ज्याला नपाएपछि घर जान मुस्किल : ‘रित्तो हात फर्कन सकिन’ « Khabarhub

ज्याला नपाएपछि घर जान मुस्किल : ‘रित्तो हात फर्कन सकिन’


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आफूसँग काम गरिरहेका अधिकांश साथीभाइ धेरै दिन लगाएर पनि घर गइसके पनि दाङका कुलबहादुर बुढा भने तत्काल घर जाने सोचमा छैनन् । उनीजस्तै उपत्यकाका धेरै मजदुर खानको समस्या भएसँगै उपत्यका छाड्दा उनी समस्यै नभएर काठमाडौं बसेका भने होइनन् । काम गरिरहेको कम्पनीले झण्डै ६ महिना पहिलेदेखिको हिसाब नगरेकाले उनी मनोहरा पुल नजिकैको जस्ताले घेरिएको छाप्रोमा बस्दै आएका छन् ।

त्यही छाप्रोमा उनी अरु चारजना साथीसँगै बस्दै आएका छन् । ती पाँचैजनाको समस्या एउटै छ । घरमा रित्तो हात जान नसकेकाले निर्माण व्यवसायीले पैसा दिने आशा गरेर बसिरहेको उनले बताए । उनी गत माघदेखि यहाँ खोला किनारामा पर्खाल लगाउने काम गर्दै आएका छन् । ‘लकडाउन’ पहिले नै कतिपय साथी घर गए पनि उनी अवस्था सामान्य भएपछि काम गर्न पाइएला भन्दै आशा गर्दै बसे । लकडाउनपछि भने निर्माण व्यवसायीले बाँकी हिसाब गर्छु भने पनि नगरेको उनले बताए । उनले भने, ‘छ महिना काम गरेको पैसा होस् भनेर रित्तो हात फर्कन सकिन ।’

उनी विगत दुई दशकदेखि काठमाडौंमा मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका छन् । यो लकडाउन शुरु भएपछि भने काम गर्न नपाएको बुढाले बताए । दिनभर उसै बस्दा कमाइ नहुने मात्रै होइन दिन काट्न पनि गाह्रो भएको उनले बताए । झण्डै एक साता पहिले ग्यास सकिएपछि अहिले दाउरामा खाना पकाउने गरेको उनले बताए । उनले भने, ‘खोला छेउमा कतै दाउराको टुक्रा भेटिए त्यही बटुलेर पकाउने गरेका छौं ।’

कैलालीका जय सारुमगर पनि बुढासँगै एउटै छाप्रोमा बस्दै आएका छन् । विदेश जानका लागि भन्दै छ महिना पहिले काठमाडौं आएका उनी त्यतिबेलादेखि नै सडक निर्माणको काममा लागे । काम गर्दै प्रक्रिया अघि बढाउने सोचेका उनी विदेश त जान पाएनन् स्वदेशमै समेत गरिरहेको कामलाई निरन्तरता दिन सकेका छैनन् । अहिले आफूसँगै काम गरिरहेका १९ जना घर पुगिसकेको उनले बताए । हिसाब बाँकी भएकै कारण उनले भने घर जाने योजना बनाएनन् ।

‘साहुले बस्दै जानु केही समयमा लकडाउन पनि खुल्छ र काम हुन्छ भनेको थियो’, उनले भने, ‘अहिले न काम गर्न पाइयो न त बाँकी हिसाब नै पाइएको छ ।’ वडा कार्यालयले दिएको राहतका खानेकुरा एक पटक पाएको भए पनि अहिले सकिनै लागेको उनले बताए । राहतमा आएको चामल र दाल खाएरै उनीहरु बस्दै आएका छन् ।

साथमा पैसा नहुँदा तरकारी किनेरसमेत खान नसकिएको उनले बताए । सँगै काम गर्ने साथी घर जान भन्दै पोको कस्दा उनीलाई पनि जाउँजाउँ भन्ने नलागेको होइन तर यहाँ काम गरेको झण्डै दुई महिनाको ज्याला पाउन बाँकी भएकाले यतै बसेको उनले बताए ।

