नाटकीय शैलीमा नेकपाको संकटमोचन गराउने फ्याक्टरहरू | Khabarhub Khabarhub

नाटकीय शैलीमा नेकपाको संकटमोचन गराउने फ्याक्टरहरू


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिएपछि तरङ्गित भएको नेपाली राजनीति र नेकपाको विवाद नाटकीयरूपमा सामसुम भएको छ ।

मुलुकमा कोरोना भाइरसको संकट नै थिएन झैँ गरी वैशाख ८ गतेपछि आन्तरिक शक्ति संघर्षले एकाएक संकटग्रस्त बनेको नेकपाको विवाद तत्काललाई साम्य भएको छ । यो विवाद समाधानमा अनेकौँ फ्याक्टरले काम गरेका छन् ।

सत्तारुढ नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले छलफलविनै ल्याएका दुई अध्यादेश (राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी) ले उनी प्रधानमन्त्री र पार्टीको अध्यक्षबाट समेत विस्थापित हुनसक्ने गरी विरोध भयो ।

नेकपाभित्र ‘एकाङ्गी’ स्वभाव भएको आरोप लाग्ने गरेका ओली गत पुस २३ मा उपाध्यक्ष वामदेव गौतमको निवास भैँसेपाटीमा भएको सचिवालयका ५ सदस्य (प्रचण्ड, माधव, झलनाथ, वामदेव र नारायणकाजी) को बैठकयता प्रष्ट अल्पमतमा थिए ।

भैँसपाटी गठबन्धनसँगै प्रचण्ड–नेपाल समूहले सरकार र पार्टी नेतृत्व दुवै हत्याउन खोजेकोसम्मका सूचना पुगेपछि ओली उनीहरूलाई कमजोर बनाउने खेलमा लागे ।

भुसको आगो झैँ भित्रभित्र सल्किएको नेकपाको आन्तरिक विवाद फागुन १४ पछि झन बढी छताछुल्ल भयो ।

उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभाका लागि मनोनित गर्न सरकारलाई सिफारिस गर्ने पार्टी सचिवालयको निर्णयविरुद्ध ओली खडा भएपछि नेकपाको विवादले उग्ररूप लिएको हो ।

लगत्तै ओली मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएपछि उक्त प्रकरण सेलाएको थियो । उनी अस्पतालबाट फर्किनासाथ प्रचण्ड–नेपाल समूहले ओलीलाई अप्ठेरो पार्ने रणनीति बनाउन थालेको सुँइको ओलीले पाएका थिए ।

सचिवालयमा मात्र होइन हालको ४४ सदस्यीय (अग्नि सापकोटा सभामुख भएपछि एक सदस्य रिक्त) स्थायी समिति र केन्द्रीय कमिटीमा समेत अल्पमतमा परेका ओली आफ्नो बहुमत सिद्ध गर्नमा केन्द्रित थिए ।

स्थायी समितिमा १२ जनामात्रै र सचिवालयमा प्रष्ट देखिने तीन जना (आफूसहित ईश्वर पोखरेल र वीष्णु पौडेल) मात्र ओलीका साथमा थिए ।

एक नम्बर अध्यक्ष भएर पनि अल्पमतमा परेका ओली आन्तरिक शक्ति संघर्षको चेपुवामा परेपछि आफूइतरको पक्षलाई मिलाउने भन्दा पनि आफू बलियो हुने सजिलो उपायको खोजिमा लागे ।

त्यही सजिलो उपाय खोज्दा पार्टी फुटाउन सजिलो हुने प्रावधानसहित राजनीतिक दलसम्बन्धीको अध्यादेश जारी भयो । चर्को विरोधपछि दुवै अध्यादेश एक साता नपुग्दै फिर्ता भए ।

उक्त अध्यादेश कायमै रहन सकेको भए ओली न त सचिवालय बैठकमा आत्मआलोचना नै गर्ने अवस्थामा पुग्थे न त वामदेव गौतलाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गर्नुपर्थ्यो ।

स्रोतहरूले दाबी गरेअनुसार उक्त अध्यादेशमा ओलीका मूलतः दुई मक्सद थिए । पहिलो, तत्कालीन राजपा/संघीय समाजवादी पार्टीका केही सांसदलाई पार्टी प्रवेश गराउने र पछि विभिन्न कमिटीमा मनोनित गरेर आफू बहुमतमा पुग्ने ।

दोस्रो, त्यस्तो हुन नदिए पार्टी नै फुटाउने वा अर्को पक्षले फुटाएर गए पनि आपत्ति नमान्ने ।

