कांग्रेस जिल्ला सभापतिको भेला : गुटले निम्त्याएको विवाद, देउवालाई एक्ल्याउने प्रयास « Khabarhub

कांग्रेस जिल्ला सभापतिको भेला : गुटले निम्त्याएको विवाद, देउवालाई एक्ल्याउने प्रयास



काठमाडौं–यतिबेला नेपाली कांग्रेस आन्तरिक विवादमा अल्झिएको छ । कांग्रेसमा नेतृत्व नै विभाजित भइरहेको बेलामा सभापति शेरबहादुर देउवा इत्तरका जिल्लासभापतिहरु छलफलमा जुटेका छन् । कांग्रेसका जिल्ला सभापतिहरुको बैठक आज(बुधबार)देखि काठमाडौंमा शुरु भएको छ ।

भेलामा केन्द्रीय सदस्यसमेत बुथबाटै निर्वाचित भएर आउनुपर्ने, समानुपातिक र समावेशी कोटाबाट बढिमा २ पटकसम्म मात्रै सांसद बन्न पाउने विषयमा छलफल हुने भेलाको अगुवाइसमेत गरिरहेका कांग्रेस काठमाडौंका जिल्ला सभापति सवुज वानियाले जानकारी दिए । सबै जिल्ला सभापतिहरुलाई बैठकका बोलाइएको भन्दै उनले भने,–‘सबै जिल्लाका सभापतिहरुलाई खबर गरिएको छ, कम्तिमा ५० भन्दा बढि जिल्लाका सभापतिहरु सहभागी हुने अपेक्षा छ ।’

महासमिति बैठकको हलमा उठेको विषय केन्द्रीय स्तरका नेताहरु पनि महाधिवेशन प्रतिनिधि बन्न बुथबाटै निर्वाचित भएर आउनुपर्ने विषय र समानुपातिक र समावेशी कोटाका विषयमा गम्भीर छलफल हुने उनले बताए ।

काठमाडौं कांग्रेसका सभापति वानियाले बैठकका पार्टीको विशेष महाधिवेशनका विषयमा पनि छलफल हुनसक्ने बताए ।

जिल्ला सभापतिहरुको भेलामा कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका सभापति भने सहभागी हुने छैनन् । भेलालाई केही व्यवस्थित पार्न केही दिनपछि सार्न गरिएको प्रस्ताव अस्वीकार भएकाले आफूहरु यो भेलामा सहभागी नहुने भक्तपुर जिल्ला कांग्रेस सभापति दुर्लभ थापाले बताए । उनले जिल्ला सभापतिहरुको भेलाले सभापति देउवालाई कमजोर बनाउने भन्दै पार्टीको हीतविपरित हुने भेलामा आफुहरु सहभागी नहुने स्पष्ट पारे ।

सभापति देउवा पक्षका मानिने मकवानपुरका जिल्ला सभापति ईन्द्रबहादुर बानियाँले समेत बुधबार हेटौँडामा पत्रकार सम्मेलन गरी अहिलेको भेला ‘बेमौसमको बाजा’ भएको बताएका छन् । उनले बारा र पर्सामा विपदमा परिरहेकाहरुलाई के गर्न सकिन्छ भनेर सोच्नुपर्ने बेलामा देशभरका सभापतिहरुलाई दुःख दिने काम गरेको भन्दै आलोचना गरे । उनले पार्टीका शीर्ष नेतृत्वलाई मर्यादित ढंगबाट आफ्नो असहमति केन्द्रीय कार्यसमितिमा राख्न र आगामी महाधिवेशनबाट आफ्ना मतलाई स्थापित गर्न सुझाव दिए ।

महासमिति र केन्द्रीय समिति कुन शक्तिशाली ?

