सीमा क्षेत्रमा रातभर जाग्राम « Khabarhub

सीमा क्षेत्रमा रातभर जाग्राम


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- भारतबाट मानिसलाई आउन नदिन सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ सखडाका युवाले रातभर जाग्राम बसेर चौकीदारी गर्न थालेका छन् । कोरोना भाइरसको सङ्क्रमण बेलामा समेत अवैध तस्करी नरोकिएपछि गाउँका १० युवाले १० दिनदेखि गाउँ भित्रिने नाकामा निगरानी गर्न थालिएको हो ।

रातको समयमा सीमा क्षेत्र हुँदै प्रवेश गर्ने इलाकाको झ्याङ्ग, घारीमा युवा छरिएर लुकेर बस्छन् र मदिरा ओसार्न भारतबाट आउनेलाई समाउँछन् । “सीमानाका बन्द भएका बेला पनि आउजाउ रोकिएन, तस्करी रोकिएन, त्यसैले चौकीदारी बस्नुपरेको हो”, छिन्नमस्ता गाउँपालिका वडा नं ३ का वडाध्यक्ष दीपेन्द्रकुमार यादवले भने, “तस्करीले सङ्क्रमणको जोखिमसमेत बढ्यो, भरियालाई घेराउ गर्दै अबदेखि नआउने प्रतिबद्धता गराएर भारततर्फ नै फिर्ता पठाइदिन्छौँ ।”

खाना खाएर सबै सुतिसकेपछि यिनीहरू चौकीदारीमा निक्लन्छन्, बिहानीपख आएर सुत्छन् । अवैध मदिराका लागि भारतीय नागरिक प्रवेश गर्छन् कि भनेर निगरानी गरिरहेको टोलीका संयोजक मिथलेश यादवले सुनाए ।

अवैध मदिरा ओसार्न आउने भारतीयको चालढाल नै फरक हुन्छ । उनीहरू पनि पाँचदेखि १० जनाको समूहमा आउँछन् । युवाले सशस्त्र प्रहरीको पनि साथ लिएका छन् । नेपालबाट भारततर्फ मदिरा तस्करी गर्ने समूहले हतियारसमेत राख्ने गरेको पाइएकाले युवाले सशस्त्र प्रहरीको सहयोग लिएका हुन् । गत कात्तिक ५ गते सप्तरीबाट भारततर्फ मदिरा लग्ने समूहबाट ‘सिक्सर’ पेस्तोलसमेत बरामद भएको थियो ।

पाँच जना सशस्त्र प्रहरी पनि युवाझै शैली अपनाउँदै उनीहरूसँग लुकेर बस्छन् । सबै जना घेरा हालेर छरिएका बसेका हुन्छन् । घेराभित्र मदिरा ओसार्ने भरिया पर्नासाथ चारैतिरबाट टर्च बालेर एकअर्कालाई सङ्केत गर्छन् र भारतीयलाई नियन्त्रणमा लिन्छन् । त्यसपछि शुरु हुन्छ, केरकार । रातको समयमा आउनुको औचित्य उनीहरूसँग मदिरा ओसार्नुबाहेक अरु हुँदैन । त्यसपछि नियन्त्रणमा लिइएका सबैलाई पोखरीमा नुहाउन लगाउँछन्, शारिरीक अभ्यासस्वरूप घुँडा र कुहिनो टेकाएर हिँडाउँछन्, अनि अबदेखि नेपाल प्रवेश गर्दैनौँ भनेर पटक–पटक कसम (प्रतिबद्धता) खुवाउन लगाउँछन् र कोरोना भाइरसका बारेमा सम्झाएर भारत फिर्ता पठाउँछन् ।

दिनभर प्रहरी, सशस्त्र प्रहरीको ठूलो सङ्ख्यामा गस्ती हुने गरेकाले अवैध मदिराको तस्करी रातको समयमा हुने गरेकाले युवा पनि रातकै समयमा चौकीदारी गर्न थालेका हुन् । “रातको समयमा मदिरा लिन भारतीय आउँछन् कि भनेर चौकीदारी गर्छौँ”, नुनु मखियाले भने ।

भारतको बिहार राज्यमा मदिरा बिक्री वितरण र प्रयोगमा रोक लगाएदेखि नै नेपालबाट बिहारतर्फ मदिरा तस्करी बढेको छ । भारतबाट भने लागुऔषध, बिँडी, खैनी, रजनीगन्धा, गुटखाजस्ता सामग्री भित्रिने गरेको छ । प्रहरी गस्तीले मात्र नियन्त्रण असम्भव भएका बेला स्थानीय युवाले सो क्षेत्रमा चौकीदारी गर्न थालेपछि भारतबाट मदिरा ओसार्ने भरिया आउन छाडेको स्थानीयवासी विनोद यादवले बताए ।

प्रायः मदिरा तस्करी रातको समयमा हुने गर्छ । तसर्थ रातको समयमा नियमित चौकीदारी गर्छन् । युवाहरू दिउँसो पनि बेला–बेलामा छड्के जाने गरेका छन् । प्रसिद्ध शक्तिपिठ छिन्नमस्ता भगवतीको मन्दिर भएको सखडामा अरु बेला आवतजावत बाक्लै हुन्थ्यो । विश्वव्यापीरूपमै कोरोना भाइरसको महामारी फैलिएपछि गाउँमा सङ्क्रमण नहोस् भन्न शक्तिपिठसमेत बन्द गरिएको छ ।

सीमानाका बन्द भएदेखि नै नेपाल–भारतबीच आउजाउमा रोक लगाइएको छ । आवतजावत रोक्न सुरक्षा पहरामा कडाइ गर्दै सशस्त्र प्रहरीले सप्तरीको ७८ किलोमिटरको दूरीमा ५४ वटा चौकी खडा गरी नियमित गस्ती गरिरहेको छ । भारतीय सीमामा रहेको छिन्नमस्ता गाउँपालिकाको वडा नं २ मा दुई, वडा नं ३ मा तीन र वडा नं ४ मा तीन क्याम्प रहेको छ । वडा नं ३ मा थप एउटा सुरक्षा बेसक्याम्पसमेत छ । दिउँसो सुरक्षा व्यवस्था कडा भएपछि मदिराको तस्करी रातको समयमा हुने गरेकाले युवाहरु पनि राति चौकीदारी गर्न थालेका हुन् ।

अहिले उहाँहरु दिउँसो पनि खटिरहनुभएको छ । एक साताअघि भारतले रेल सेवा सञ्चालन गरेपछि भारतको विभिन्न राज्यमा अड्किएका नेपाली ठूलो सङ्ख्यामा नेपाल भित्रिरहेका छन् । “भारतबाट फर्किएका नेपालीलाई सिधैँ घर जान दिँदैनौँ”, वडाध्यक्ष यादवले भने, “त्यस्ता व्यक्तिलाई १४ दिन क्वारेन्टिनमा राखेर परीक्षण गराएर मात्र घर पस्न दिने गरेका छौँ ।”

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  १२ : २६ बजे

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल