बालाजुको खेलाडी उत्पादन उद्योग | Khabarhub Khabarhub

बालाजुको खेलाडी उत्पादन उद्योग



काठमाडौँ– राजधानी काठमाडौँको बालाजु चोकबाट उत्तरतर्फ झण्डै तीन सय मिटर हिँडेपछि औद्योगिक क्षेत्र प्रवेश गर्ने मुख्य द्वारमा पुगिन्छ । त्यहाँबाट छिर्नेबित्तिकै अगाडि राखिएको छ ‘भाइरस डिसइन्फेक्सन टनेल’ ।

औद्योगिक क्षेत्र प्रवेश गर्ने र बाहिरिने मानिसहरू टनेलबाट पार हुनुपर्ने अनिवार्य प्रबन्ध छ । नोबेल कोरोना भाइरस (कोभिड–१९) को जोखिम कम गर्न औद्योगिक क्षेत्रमा डिसइन्फेक्सन टनेल राखिएको हो ।

त्यहाँबाट झण्डै सय मिटर हिँडेपछि आइपुग्छ बालाजु कराते डोजो । खबरहब टीम बालाजु कराते डोजोमा पुग्दा १५–१६ जना खेलाडी अभ्यासका लागि तयार थिए । करातेबाट नेपालको प्रतिनिधित्व गर्ने खेलाडीहरू जम्मा भएका थिए ।

कोरोना भाइरसको जोखिमले देश गत चैत ११ गतेदेखि लकडाउनमा छ । जोखिम बढ्दै गएपछि गत फागुन अन्तिम साता युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अर्को सूचना जारी नभएसम्मका लागि अभ्यास र प्रतियोगिता स्थगित गर्न निर्देशन जारी गरेका थिए ।

अहिले राखेप र खेलकुद मन्त्रालय अभ्यास सुरु गराउने तयारीमा छन् तर निर्णय भइसकेको छैन । लकडाउन सुरु भएदेखि अहिलेसम्म नेपाली खेलकुद ठप्प छ । बालाजु औद्योगिक क्षेत्रभित्र रहेको बालाजु डोजोमा भने निर्बाधरूपमा अभ्यास भइरहेको छ ।

डोजोका मुख्य प्रशिक्षक ध्रुवविक्रम मल्लको नेतृत्वमा खेलाडी अभ्यासमा जुटेका छन् ।

प्रशिक्षक मल्लका अनुसार लकडाउनपछि तीन हप्ता बालाजु औद्योगिक क्षेत्र बन्द रहँदा डोजोको अभ्यास पनि बन्द भयो । ‘लकडाउनको सुरुवाती ३ हप्ता हामीले अभ्यास बन्द गरेका थियौँ तर लकडाउन कहिलेसम्म हुन्छ भन्ने यकिन नभएपछि अभ्यास सुरु गरेका हौँ,’ मल्लले भने, ‘यो स्पिड गेम हो, केही हप्ता अभ्यास नगरी पनि खेलाडी बस्न सक्छन् तर महिनौँ घरमा बस्दा समस्या हुन्छ । त्यसैले हामीले सुरक्षितरूपमा अभ्यास सुरु गरेका हौँ ।’

बालाजु वरपर बसोबास गर्ने खेलाडीहरू अभ्यासमा नियमित आउने गरेका छन् । ‘मैले खेलाडीहरूलाई बाहिर हिँड्दा सामाजिक दूरी कायम गर्न, ह्यान्ड स्यानिटाइजर प्रयोग गर्न र मास्क लगाउन भनेको छु,,’ मुख्य प्रशिक्षक मल्लले भने, ‘हामीले डब्ल्युएचओ र नेपाल सरकारले भनेको सुरक्षा सामग्री प्रयोग गरेका छौँ ।’

लकडाउनले फेरिएको अभ्यास

तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता नवीन रसाइली बालाजु डोजोकै उत्पादन हुन् । उनले सेतो बेल्टदेखि नै बालाजु डोजोमा प्रशिक्षण लिएका हुन् । अहिले ब्ल्याक बेल्टधारी नवीन एसियन कराते फेडेरेसनले आयोजना गर्ने साउथ एसियन च्याम्पियनसिपका ह्याट्रिक स्वर्णधारी खेलाडीसमेत हुन् ।

साग स्वर्ण विजेता नवीन र अनु अधिकारी टोकियो ओलम्पिकको वाइल्ड कार्ड इन्ट्रीका लागि सिफारिस भएका खेलाडी हुन् ।

