काठमाडौं – ‘ब्रिटेन्स गट ट्यालेन्ट’ मा ‘सन्डे मर्निङ लभ यु’ गीत गाउँदै प्रस्तुति दिएर गायक भीम निरौला एकाएक चर्चामा आए । गीतको सामाजिक सञ्जालमा खुबै चर्चा भयो ।
‘सन्डे मर्निङ लभ यु’ ले ७ वर्षपछि गायक निरौलालाई एकाएक चर्चामा ल्याइदिएको छ । निरौलाले यो गीत कमेडी शैलीको भएको र खुशी हुँदा जस्तो अवस्थामा पनि गाउन मिल्ने भएकाले यो गीत रुचाइएको बताउँछन् ।
‘यो गीत कमेडी शैलीको छ, यसमा नाच्न, हाँस्न, गुनगुनाउन अथवा पार्टीमा गाउन पनि मिल्छ, खुशी हुँदा जहाँ पनि गाउन मिल्छ,’ निरौलाले भने, ‘त्यसैले यो गीत रुचाइएको हुनुपर्छ ।’
निरौलाले आफू भर्सटायल (जस्तासुकै गीत पनि गाउन सक्ने) गायक भएको बताउँछन् । ‘म आफूलाई भर्सटायल गायक भन्न रुचाउँछु, मैले लोकगीत पनि गाएको छु, पप गीत पनि गाएको छु,’ उनले भने ।
धनकुटामा जन्मिएका भीम लामो समयदेखि बेलायतमा बस्दै आएका छन् । उनी त्यहाँ एक होटलमा म्यानेजरका रुपमा कार्यरत छन् ।
प्रतिक्रिया