यस्तो उद्देश्यका साथ प्रधानमन्त्री ओलीले ८ वैशाखमा सिरफारिस गरेका राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिले क्षणभरमै स्वीकृत गरिदिएपछि त्यसै दिन साँझको नेकपा नेकपा सचिवलाय बैठक भाँडिएनमात्र, ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हटाउन प्रचण्ड–नेपाल समूह घोषितरूपमै लाग्यो ।

पार्टीभित्रको चर्को दवाव र जनमतसमेत आफ्नो पक्षमा नरहेको जानकारी पाउँदा पनि चार दिन उनले अध्यादेश फिर्ता लिएनन् बरु पार्टी फुटाएर आउँछौँ भन्ने राजपाका केही सांसदलाई तत्काल पार्टी गठन हुने गरी साम, दाम, दण्ड भेदको नीति लिए ।

पार्टी फुटाउन खुट्टो उचालेका सांसद्हरू धरमराए । अन्ततः ओलीले धोकामात्र खाएनन् तत्कालीन समाजवादी पार्टीका नेता, सांसद् डा. सुरेन्द्र यादवलाई अपहरण गरेको आरोप लाग्यो । अनि शिखरमा पुग्यो ओलीको संकट ।

करिब दुई तिहाई नजिक बहुमतयुक्त सरकारले ल्याएको अध्यादेश पाँचौँ दिनमा फिर्ता गर्नु पर्‍यो । राज्यशक्तिको दुरुपयोग गरेर सांसद् अपहरण गरेको आरोप लागेपछि  ओलीमाथि नैतिकताको प्रश्न पनि उठ्यो । यस्तो घटनाक्रममले ओलीको प्रधानमन्त्री एवं पार्टी अध्यक्ष दुवै पदको दिनगन्ती सुरु भयो ।

वैशाख ८ पछि घटनाक्रम यसरी विकसित भयो कि प्रधानमन्त्री ओली साता–दश दिनमै पदमुक्त हुने स्थिति बन्न थाल्यो ।

पार्टीको सर्वोच्च पद र मुलुकको कार्यकारी पद दुवै एकसाथ गुम्ने खोजेको वैशाख ८ गतेपछिको १२ दिन सम्भवतः ओलीको राजनीतिक जीवनकै अत्यन्तै कठिन समयका रूपमा गुज्रियो ।

वैशाख २० गतेको सचिवालय बैठकपछि परिस्थितिले पल्टा खाएको छ । बैठकबाट ओली फेरि आफू एकपटक शक्तिशाली भएको सन्देश दिन सफल भएका छन् ।

उनले भैँसेपाटी गठबन्धन भत्काएका मात्र छैनन्, वामदेवलाई आफूअनुकूल उपयोग गर्न पनि सफल भएका छन् ।

बाम संकट टार्ने फ्याक्टरहरू

‘उत्तर र दक्षिण’ ध्रुवजस्तो ठीक विपरीत  सम्बन्धको अवस्थामा रहेका केपी–वामदेवको सम्बन्ध कसरी निकट मधुरको अवस्थामा पुग्यो ॽ एकाएक यो संकट मोचन गर्न सफल भएको जस ओली स्वयं वा उनको गुटलाई मात्रै छ ॽ

यस्ता प्रश्न राजनीतिको चाख राख्नेहरूका मनमा खुल्दुलीको विषय बनेको छ ।

सरकार र पार्टी दुवैको नेतृत्व एकसाथ गुम्ने अवस्था भएपछि मिलापत्र गराउन ओलीगुट त सक्रिय हुने नै भयो, यसका साथ अन्य केही फ्याक्टर पनि नेकपाको राजनीतिक संकटमोचनमा सक्रिय भए ।

राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सि चिन फिङबीच टेलिफोन वार्ता भएको केही दिनमै नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीको सक्रियता बढ्यो ।

यान्छीले वैशाख १८ गते साँझ प्रधानमन्त्री ओलीसँग भेटिन् । भोलिपल्ट बिहान प्रचण्ड र माधवकुमार नेपाललाई छुट्टाछुट्टै भेटिन् । ती भेटले नेकपाको राजनीति संकट व्यवस्थापनामा चिनियाँ संलग्नता पनि चर्चामा आयो ।

चिनियाँ राजदूत यान्छीले प्रचण्डलाई पावर सेयरिङ गरेर सहमतिमा जान सुझाएको प्रचण्ड स्वयंले आइतबार नेपाल निवास कोटेश्वरमा बसेको बैठकमा बताएको कुरा बाहिरिएको छ । यसर्थ, चिनियाँ फ्याक्टर नेकपाको विवाद समाधानको एउटा कडी बनेको तथ्य छर्लङ्ग भएको छ ।

प्रतिपक्षी दल नेपाली कांग्रेसले समेत संस्थागतरूपमा प्रधानमन्त्रीको राजीनामा नमागेपछि प्रचण्ड–नेपाल समूहलाई शंका लागेको थियो ।