कोरोना भाइरसका कारण जोखिम बढ्दा अभ्यास रोकिए पनि अब फेरि पुरानै लयमा फर्किन धेरै समय नलाग्ने नवीन बताउँछन् । उनले भने, ‘लकडाउनपछिको अभ्यास राम्रो भइरहेको छ । अहिले पुरानो फर्ममा आइपुग्न थालेको छु ।’

लकडाउनकै बीचमा अभ्यास सुरु हुँदा आफू सुरक्षित ढङ्गले अभ्यासस्थल पुग्ने गरेको र सुरक्षा सामग्री प्रयोग गर्ने गरेको उनले बताए ।

नवीन अब ओलम्पिकमा छनोट भएर राम्रो नजिता दिने लक्ष्य रहेको बताउँछन् । उनले भने, ‘अबको लक्ष्य देशका लागि ओलम्पिकमा राम्रो नतिजा हात पार्नु हो ।’

लकडाउन अघि र पछिको अभ्यासमा केही फरक परेको एसियन च्याम्पियनसिपकी पदक विजेता डायना ओझाको अनुभव छ । ‘लकडाउनपछिको अभ्यास राम्रो भइरहेको छ । फर्ममा आइरहेकी छु,’ डायनाले भनिन्, ‘अहिलेको अभ्यास र पहिलेको अभ्यास केही फरक छ । गुरु (प्रशिक्षक) ले नयाँ तरिकाहरू सिकाइरहनु भएको छ । फाइटमा केही नयाँ आइडियाहरू प्रयोग भइरहेका छन् ।’

खेलाडी उत्पादन उद्योग

सितारियो कराते डोजोको नामबाट २०४८ सालमा स्थापना भएको यस क्लबका अधिकांंश खेलाडी राष्ट्रिय टोलीबाट खेलिरहेका छन् । क्लबले औद्योगिक क्षेत्रभित्रको हल २०५० सालमा लिएको थियो । त्यसपछि २०६२ सालमा संस्था दर्ता भएर अहिले एकेडमी समेत सञ्चालन भइरहेको छ ।

प्रशिक्षक मल्लसहितको टोलीले नेपालमा कराते खेलको विकासका लागि क्लब स्थापना गरेको हो । ‘नेपालमा कराते विकासका लागि हामीले क्लब स्थापना गरेका थियौँ,’ मल्लले भने, ‘हामीले जुन उद्देश्यले क्लब स्थापना गरेका थियौँ, त्यो लगभग पूरा भइसकेको छ ।’

औद्योगिक क्षेत्रभित्र रहेको यस क्लबलाई कराते खेलाडी उत्पादनको उद्योग भन्दा फरक नपर्ने मल्लको भनाइ छ । पछिल्लो ६ वर्षदेखि आफ्नो एकेडमीका खेलाडीहरूले नेपाली करातेमा स्थान बनाइरहेको मल्लको भनाइ छ ।

‘नेपालले करातेमा सन् २०१४ पछि जति उपाधि हात पारेको छ, ती अधिकांश खेलाडी यहाँकै उत्पादन हुन्,’ मल्लले भने, ‘यो पनि खेलाडी उत्पादन गर्ने उद्योग नै हो ।’

गत मंसिरमा सम्पन्न सागमा यही डोजोका खेलाडीले नेपालका लागि ९ पदक दिलाए, जसमा ३ स्वर्ण र ३ रजत र ३ कास्य थिए । स्वर्ण जित्ने खेलाडी नवीन रसाइली, अनुपमा मगर, सुनिता महर्जन र अनु अधिकारी हुन् ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  २ : ४० बजे

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्यसूची

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

भेडापालन प्रवर्द्धन गर्न गोठालो भत्ता

जुम्ला– जुम्लाका दुई सय ३० जना भेडापालक किसानलाई गोठालो भत्ता

हाउथीमाथि अमेरिकाको अर्को आक्रमण : ५३ जना मारिएको दाबी

यमन – विद्रोही समूह हाउथीले यमनको होडाइडाहमा अमेरिकाले आक्रमण गरेको

कर्णाली प्रदेश अस्पताललाई प्रतिष्ठान बनाउन सुझाव

कर्णाली– कर्णाली प्रदेश अस्पताल स्तरोन्नतिका सम्बन्धमा गठित डा. भगवान कोइराला

आर्सनलसँगको हारले अप्ठेरोमा चेल्सी

काठमाडौं – इङ्लिस प्रिमियर सीपको आइतबार राति भएको खेलमा आर्सनलले