गत असारमा केन्द्रकै पहलमा हेटौँडामासमेत जिल्ला सभापतिहरुको भेला सम्पन्न भएपछि संस्थापन इत्तरका सभापतिहरुको भेला नुवाकोटमा भयो । मंसिरमा भएको नुवाकोटको भेलाले स्थानीय तहका कांग्रेस नेताहरुले उठाएको आवाजलाई सम्बोधन गर्ने गरी महासमिति बैठकमा उठाउन निर्णय गर्‍यो ।

गत पुषमा सम्पन्न भएको कांग्रेस महासमिति बैठकमा केन्द्रीय स्तरका नेताहरुसमेत बुथबाटै निर्वाचित भएर आउनुपर्ने विषय जिल्ला सभापतिहरुले उठाएपछि तरंगित बनेको बैठकमा सहमति हुन नसकेपछि महासमितिकै बैठकमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले जिल्ला सभापतिहरुको मागअनुसारको विधान बनाउने भन्दै बैठक टुङ्ग्याएका थिए ।

तर त्यसपछि बसेको कांग्रेस केन्द्रीय समिति बैठकले जिल्ला सभापतिहरुसँग नेतृत्वले गरेको बाचाअनुसारको निर्णय गरेन । बरु केन्द्रीय सदस्यहरु सिधै महाधिवेशन प्रतिनिधि बन्ने व्यवस्थाहितको कांग्रेसको विधान पारित गर्‍यो । अघिल्लो महिना कांग्रेसका ५६ जना जिल्ला सभापतिहरुले सामुहिक रुपमै विज्ञप्ति निकालेर केन्द्रीय समितिले गरेको निर्णय सच्याउन माग गरेका थिए ।

उनीहरुले केन्द्रीय समितिको निर्णय नसच्याए विषेश महाधिवेशन बोलाउन पनि माग गरेका थिए । तर केन्द्रीय समितिले कुनै निर्णय नगरेपछि रुष्ट बनेका संस्थापन इतरका जिल्ला सभापतिहरुले आज (बुधबार) का लागि विषेश भेला बोलाएका हुन् । कांग्रेसको विधानअनुसार महासमिति बैठकले विषेश महाधिवेशनसम्मको निर्णय गर्नसक्ने अधिकार राख्छ । तर केन्द्रीय समितिले पार्टीका दैनिक कामकारबाही सञ्चालनलगायतका विषयमा निर्णय गर्ने अधिकार राख्छ ।

गुटले जन्माएको विवाद

देखिने विवाद महासमितिको निर्णय केन्द्रीय समितिले उल्ट्याएको विषय भएपनि अन्तर्यमा भने पार्टीको नेतृत्व तहमा देखिएको विवादले जिल्लासम्म प्रभाव पारेको आँकलन गर्न गार्‍हो छैन । विधान संसोधन मस्यौदा महासमिति बैठकले एकमतले पारित गर्न नसक्दा केन्द्रीय समितिमा पुगेको मस्यौदाका केही बुँदामा सभापति देउवा र वरिष्ठ नेता पौडेलकाबीच विवाद बढेपछि केन्द्रीय समितिमा लम्बेतान बैठक चलेको थियो ।

केन्द्रीय समिति बैठकमा समेत केन्द्रीय सदस्य बुथबाटै निर्वाचित भएर आउनुपर्ने वा नपर्ने र समानुपातिक, समावेशी कोटाबाट मनोनित हुने व्यवस्था निरन्तर कायम राख्ने वा समयसिमा तोक्ने भन्ने विषयमै विवाद चलेको थियो । तर अन्तिममा पौडेल र देउवाबीच सहमति भएपछि विधान सर्वसम्मत रुपमा पारित भएको थियो ।

देउवालाई एक्ल्याउने प्रयास

जिल्ला सभापतिहरुको भेलामा सभापति देउवा पक्षका सभापतिहरु मात्रै अनुपस्थित हुने देखिएको छ । पूर्वमहामन्त्रीसमेत रहेका कृष्णप्रसाद सिटौला समुह र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरु भेलामा उपस्थित हुनुले सभापति देउवालाई एक्ल्याउने प्रयास हुने देखिएको हो ।

यद्यपी सबै जिल्ला सभापतिहरुलाई भेलामा बोलाइएको काठमाडौंका जिल्ला सभापति वानियाले बताए । सबैलाई बोलाइएको भएपनि देउवा पक्षका सभापतिहरु बाहेक अन्य जिल्लाका सभापतिहरु भेला हुँदा देउवालाई समस्या हुनसक्ने देखिएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  १ : ३४ बजे

प्रिमियर लिग : एभर्टनलाई हराउँदै आर्सनल शीर्ष स्थानमा

काठमाडौं – इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनल

१० खेलाडीमा सीमित सेभिल्लामाथि रियलको जित : एम्बाप्पे र बेलिङ्घमले गरे गोल

काठमाडौं – ला लिगा अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा सेभिल्लामाथि

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा