रसुवागढी र साञ्जेन ‘जनताको जलविद्युत्’मा समावेश « Khabarhub

रसुवागढी र साञ्जेन ‘जनताको जलविद्युत्’मा समावेश


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चिलिमे जलविद्युत् आयोजनाले रसुवावासीको अनुहारमा ल्याएको खुशीले धेरैलाई जलविद्युत्को क्षेत्रमा लगानीका लागि आकर्षित गर्‍यो ।

जलविद्युत्मा लगानी गर्दा फाइदा हुन्छ भन्ने मानक स्थापित गर्न सफल सो कम्पनीको शेयर धितोपत्र बजार ओरालो लाग्दासमेत फाइदा दिने अवस्थामा नै रहेको छ । नेपाली लगानीमा आयोजना निर्माण गर्न सकिन्छ भन्ने आत्मविश्वास जगाउन सफल सोही कम्पनीले यतिखेर रसुवागढी, साञ्जेन, माथिल्लो साञ्जेन, मध्य भोटेकोशीजस्ता आयोजना निर्माण गरिरहेको छ ।

सरकारले आम नेपालीको मनमा स्थापित चिलिमे कम्पनीका सहायक कम्पनीले निर्माण गरिरहेका तीन आयोजनालाई समेत जनताको जलविद्युत् कार्यक्रममा समावेश गरेर उच्च प्राथमिकता दिएको छ । सोमबार मात्रै साधारण शेयर बिक्रीको तयारीमा रहेको रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडलाई जनताको जलविद्युत् कार्यक्रममा समावेश गरिएको छ । शेयर बजारमा मानक र नाफा दिने कम्पनीको रुपमा स्थापित सोही कम्पनीको सहायक कम्पनी सरकारको प्राथमिकताको क्षेत्रमा पर्नु आफैँमा खुशीको विषय भएको चिलिमे जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत माधव कोइरालाले बताए ।

“हामीले साधारण शेयर बिक्रीको तयारी गरेका थियौँ, नेपाल धितोपत्र बोर्डले स्वीकृतिसमेत दिएको अवस्था थियो तर सरकारले नै राष्ट्रिय कार्यक्रममा समावेश गरिदिँदा त्यसले पार्ने प्रभाव असाध्यै सकारात्मक नै हुन्छ”, उहाँले भने, “आम नेपाली नागरिकले समेत आयोजनामा अपनत्व महसुस गर्ने भएकाले पनि हामी बढी खुशी भएका छौँ ।”

पछिल्लो विवरणअनुसार रसुवागढीको भौतिक प्रगति ६७ प्रतिशत भइसकेको छ । यस्तै माथिल्लो साञ्जेन ७५ प्रतिशत र साञ्जेनमा ६० प्रतिशत बढी प्रगति भइसकेको छ । आगामी डेढ वर्षभित्र ती आयोजना सम्पन्न गरेर राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने तयारी गरिएको छ । आयोजनाको निर्माण कार्य उत्साहजनक रुपमा नै अगाडि बढिरहेको छ । प्रमुख कार्यकारी अधिकृत कोइरालाका अनुसार आयोजनाको कार्यप्रगति प्रभावकारी र सन्तोषप्रद रहेको छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सोमबार बसेको जनताको जलविद्युत् कार्यक्रम सञ्चालन समन्वय समितिको बैठकले ती आयोजनालाई जनताको जलविद्युत् कार्यक्रममा समावेश गरी शेयर बिक्री गर्ने निर्णय गरेको हो । बैठकले सो कार्यविधिमा आवश्यक संशोधन गरी शेयर बिक्री प्रक्रिया अगाडि बढाउने निर्णय गरेको मन्त्री वर्षमान पुनले जानकारी दिए । ती आयोजनाले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, कोषका कर्मचारी तथा नेपाल विद्युत् प्राधिकरणका कर्मचारी र चिलिमे जलविद्युत् कम्पनीका कर्मचारीलाई साधारण शेयर बिक्री गरिसकेको छ ।

