स्वभावको अभावमा र अभावको स्वभावमा मानिसले विचित्रको व्यवहार देखाउँछ । यो भनाइ अरू कसैले पहिल्यै भनेको रहेछ भने उसैको नत्र अब मैले भनेपछि मेरो सर्वाधिकार !
अब एक छिन यो आलेख केही संवेदनशील र गहन विषयवस्तुमाथि केन्द्रित हुँदै कोरोना भाइरस र सत्ताको त्वाँलो चिरेर राजनीतिक उज्यालोमा सकुशल अवतरण गर्नेछ ।
सुरु गरूँ स्वभावबाट । स्वभाव भनेको स्वभाव हो यसलाई धेरै मस्काउनै पर्दैन भन्दा पनि हुने नै हो तर त्यतिले कुरो कहाँ पुग्थ्यो र ! कुनै वस्तु, सजीव वा अजीवको जन्मजात अथवा उत्पतिजात गुण नै स्वभाव हो । झन्डै धर्मजस्तै ।
नेर–नेर पुगेपछि मिसाउने बानी हुन्छ । जस्तो दालजस्तै कालो ढुङ्गा दालमा मिसाएर बेच्ने, चामलजस्तो भए चामलमै मिसाउने । नेर–नेर मात्रै हो, स्वभाव र धर्म यस्तै हुन् । हेर्दा उस्तै देखिए पनि धर्म मिल्दैन । अनि जान्नेहरू भन्छन् यो स्वभाव कहिल्यै जाँदैन ।
जस्तो :
स्वभावो न उपदेशेन शक्यते कर्तुमन्यथा ।
सुतप्तमपि पानीयं पुनर्गच्छति शीतताम् ।।
अर्थात उपदेशले स्वभाव बदलिँदैन, पानीलाई जति उमाले पनि त्यो आखिर शीत नै हुन्छ (आगो हुँदैन) भन्छ संस्कृत । मैले भनेको होइन, यो ग्रन्थले भनेको ।
अब कुरो तन्काऊँ अभावको । अभाव दुई किसिमको हुन्छ, एउटा हुँदै नहुनु र अर्को चाहिँ भएर पनि नहुनु ! हुँदै नभएको त बुझिन्छ तर भएर नभएको चाहिँ बुझ्न धेरै कठिन हुन्छ । कालोबजारी र कृत्रिम अभाव दोस्रो श्रेणीको परिभाषा हो । यहाँ प्रयोग गरिएको अभाव पहिलो अथवा हुँदै नभएको अवस्थाको अभाव हो ।
स्वभावको अभाव भनेको व्यक्तिको स्वभाव कुण्ठित भएको अवस्था । जात, वर्ण, लिङ्ग, धर्म, व्यवस्था, समाज, सल्लाहकार, राजनीतिक आस्था, ब्रान्ड इत्यादिको चपेटामा परेर आफ्नो गुण बदलेको अवस्थामा स्वभाव दमित हुन्छ । यस्तो अवस्था व्यक्तिका लागि साह्रै घातक हुन्छ । आफ्नोपनमा बसेर निर्णय लिनसक्ने अवसरबाट बञ्चित हुँदा अरूमा निर्भर हुनुपर्छ, परजीवी जस्तो ।
यहाँ स्वजीवी परजीवीको भूमिकामा रहँदा त्यसले विचित्रको व्यवहार देखाउँछ । जस्तो गाईलाई उडुसको भूमिकामा बस्न बाध्य बनाइयो भने गाईको प्राण हरण हुन्छ । कसै गरी गाईलाई रगत पिलाइयो भने त्यसले कस्तो व्यवहार देखाउला ! विचित्रको !
