तासको घरजस्तै हुन्छ ।

हेरौँ न त एकपटक, मानस नै नासियो भने न रहे बाँस न बजे बाँसुरी !

आखिर यसै बन्द उसै बन्द । बाहिर बन्द छ भन्ने कुरामा ढुक्क हुनुहोस् । यो ढुक्कपना अभ्यासको पहिलो आधार हो । अब आँखा चिम्ले पनि बन्द, खोले पनि बन्द । के खोलिराख्नु, त्यसलाई पनि बन्द गरिदिनुहोस् ।

बस्न जसरी बसे पनि हुन्छ, पुर्लुक्क नलडे भयो । सबैभन्दा राम्रो चाहिँ सोफामा अढेस लाग्नु । ओछ्यानमा लाम्चै पर्दा पनि हुन्छ । निदाउनु चाहिँ हुँदैन । अब ढुक्कले केही नगरी बस्नुहोस् ।

मन बाँदरजस्तो गरेर यताउता उफ्रिन्छ । त्यसलाई तह लगाउन थाल्नुभयो भने तपाईं आफैँ थाक्नु हुन्छ । मन जता जता जान्छ उतै उतै जान दिनुहोस् । सारा संसार बन्द हुँदा हुन्छ, तपाईको आँखा एक-दुई घण्टा बन्द भए केहि बिग्रँदैन । अझै ढुक्क हुनुहोस् ।

अब मनले कसरी काम गर्दो रहेछ त्यो लेखाजोखा गरौँ ।

आफ्नो कल्पनामा जति प्रगाढ चित्र ल्याउन सक्नुभयो उति नै राम्रो । भरसक बाँदरको भावना, आश र त्रास सबै बुझ्ने र त्यसमा भावित हुने कोशिस गर्नुहोस् ।

मानौँ, सात समुद्रपारि एउटा देशमा चितुवाजस्तो छिरबिरे रङको भैँसीजत्रो एउटा बाँदर छ । त्यो बाँदरलाई पशुपतिका बाँदरले कोरोना भाइरसबाट उद्धार गर्न सहायताका लागि हारगुहार गरेर इमेल लेखेछन् ।

त्यो बाँदरराजले पनि ऊ बेलामा हनुमानले मान्छेलाई त सहयोग गरेका थिए भने मैले त आफ्नै प्रजातिको उद्धार किन नगर्नु भन्ठानेछ । म पनि हनुमानकै सन्तान हुँ, क्षेत्र मात्रै फरक हो भनेर समुद्र नाघ्न आँखा चिम्म गरेर उफ्रिएछ ।

बाँदर छत्ल्याङ्ग पानीमा परेपछि सोचेछ, कति चाँडो ब्यांकक पुगेछु ! आँखा खोलेछ ! अनि सोचेछ, नेर नेर त आइपुगेछु, यति नाथे त म पौडिएर तरी हाल्छु नि ! पौडिएर किनारामा पुगेछ । अनि बाँदर आश्चार्यचकित भएछ ! उसले ब्यांकक र आफ्नो देशको समुद्रकिनारमा कुनै भिन्नता पाएन छ ।

ऊ अब ब्यांककबाट सोझै बर्मा हुँदै जंगलै जंगल नेपाल पुग्ने हतारोमा लागेछ जंगल तिर ! बिचरा बाँदर, एक फड्कोमा ब्यांकक पुगेको, दुई महिनामा पनि नेपाल पुगेनछ । बाँदर जंगल जंगल चाहार्दै छ ।

उता पशुपतिमा आशाको आँखो झिमिक नगरी सबै बाँदर मन्दिरको छानामा ! तल ओर्लिऔँ त कोरोना भाइरस, बसिरहुँ भने भोकले हाडछाला एकै भइसक्यो ।

अब एकछिन गमेर बुद्धि लगाउनु होस् । यिनको उद्धार कहिले होला ?

हो, मैलेजस्तै तपाईंले पनि कुनै उद्धार हुन सक्ने सम्भावना देख्नु भएन । मन एकछिन यहीँ रोकिन्छ । उपाय खोज्छ, पाउँदैन । भावनामा भावित भएर द्रविभूत हुन्छ, हाँस्छ, कुद्छ, मनोरन्जन लिन्छ । अन्तिममा आत्तिन्छ ।

अब यो अत्यास अझै बढाउनुहोस् । फेरि पशुपतिका छानामा बसेका बाँदरहरू भटाभट कोरोना संक्रमित हुन थाले । खाएको छैन, हनहनी ज्वरो आयो । एउटा, दुइटा गर्दै सबै संक्रमित भए । अब तिनीहरू बाँच्ने कुनै सम्भावना रहेन ।

अब उद्धार गर्न सक्ने एउटा मात्र उपाय चितुवा रङको त्यही सात समुद्रपारिको बाँदर ! त्यो भ्रमले उतैको जंगलमा नेपाल खोज्दै छ । यहाँ सबैको बिचल्ली । कठै !