कम्पनीले निकट भविष्यमा नै आम सर्वसाधारणलाई साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ । सो कार्यक्रम सञ्चालन समन्वय समितिका सदस्य सचिव एवं एचआइडिसीएलका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलले आयोजनाको गरिमा बढाउन र बढीभन्दा बढी लगानीकर्तालाई सहभागी गराउने लक्ष्यका साथ जनताको जलविद्युत् कार्यक्रममा ती आयोजना थप गरिएको बताए ।

नेपाल धितोपत्र बोर्डले रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीलाई यही चैत १० गते आम सर्वसाधारणलाई शेयर बिक्रीको स्वीकृति दिइसकेको छ । बोर्डले साञ्जेनलाई रु ५४ करोड ७५ लाख बराबरका ५४ लाख ७५ हजार कित्ता शेयर बिक्रीको अनुमति दिएको छ । यस्तै रसुवागढी जलविद्युत् कम्पनी लिमिटेडले रु एक अर्ब दुई करोड ६३ लाख १५ हजार बराबरका एक करोड दुई लाख ६३ हजार १५० कित्ता शेयर बिक्रीका लागि अनुमति दिएको छ । माथिल्लो साञ्जेनको क्षमता १४ दशमलव आठ मेगावाट रहेको छ भने साञ्जेनको क्षमता ४२ दशमलव पाँच मेगावाट छ ।

रसुवागढी र साञ्जेनको शेयर भने प्रतिकित्ता रु १०० कै दरमा खरीद गर्नुपर्नेछ । यसअघि माथिल्लो त्रिशूली थ्री बीमा भने प्रतिकित्ता रु १० मात्रै अग्रिम रुपमा लगानी गरे हुने व्यवस्था थियो । प्रमुख कार्यकारी अधिकृत कोइरालाका अनुसार साञ्जेन र रसुवागढीका साधारण शेयर भने प्रतिकित्ता रु १०० मा नै बिक्री हुने छन् ।

रसुवागढीको क्षमता १११ मेगावाट छ । ती आयोजनाको भौतिक प्रगति औसतमा करीब ७० प्रतिशतको हाराहारीमा रहेको छ । सरकारले गत फागुन २ गते जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत कूल १९ आयोजना छनोट गरी तीन हजार ५०० मेगावाट क्षमता बराबरका आयोजना निर्माणका लागि नागरिकबाट स्वपूँजीको ४९ प्रतिशत शेयर जुटाउने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार यही चैत ७ देखि ११ गतेसम्म माथिल्लो त्रिशूली थ्री बी जलविद्युत् आयोजनाका शेयर बिक्री भई बाँडफाँट भइसकेको छ । जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत लगाताररुपमा शेयर बिक्री गर्ने निर्णयअनुसार नै दोस्रो चरणमा साधारण शेयर बिक्रीको तयारीमा रहेका रसुवागढी र साञ्जेनलाई समावेश गरिएको हो । ती दुई आयोजना चिलिमे जलविद्युत् कम्पनीका सहायक कम्पनीले निर्माण गरिरहेका आयोजना हुन् ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  ४ : ०९ बजे

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट बराहक्षेत्रसम्म पानीमा सञ्चालन हुने बोट

कोरला नाका जोड्ने कोवाङ–जोमसोम सडक अलपत्र

मुस्ताङ– यहाँस्थित उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडकअन्तर्गत मुस्ताङको थासाङ

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

ढोरपाटन– नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पहिलोपटक केन्द्रीय प्रसारण लाइनले

अन्तरिम अवस्थामा राहदानी सेवा अवरुद्ध हुनसक्ने : परराष्ट्र

काठमाडौं– परराष्ट्र मन्त्रालयमातहतका राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी वितरण प्रणाली

मौसममा पश्चिमी प्रणालीको प्रभाव : केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ – हाल मुलुकमा पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायूमण्डलमा रहेको