यसको विपरीत पनि उस्तै हुन्छ । नभएको बेलामा आफ्नो स्वभाव कायम राख्न सकिँदैन । यो बेला गर्ने बलिदान र सम्झौता (कम्प्रोमाइज एण्ड सेक्रिफाइस) ले निम्त्याउने व्यवहार झनै विचित्रको हुन्छ ।
अब केही कुरा ब्रान्डिङका बारेमा गरूँ । कुनै वस्तु अथवा उत्पादनको पहिचान निर्धारण गर्ने माध्यम ब्रान्डिङ हो । यसको उद्देश्य वस्तु अथवा सेवा प्रतिस्पर्धामा अलग्गै पहिचान बनाउनु । यो ब्रान्डिङ व्यापारिक हो । ब्रान्डले समाजमा गर्ने मनोवैज्ञानिक असरलाई ‘साइकोलोजिकल ब्रान्डिङ’ भन्छन् ।
साधारणतया वस्तु अथवा सेवाले ग्राहकलाई पुनः आफैँतर्फ आकर्षित गर्न गुणस्तर इत्यादिको भूमिकाले ब्रान्डले लोकप्रियता हासिल गर्छ । कालान्तरमा यो कुलीन र अकुलीन अथवा धनी र नधनी (मैले अकुलीन र नधनी शब्द ‘ब्रान्ड’ देखाउने क्षमता नभएको समुदायलाई लक्षित गरेर भनेको, गरिब र साधारण वर्गलाई लक्षित गरेको होइन) को मानक चिह्न बनेर समाजमा पहिचान बनाउँछ ।
जस्तो कुनै ब्रान्डको टोपी ट्याक्क टाउकामा लगाएर त्यो ‘लोगो’ आफूभन्दा उचो बनाएर राख्नु, छातीमा टलक्कै टल्किएको ‘ब्रान्ड’ को नाममा एक प्रकारको गौरव हुन्छ । मनोवैज्ञानिकहरू यसलाई गम्भीर मानसिक रोगका रूपमा लिन्छन् । यो गम्भीर रोग हाम्रो सामाजिक प्रतिष्ठा बन्छ । यही हो ब्रान्डिङ ।
ब्रान्डिङ र स्वभावको द्वन्द्वात्मक सम्बन्ध हुन्छ । ब्रान्डिङले थिच्दा स्वभाव हराउँछ, स्वभावले थिच्दा ब्रान्डिङ हराउँछ । यो द्वन्द्व नै पूँजीवाद र समाजवाद (क्यापिटालिज्म एण्ड सोसियालिज्म) को द्वन्द्व हो । गजब कुरो के छ भने पुँजीवाद, समाजवाद, कम्युनिज्म इत्यादि सबै ‘ब्रान्ड’ हुन् ।
ब्रान्डको स्वभाव आफ्नो साम्राज्य खडा गर्नु हो । व्यक्ति, स्वभाव र ब्रान्ड बीचको त्रिभुजीय द्वन्द्व नै ‘व्यक्तित्व’ हो । ब्रान्ड–ब्रान्ड द्वन्द्व ‘वर्ग चरित्र’ हो । पैसा हुनेले लगाएको पित्तल सुन देखिनु र नहुनेले लगाएको सुन पनि पित्तल देखिनु ब्रान्ड–ब्रान्ड सिङ्गल–सिङ्गल भिडन्त हो । कार्ल माक्र्सको ‘पुँजी’ का चार ठेलीले बुझाउन खोजेको कुरो जम्माजम्मी यति नै हो ।
यहाँ एउटा कथा पेश गर्छु । यो कथाको सत्यता या ओलीले जानून् अथवा मलाई सुनाउने स्रोतले । मेरो काम कथा विश्लेषण गर्नेमात्रै हो । तिक्खर स्वरमा प्रष्ट बुझिने गरी खरर पढ्न सक्नु ओलीको बालपहिचान थियो । उनको यही विशेषताले स्वस्थानी व्रतकथा वाचनमा उनको विशेष डिमान्ड थियो ।