अब त्यो रोग कसो कसो मान्छेमा सर्न भ्याएछ । यो काल भयंकर ठूलो कालो मुस्लो जताततै बाट देखिने ! जे जे भेट्यो सबै निल्दै गएछ । अब पालो मेरो र तपाईंको !

एवं एव जगत्सर्वं दग्धं ध्यात्वा विकल्पतः ।
अनन्यचेतसः पुम्सपुम्भावः परमो भवेतः ।।

विज्ञान भैरवतन्त्र अनुसार जब मानसले संकल्प-विकल्पको आश्रय पाउँदैन तब यो रोकिन्छ । संसार कालाग्निले दग्ध बनाउँदै छ, सबै निल्दै छ, अब यसको कुनै निदान नै छैन, म त्यही कालाग्नीमा डढेर मर्दै छु भनेर ध्यान गर्दा मनको कुनै आश्रय रहँदैन । एक छिन खटपट हुन्छ । हुन दिनुहोस् । यो नसोच्नुहोला कि यो भावना मात्रै हो । सोच्नुहोस् यो नै अन्तिम सत्य हो, यो नै भोगाइ हो ।

मन केही समय त्यो कालाग्नीबाट भाग्न खोज्छ, तर त्यसको आश्रय कहीँ पनि हुँदैन । जब आश्रय हुँदैन, मन रोकिन्छ । यति बेला मनले क्रम भंगको स्थिति अनुभूत गर्छ । यो समयमा मनले अद्भूत शान्ति अनुभूत गर्छ । अब मन डराउँदैन ।

यहाँ बुझ्नुपर्ने कुरो के हो भने यो नडराउने कुरो ‘मन’ होइन । मन त निराश्रय भएर त्यसको गति अवरुद्ध भइसक्यो । यो मनभन्दा परको स्थिति हो । दैनिक आधा घण्टा अलग-अलग कथामा कालाग्नीलाई चित्रित गरेर मनको गति अवरुद्ध गर्नुहोस् । यो अवरोधबाट तपाईं स्वयं अनुभव गर्नु हुनेछ त्यो मनभन्दा परको वस्तु ! अब हाम्रो खटपटी आफैँ शान्तिमा बदलिने छ ।

अभ्यास साधारण छ । कसैको सहारा चाहिँदैन । गजब के छ भने, यो साधना गर्न न त आस्तिक हुनु पर्छ न त सात्विक नै ! अहिले हामी जे जस्तो अवस्थामा छौँ, त्यसमा कुनै फेरबदल ल्याउनु पर्दैन । अहिलेको अवस्था नै प्रस्थान विन्दु र गन्तब्य हो । कहीँ लोक-परलोक जानु छैन । जसरी चिनी नचाखी गुलियो स्वाद थाहा हुन्न, त्यसरी नै अभ्यास नगरी साधना पनि थाहा हुन्न । अनुमान र पढाइले अनुभव हुँदैन । (अष्ट्रेलियाबाट)

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  ८ : ०० बजे

चलचित्र भवनमा नेपाली चलचित्रको दबदबा

काठमाडौं – गत दसैँदेखि प्रदर्शनमा आएका नेपाली चलचित्रले दर्शकको राम्रो

स्कुल बस दुर्घटना हुँदा २८ जना घाइते

भरतपुर – चितवनको उपरदाङगढीमा पिकनिक गएर फर्कंदै गरेको स्कुल बस

माओवादी नेता पदम राईको निधन

काठमाडाैं – नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वभौतिक पूर्वाधार राज्यमन्त्री

पशुअधिकारका लागि ‘भिगन ग्यालरी’

काठमाडौं – पशुअधिकार र भिगन जीवनशैलीबारे जानकारी दिने उद्देश्यले आज

भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीद्वारा मुक्तिनाथमा पूजाअर्चना

काठमाडौं – नेपालको औपचारिक भ्रमणमा रहेका भारतका स्थल सेनाध्यक्ष जनरल