लकडाउन बढेपछि हिँडेरै घर जाने मजदूर बढे | Khabarhub Khabarhub

लकडाउन बढेपछि हिँडेरै घर जाने मजदूर बढे


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत- पर्वतमा जलविद्युत्देखि सडक तथा पुल निर्माणको काम गरिरहेको फेवा कन्स्ट्रक्सनमा कार्यरत १३ मजदूरलाई हिँडेरै घर जाँदै गरेको अवस्थामा छिमेकी बागलुङको जैमिनी नगरपालिकाबाट फर्काइएका छन् ।

लकडाउनका कारण कामविहीन बनेका मजदूर पैदल हिँडेर दैलेखमा रहेको घर फर्कने क्रममा बागलुङमा स्थानीय सरकारले रोकेर सोधखोजपछि पर्वत नै फर्काइदिएको हो ।

कुश्मा नगरपालिका–८ चुवाबाट जिल्ला प्रशासनलाई पासका लागि लेखिदिएको सिफारिस कार्यालयमा पेश नै नगरी सोही सिफारिस बोकेर बागलुङको जैमिनी–८ मा पुगेपछि उनीहरू अलपत्र परेका थिए ।

मजदूर अलपत्र परेको र हिँडेरै घर जान लागेको थाहा भएपछि स्थानीय प्रशासनले निर्माण व्यवसायीलाई उनीहरुलाई आफ्नै कार्यस्थलमा राख्न र खानपानको व्यवस्थापन गर्न निर्देशन दिएपछि अहिले फेवा कन्स्ट्रक्सनकै साइटमा पुगेका छन् ।

“पैदल हिँड्न पाइन्छ भनेर वडाबाट सिफारिस बनाएर आयौँ”, जिरज ओलीले भने, “यहाँ आएपछि अघि बढ्नै पाइएन । जैमिनीको एउटा स्कुलको कोठामा भोकै सुत्यौँ ।” मङ्गलबार बिहानदेखि भोकभोकै भएको अवस्थामा कार्यस्थल फर्केर उनीहरूले बुधबार साँझ खान खाए ।

पर्वतको फलेवासमा सडक स्तरोन्नतिका लागि काम गर्दै आएका ११ जना मजदूर हिँडेरै चितवन जान फलेबास नगरपालिकाको कार्किनेटा पुगेका थिए ।

स्थानीय सरकार र केही निर्माण व्यवसायीको पहलमा उनीहरु अर्को साइटमा काममा लगाउने सहमतिपछि घर जान रोकिएका छन । फेवा कन्स्ट्रक्सनले नै जिम्मा लिएको यो सडकमा पनि मजदूरका नाइकेले पैसा पनि नदिने र पसलमा सामानसमेत लान नदिएपछि उनीहरू अलपत्र परेका थिए ।

ज्यालाबापतको रकम नपाएपछि घर हिँडेको उनीहरुको भनाइ थियो । चितवनकै राप्तीनगर नगरपालिका–१० का हिँड्ने योजनामा रहेका पासाङ थिङले भने, “हामी फलेवासको राहालेमा काम गरिरहेका थियौँ, ठेकेदारले न त पैसा दिए न त रासन नै ।” भोकभोकै मर्नुभन्दा हिँड्दाहिँड्दै घर पुगिने आशमा यसरी हिँड्नुपरेको उनको गुनासो थियो ।

यी दुई प्रतिनिधि घटना मात्रै हुन । मङ्गलबार नै कुश्मा नगरपालिका–२ मा इँटा उद्योगमा काम गर्ने मजदूर हिँडेरै घर जान लागेको बेला कुश्मामा समातिए भने पाङमै पुल निर्माणमा खटिएका मजदूर पनि घर जाने बेला समातिएका छन् ।

पर्वतमा राष्ट्रिय गौरवका योजना, जलविद्युत्, सडक, खानेपानी जस्ता पूर्वाधारका क्षेत्रमा झण्डै चार हजार मजदूर कार्यरत थिए । लकडाउन शुरु भएपछि तीन हजार मजदूर पास बनाएरै घर पुगिसकेका छन् ।