व्रत समापनको रात ओली कथा वाचन गर्न बसे । राति करिब एक–डेढ बजेको हुँदो हो, कथा वाचन रोकेर ओलीले चार वटा सेलरोटी, एक डल्लो अपुङ्गो र एक कटौरो पञ्चामृत डिमान्ड गरे । स्वस्थानी कथा संवेदनशील मोडमा छ । भक्तहरूलाई एकाएक कथा रोकिएको अवस्था असहज लागे पनि बालस्वभाव ठानेर तुरुन्तै डिमान्ड पूरा भयो, कथा अघि बढ्यो ।
यो हो ओलीको व्यक्तिगत स्वभाव ।
कुनै विषयमा ‘मोनोटोनस’ हुने गरी लामो समय बस्न नसक्नु ओलीको विशेषता हो । बीच–बीचमा क्रमभङ्गता भएन भने इन्ट्रेस्ट हराउँछ ओलीको । कम्युनिष्ट ब्रान्डको सम्पर्कमा आएपछि कम्युनिस्टको विधिनिषेधको चपेटामा परेर ओलीको व्यक्तित्वमा थोरै परिवर्तन आयो । गम्भीर कुरा पनि चुट्के पाराले भनेर उनले आफ्नो इन्ट्रेस्ट अथवा स्वभावलाई नयाँ आकार दिए । गाम्भीर्य ओलीलाई मन पर्दैन ।
गाम्भीर्य एकोहोरो हुनाले यसमा जीवन्तता हुँदैन । जीवन भनेको सुख–दुःख, हर्ष–बिस्मात् इत्यादि भावनाहरूको तरङ्ग हो, एकै लाइनको पट्यारलाग्दो यात्रा होइन । आफ्नै शरीर चलेको ग्राफ देर्हा कहिले सुत्छ, बस्छ, उभिन्छ, हिँड्छ, कुद्छ इत्यादि । यो वेभ अर्थात तरङ्ग नै जीवन हो । सुतेको सुत्यै गरेका दिन जीवनको तरङ्ग पनि सकिन्छ अर्थात जीवन नै सकिन्छ ।
जीवन ओलीले राम्ररी बुझेका छन् । कम्युनिस्टको अधुरो प्रशिक्षणले धर्मप्रतिको आस्थामा पर्दा लगाएर गुम्स्याउनु पर्यो । ओलीलाई भगवान श्रीकृष्ण असाध्यै मन पर्छ, भक्ति पनि छ । देखाउन मिल्दैन । धर्म अफीम हो भनेर माक्र्सले भनेका छन् भनेर उर्दी जारी भयो । अझै उनी त्यो प्रशिक्षणको रात सम्झँदा हुन् ।
त्यसो चाहिँ नभनेको भए पनि हुन्थ्यो भनेर प्रशिक्षकलाई भन्ने प्रश्न गर्न मन थियो तर कम्युनिस्ट विधिनिषेधको अनुशासन पालना उनको प्रश्नको बाधा बन्यो ।
चार–पाँच दिन पनि भोकै बसेर यात्रा गर्न सक्ने ओलीको व्यक्तिगत स्वभाव अनुकरणीय थियो । अहिले ओलीलाई परेको बोझ भनेको ब्रान्डिङको मार हो । एउटा भनाइ छ– दौर्मंत्र्यात् नृपतिः विनश्यति अर्थात खराब सल्लाहकारको सल्लाह मान्दा राजा नासिएर जान्छ रे !
एक दिन ओलीले आफ्ना सहधर्मीलाई सोधे, ‘होइन, आफूलाई लागेको प्रश्न पनि गर्न नपाउने कस्तो व्यवस्था हो यो कम्युनिज्म भनेको ?’