प्रचण्ड–नेपाल समूहलाई मिलाउन ओलीले महासविच विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेल लगायतका नेताहरू क्रियाशील गराए । दोस्रो–तेस्रो तहका नेताहरूमार्फत आफ्ना विपक्षीविरुद्ध चर्को आलोचनाको रणनीति पनि प्रयोग गरिरहे ।

जानकारहरूका अनुसार प्रधानमन्त्री ओलीले गैरराजनीतिक उच्च अधिकारीहरू प्रधानन्यायाधीश र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखलाई रातारात भेटेको सन्देश पनि कुनै न कुनैरूपमा विपक्षका विरुद्ध लक्षित थियो ।

ओली त्यतिमा मात्र रोकिएनन् । उनले आफ्नो पक्षमा संसदीय दलमा बहुमत सिद्ध गर्न सांसद्हरूको हस्ताक्षर समेत गराए ।

प्रचण्ड, नेपाल र गौतमसँग अलगअलग भेट गरेर आफू अनुकूलको  अवस्था बनाएछि मात्र उनी वैशाख १७ गतेको सचिवालय बैठक डाक्न मञ्जुर भएका थिए ।

सोही बैठकमा ओलीले गौतमलाई भावी प्रधानमन्त्री र नेपाललाई तेस्रो अध्यक्ष प्रस्ताव गरे । यसपछि नेकपाभित्रको राजनीतिले अर्कै मोड लियो । अरू तीन दिनमा ओलीको प्रस्तावमा गौतम राजीमात्र भएनन् उनले प्रचण्ड–नेपाल गुट नै त्यागिदिए ।

विवाद मिलाउने पर्दा पछाडीका खेलाडी

वामदेव गौतम ओलीको गुटमा आइसक्दा पनि ओलीइतर समूह अझै रणनीति बनाउनमा केन्द्रित छ ।

आगामी स्थायी समिति बैठक र आन्तरिक शक्ति समीकरणमा आफू बलियो हुन प्रचण्ड–नेपाल समूह अहिले पनि छलफलमा छ ।

आइतबार नेपाल निवासमा भएको छलफलले पनि प्रचण्ड–नेपाल समूह एक भएको सन्देश दिएको छ ।

यस अवस्थामा नेकपाभित्रको संकट समाधान भएको भन्नु हतारो हुनेछ । गौतमले गुट परिवर्तन गरेर ओलीको ठूलो खड्गो भने टारिदिएका छन् । यो मिलाउने काम भने ओली वा उनको गुट एक्लैले गरेको होइन ।

केपी ओलीको वर्तमान सरकार जोगाउन लागेका पर्दा पछाडिका खेलाडीहरूमा महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा, उद्योगमन्त्री लेखराज भट्ट, नेता दिनानाथ शर्मा, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र सञ्चार उद्यमी क्याप्टेन रामेश्व थापा सक्रिय भएको स्रोतहरूले पुष्टि गरेका छन् ।

पर्दा पछाडिका यी खेलाडीहरूले ओलीको वर्तमान सरकार जोगाउन भगीरथ प्रयास गरे । फलस्वरूप ओली सरकार त जोगियो नै पार्टी फुट्ने जोखिम समेत टर्‍यो ।

वैशाख १७ को सचिवालय बैठकमा माधव नेपालालाई तेस्रो वरियताको अध्यक्ष र उपाध्यक्ष गौतमलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेर विवाद मत्थर पार्न खोजे पनि त्यसले सकारात्मक संकेत नदेखिएपछि ओलीले नयाँ रणनीति बनाए ।

ओलीले गृहमन्त्री थापा, उद्योगमन्त्री भट्ट, र नेता दिनानाथ शर्मा लगायतपूर्व माओवादीका नेताहरूलाई साथमा लिए ।

त्यसबीचमा नेकपा महासचिव विष्णु पौडेलले प्रचण्ड र ओलीसँग समन्वय गरिरहे । संटक समाधानमा महासचिव पौडेल नै उपाध्यक्ष वामदेव गौतमलाई मनाएका थिए ।

दुवै पक्षधरहरूबीचको घनिभूत छलफलपछि महासचिव पौडेल, गृहमन्त्री थाप, उद्योगमन्त्री भट्ट, पूर्वअर्थमन्त्री पाण्डे र अन्नपूर्ण मिडिया ग्रुपका सञ्चालक समेत रहेका क्याप्टेन थापाले कुनै पनि वहानामा पार्टी फुटाउन नहुनेमा दुवै अध्यक्षलाई दवाव दिए ।