पहिले समय–समयमा पैसा घर पठाउने गरे पनि लकडाउन पहिलेकै दुई महिनाको ज्याला नलिएकाले घर पठाउन नसकेको उनले बताए । उनले भने, ‘उता परिवारले कति न कमायो भन्ने सोचेको हुन्छ रित्तै हात जान मन लागेन ।’

लकडाउनको एक महिना पुग्नै लाग्दा काठमाडौं उपत्यकामा मजदुरी गरेर जीविकोपार्जन गरेकाहरु सबैभन्दा मारमा परेका छन् । कतिपयले विभिन्न कारणले राहत पाएका छैनन् भने राहत पाएकाले पनि एक पटक दिइएको रासन सकिएको वा सकिनै लागेकाले फेरि पाइन्छ कि पाइँदैन भन्ने चिन्तामा छन् ।

नागरिकको स्वास्थ्य सुरक्षाका लागि सरकारले लकडाउन थप गरिरहँदा उनीहरुमध्ये धेरै घर गइसकेका छन् भने कतिपयले विभिन्न समस्याका कारण उपत्यका छाड्न सकेका छैनन् । असङ्गठित क्षेत्रमा काम गर्ने धेरै मजदुरले ‘लकडाउन’ का कारण रोजगारी गुमाएका छन् । विगतमा काम गरेको ज्यालासमेत नपाउँदा हिँडेरसमेत घर जान नपाएको उनीहरु गुनासो गर्छन् ।

नरेफाँटमै व्यक्तिगत जग्गामा छाप्रो बनाएर बसिरहेका राजेशकुमार यादव घर बनाउने ठाउँमा भारी बोक्दै आएका थिए । लकडाउनयता भने उनले काम गर्न पनि पाएका छैनन् र कमाइ पनि छैन । उनले काठमाडौं महानगरपालिका वडा नं ३२ बाट गत साता १० किलोग्राम चामल राहत पाएका थिए । उनीसँगै बस्दै आएका सातजनाको समूहले दिनमा दुई पटक खाँदा तीन दिन पहिले नै चामल सकिएको उनले बताए । उनले भने, ‘अहिले नजिकैका घरमा मान्छेले दिएर खाइरहेका छौं ।’

काठमाडौं उपत्यकामा विगतमा सडक, पुललगायत पूर्वाधार निर्माण भएका कतिपय स्थलमा अहिले पनि मजदुर भेटिन्छन् । सरकारले कतिपय स्थानमा पूर्वाधार निर्माण शुरु गरे पनि अधिकांश स्थानमा ठप्प छ । काम गर्न नपाएका उनीहरु दिनभर गफ गरेरै दिन बिताउने गरेका छन् ।

नेपाल निर्माण व्यवसायी महासङ्घले निर्माणस्थलमा रहेका मजदुरलाई खाद्यान्नको व्यवस्थापन गरिरहेको बताए पनि मजदुरले भने दिइएको खानेकुरा पर्याप्त नभएको बताउँदै आएका छन् ।


सञ्चिता घिमिरे / रासस

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ३ : १० बजे

नवलपुर–२ : रास्वपाका उम्मेदवार मनिषको वाचापत्र सबैभन्दा पहिले आमालाई 

काठमाडौं– नवलपरासी (बर्दघाट सुस्ता पुर्व) नवलपुर–२ का राष्ट्रिय स्वतन्त्र पार्टी

शेखर कोइरालाको प्रतिबद्धता- सुकुम्बासी व्यवस्थापन र विराटनगर चक्रपथ निर्माण 

विराटनगर– नेपाली कांग्रेसका वरिष्ठ नेता तथा मोरङ क्षेत्र नं. ६

विद्यालय शिक्षामा ठूला दल : कानुन बनाउने बेला एउटा, घोषणापत्रमा अर्को

काठमाडौं– विद्यालय शिक्षालाई हेर्ने विषयमा दलको व्यवहार र चुनावी घोषणापत्र

निर्वाचनका लागि स्रोतसाधन अभाव हुँदैन : अर्थमन्त्री खनाल

ललितपुर– अर्थमन्त्री रामेश्वर खनालले निर्वाचनका निम्ति आवश्यक स्रोतसाधनको कमी हुन

सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो

काठमाडौं– आज स्थानीय बजारमा बिहीबारको तुलनामा सुनको मूल्य स्थिर छ