सहधर्मीले जवाफ दिए, ‘ओली काम्रेड, त्यस्तै स्वतन्त्रता चाहिएको भए पुँजीपतिकै पार्टीतिर गए भइहाल्यो नि ! हाम्रो विशेषता भनेकै कठोर अनुशासन हो ।’
ओलीले न धर्म अफीम हो भनेर मान्न सके न त ‘पुँजीपति’ शब्द कार्ल माक्र्सकै भाषामा बुझ्न सके ! शायद अहिले नेपालको कम्युनिस्ट आन्दोलन भनिने सबैमध्ये पन्चानब्बे प्रतिशतभन्दा माथिलाई यो कुरा थाहा छैन । सरदार नयाँ कम्युनिस्टहरू ‘नयाँ घर’ जस्ता क्रान्तिकारी उपन्यास पढेका भरमा र पुराना कम्युनिस्टहरू ‘चमकता लाल सितारा, भागो नहीँ दुनियाँको बदलो’ इत्यादि पढेर भएका हुन् । यिनले द्वन्द्वको परिभाषा जान्दैनन्, वर्गको परिभाषा जान्दैनन् । वर्गशत्रुको चेतना र समाजवादको स्थापनाको सपना बाँड्दै हिँड्छन् ।
कोशी ब्यारेज पुग्दा झमक्कै साँझ परिसकेको थियो । राजविराज नपुगी सेल्टर छैन । पुलिसको चहलपहल निकै बाक्लो छ कोशी ब्यारेजमा । गाडी खानतलासी हुँदैछ । गाइँगुइँ सुन्नमा आयो, कुन हो कुन्नि एउटा कम्युनिस्ट आज राजविराज जाँदै छ भन्ने गन्ध पाएर पुलिसले खानतलासी बढाएको रे !
ओलीका मनमा चिसो पस्यो । कसो कसो उम्किए । राजविराज सेल्टर जाने कुरै भएन । टिकट राजविराजको भए पनि उनी अर्को गाडीमा फर्किए चन्द्रनिगाहपुरतिर । चन्द्रनिगाहपुरबाट रौतहट झर्ने कुनै उपाय थिएन, त्यहीँ बस्न सकिने अवस्था पनि थिएन । अइ बरु तै बरु अलिक तल पुगेर बस्नु पर्ला भन्दा पनि साढे बाह्र बजे राति कहाँ जाने ! ओरपर लखर लखर गर्दै रात गुजारे ।
बिहान लागे तल जेठरहैयातिर ! त्यहाँ पुगेपछि थाहा भयो इनरवारी सेल्टरबाट केही कागजात (दस्तावेज) सहित गेना पटेललाई पुलिसले समात्यो । दैवको लीला, ओली पनि त्यसको केही बेरमा पक्राउ परे ।
ओलीलाई अदालतमा सोधियो, ‘तपाईं गेना पटेललाई चिन्नुहुन्छ ?’ पुलिको पाहुना भएर बस्दा बस्दा पट्यार लागेका बेला ओलीले आफ्नो स्वाभाविक लयमा जवाफ दिए, ‘किन नचिन्नु, मधेस बसेको मान्छे त्यति पनि चिन्दिनँ र ! गेना भनेको फूल हो, त्यो पटेर घारीमा फुल्छ !’
अति गम्भीर विषयवस्तुमा लाक्षणिक टिप्पणी गर्न ओलीसँग सिक्नुपर्छ ।
ओलीलाई ब्रान्डले थिचेन भने अबको हप्तामा सरकारको ध्यान सीमानामा पर्खेर बसेका र हिँडेरै घर फर्किंदा सडकमा अलपत्र जीवनको व्यवस्थापनमा केन्द्रित हुनेछन् ।
चार–पाँच दिन पनि भोकै बसेर यात्रा गर्न सक्ने ओलीको व्यक्तिगत स्वभाव अनुकरणीय थियो । अहिले ओलीलाई परेको बोझ भनेको ब्रान्डिङको मार हो । एउटा भनाइ छ– दौर्मंत्र्यात् नृपतिः विनश्यति अर्थात खराब सल्लाहकारको सल्लाह मान्दा राजा नासिएर जान्छ रे !