क्याप्टेन थापाले प्रचण्ड र ओलीलाई एक बनाउन लबिङ गरेको खुलेको छ । कुनै पनि वहानामा पार्टी फुटाउन नहुने र वर्तमान विवाद आन्तरिकरूपमै समाधान गर्नुपर्ने भन्दै क्याप्टेन थापाले प्रचण्ड र प्रधानमन्त्री ओलीलाई मनाएका थिए ।

क्याप्टेन थापाले विगतमा समेत तत्कालीन एमाले र माओवादीको विवाद चुलिँदा सहज व्यवस्थापन  गर्न भूमिका निर्वाह गरेका थिए । अहिले नेकपाको संकट समाधानमा क्याप्टेन थापा सक्रिय रहेको विभिन्न स्रोतहरूले पनि पुष्टि गरेका छन् ।

क्याप्टेन थापा प्रधानमन्त्री ओलीका निकट र विश्वासका पात्र मानिन्छन् । ओलीसँग उनको सम्बन्ध नयाँ होइन । दुवै जना एकअर्काको उतार–चढावबारे नजिकबाट परिचित छन् ।

थापा बालकोटमा हुँदा प्रधानमन्त्री ओलीसँग ब्याडमिन्टन खेल्ने साथीसमेत थिए । प्रधानमन्त्री ओली र क्याप्टेन थापाले संकटका बेला एक अर्कालाई खोज्ने गरेका छन् ।

नेकपामा संकटको संकेत देखापरेपछि क्याप्टेन थापा बालुवाटार, भैँसेपाटी र खुमलटारमा बाक्लो ओहोरदोहोर गरिरहे ।

अध्यक्ष प्रचण्डलाई पनि प्रधानमन्त्री ओलीको विकल्प तत्काल खोज्न नहुने भन्दै क्याप्टेन थापाले मनाउन प्रयास गरेका थिए ।

तत्काल प्रधानमन्त्रीको विकल्प खोज्न नहुने भन्दै थापा खुमलटार पुगेर पटक–पटक छलफल गरेका थिए । विगतमा समेत क्याप्टेन थापाले तत्कालीन एमाले र माओवादीका नेताहरूबीच सहजीकरण गरेका थिए ।

२०७२ साल वैशाख १२ गतेको भूकम्पअघि प्रचण्ड र ओली एक अर्काका कटु आलोचक हुँदा उनीहरूको सम्बन्ध मिलाउन पनि थापा नै सक्रिय थिए ।

दुई दशकभन्दा बढी हवाई उडानमा सक्रिय थापाले आफ्नो ‘फ्लाइङ करिअर’ मा द्वन्द्वकालमा फसेकाहरुको उद्धारदेखि  शीर्ष र दोस्रो तहका नेतारुलाई उडाएको अनुभव  समेत छ ।

अन्नपूर्ण मिडिया ग्रुप (अन्नपूर्ण पोष्ट दैनिक, रेडियो अन्नपूर्ण नेपाल, एपीवान एचडी टेलिभिजन, अन्नपूर्ण एक्सप्रेस साप्ताहिक र द अन्नपूर्ण एक्सप्रेस) का अध्यक्ष समेत रहेका थापाले आफ्नो विशेष सम्बन्ध उपयोग गर्दै ओली र प्रचण्डबीच वार्ताको वातावरण बनाए ।

उनले ओली र प्रचण्डलाई गोप्यरूपमा सघन छलफलका लागि आफ्ना नातेदार अर्जुन भण्डारीको कोटेश्वरस्थित घरमा वार्ता गराएपछि ओली र प्रचण्डबीच निकट भएर खुला छलफल भएको थियो ।

त्यसलगत्तै ओली–प्रचण्ड २०७४ असोज १७ मा तत्कालीन एमाले र माओवादीको चुनावी तालमेल गर्ने घोषणा हुँदै अन्ततः पार्टी एकतामा पुगेका थिए ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  २ : ३८ बजे

एलआईसी नेपालले ८८ प्रतिशत हकप्रद सेयर जारी गर्दै

काठमाडौं – लाइफ इन्स्युरेन्स कर्पोरेसन (एलआईसी) नेपालले ८८.४५ प्रतिशत हकप्रद

सिनेमा बजार सुन्निएको कि मोटाएको ?

काठमाडौं – वि.सं. २०८१ को सुरुवाती ६ महिना नेपाली सिनेमाका

बगेर खेर गइरहेछ भोटको नुन

म्याग्दी – मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ तेताङका ७३ वर्षीय थर्चेन

साढे सत्र करोडको लागतमा पक्की पुल निर्माण हुँदै

खोटाङ– जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकाको सिमानामा पर्ने बुवाँखोलामा सवारी साधन

आर्चर आइपिएल सूचीमा : अक्सनमा सहभागी हुने

काडमाडौं – पहिला सर्ट लिस्ट गरिएका खेलाडीको सूचीमामा समावेश नभएका