पास वितरणमा र अन्तरजिल्ला आवगमनमा कडाइ गरिएपछि ८ सय मजदूर घर जान पाएनन् । काम गर्ने क्षेत्रमा भएको रासन सकिने, निर्माण व्यवसायी र नाइकेले बेवास्ता गर्ने तथा घरपरिवारको मायाले समेत उनीहरु हिँड्न खोजिरहेका छन् ।

मजदूरहरुलाई आफ्नै क्षेत्रमा राख्न निर्माण व्यवसायीलाई जिल्ला प्रशासनले सूचना नै जारी गरेको छ । वैशाख २ गते जारी सूचनामा विकास आयोजनामा काम गर्ने मजदूरलाई शुरुकै विन्दुमा राख्न र आवतजावत नगराउन भनिएको छ ।

सूचनामा अन्तरपालिका समेतमा आवतजावतमा कडाइ गरिएको र निर्माण क्षेत्रका मजदूर पैदल हिँडेर वारपार गरेको सूचनाका आधारमा स्थानीय प्रशासनले कडाइ गरे पनि त्यसलाई उल्लङ्घन गर्ने क्रम रोकिएको छैन । पोखराबाट पर्वत हुँदै रोल्पा जान हिँडेको मजदुरको समुह बागलुङ पुगेको बेला रोकिएको छ ।

यता पर्वतमा स्थानीय प्रशासनले जिल्ला भित्रिने मुख्य सडक नाकाहरु मात्र नभई झोलुङ्गे पुलहरुमा समेत सुरक्षा कडा गरेको छ । कास्कीको नयाँपुल, पर्वतकै आर्थर, चित्रे, कार्किनेटा, पाखापानी, हुवास, सेतीवेणी पर्वत भित्रिने पूर्वी र दक्षिणी क्षेत्रका मुख्य नाका हुन् ।

पश्चिमतर्फ बागलुङ र म्याग्दीका धेरै झोलुङ्गे पुलहरु भएका स्थानहरु नाकाका रूपमा छन । सडक मार्ग भने पर्वत मालढुङ्गाको नाकामा पर्दछ । जिल्लामा भएका यी नाकामा कडाइ गर्दा मात्रै पनि जिल्ला धेरै मात्रामा सुरक्षित रहने देखिन्छ ।

मानिस आवतजावत गरेका छन् भन्ने सूचना भएका ठाउँहरुमा निगरानी गर्ने र फिर्ता पठाउने काम भइरहेको छ तर अहिले पनि लुकिछिपी चोरबाटो, मुख्य सडक नाका र बाहनाबाजी गरेर पनि भित्रिने क्रम रोकिएको छैन । बुधबार साँझ पोखराबाट हिँडेर आएका एक हुल मानिस चुवामा आइपुगेका थिए । बिहानै पोखराबाट हिँडे पनि कुश्मा आउँदा साँझ परेको र कसैले बीचमा नरोकेको उनीहरुले बताए ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  १० : २६ बजे

प्रतिनिधि सभा चुनाव फागुनभित्रै

काठमाडौँ – विघटित प्रतिनिधि सभा निर्वाचन आगामी फागुनभित्रै हुने भएको

सुशीला कार्कीले लिइन्‌ प्रधानमन्त्रीको नियुक्ति र शपथ

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्ति

को हुन् सुशीला कार्की ?

काठमाडौं – सुशीला कार्की नेपालको पहिलो महिला प्रधान न्यायाधीश हुन्।

संविधानको धारा ६१ (४) बमोजिम प्रधानमन्त्री बन्दै सुशीला कार्की

काठमाडौँ – पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेपालको संविधानको धारा ६१ को

सुशीला कार्कीको शपथलगत्तै यी तीनजना हुनेछन् मन्त्री

काठमाडौं – प्रधानमन्त्रीमा नियुक्ति भएपछि सुशीला कार्कीले शुक्रबार नै सानो