यो ब्रान्डिङ साइकोलोजीले ओलीलाई यसरी गाँज्यो कि त्यसको कुनै हिसाब नै छैन । उनी खड्गप्रसाद ओली भएर चिनिनुभन्दा नेकपा अध्यक्ष भनेर चिनिनुमा गर्व गर्छन्, त्योभन्दा बढी प्रधानमन्त्री भनेर ! यी सबै पद आगमपायी अथवा आउने–जाने हुन् भन्ने कुरा ओलीले राम्रैसँग बुझेका छन् । बुझ्दाबुझ्दै पनि उनका वरिपरीको जुन झुण्ड छ त्यसले उनलाई यही ब्रान्डिङको घेरामा राखेर आफ्नो अभिष्ट पूरा गर्न मनोवैज्ञानिक परामर्श यसरी दिन्छन्, मानौँ त्यो नै सबैभन्दा भरपर्दो आश्रय हो ।
त्यही भएर ओली आफूलाई झण्डै झण्डै दुई तिहाई बहुमतको प्रधानमन्त्री हुँदा पनि लोकतन्त्रमा खतरा देख्छन् । उनको पृष्ठभूमि हेर्दा उनको यो अभिव्यक्ति नभएर उनलाई ब्राण्डिङमा अल्मल्याउने झुण्डको हो । भनिन्छ उमेरले बालापन फर्काउँछ । कोरोना भाइरसको मोनोटोनस र्याइँर्याइँले जीवन्तता हरायो । यता कोरोना, उता कोरोना !
ओलीको स्वाभाविक गुणले यति लामो कोरोना क्वारक्वार सुन्न मान्दैन । नक्सालबाडीमा पुलिसले आन्दोलनकारीलाई खोजी खोजी मार्न थालेपछि त्यहाँबाट आफ्नो साथी र हतियार लिएर काँकडभिट्टा आउँदा भन्सार कार्यालयअघि लास बोकेर शंख फुक्दै रामनाम सत्य हो भन्दै पुलिसले सुइँको नपाउने गरी नेपाल पस्ने योजना बनाउने ओलीलाई विपद्का बेलामा आफ्नो देश, घर कति प्यारो हुन्छ भन्ने कुरा थाहा नभएको होइन ।
मधेसको धापमा पानीसमेत पिउन नपाएर लगातार चार–पाँच दिन हिँड्दाको पीडा उनले नबुझेको होइन । अहिले मजदुरहरू काठमाडौँबाट पैदलै मधेश फर्किएभन्दा लामो यात्रा उनले गरेका हुन् । उनी संवेदनासँग परिचित छन् । यो समस्या समाधान गर्न नपाएकोमा उनलाई असाध्यै पीडा छ, छटपटाहट छ ।
बीचमा ब्रान्ड छ । मजदुरको उद्धार गरूँ, सीमामा बसेकालाई प्रवेश दिऊँ सल्लाहकारले लोकतन्त्रमाथि खतरा देख्छ । नगरूँ आफ्नो स्वभावले दिँदैन । ब्रान्डको यही धर्मसंकटमा एकै छिनको क्रमभङ्गता चाहिएको थियो ।
अस्ति एक दिन रातारात ओलीको बालापन फर्कियो । स्वस्थानी कथा रोकेर अपुङ्गो र पञ्चामृत मागेजस्तै कोरोनाको क्वारक्वार रोकेर अध्यादेश फिटिदिए !
यो अध्यादेशमा धेरैले नकारात्मक टिप्पणी गरे, प्रधानमन्त्री स्वयं पनि फिर्ता लिने मुडमा पुगे तर यसले समाजमा मृतसञ्जीवनीको काम गर्यो । एकछिन सबै आन्दोलनधर्मीले काम पाए । नत्र सबै कोरोना विशेशज्ञ भएर क्वारक्वारमा लागेका थिए ।
ओलीलाई ब्रान्डले थिचेन भने अबको हप्तामा सरकारको ध्यान सीमानामा पर्खेर बसेका र हिँडेरै घर फर्किंदा सडकमा अलपत्र जीवनको व्यवस्थापनमा केन्द्रित हुनेछन् ।
प्रतिक्रिया