भारी बोक्ने भरियाको यही हो जिन्दगानी… « Khabarhub

भारी बोक्ने भरियाको यही हो जिन्दगानी…



गत असार अन्तिमको एक साँझ, संघीय राजधानी काठमाडौंको डिल्लीबजार ओरालो सकिएपछि पुतलीसडक चोकको सडक पेटी ।

मुखमा मास्क लगाएर, कम्मरमा नाम्लो च्यापेर बसेका तीन कर्मयोगी मनुवाहरू कुमार, कृष्णबहादुर र दुर्गासँग ख्यालख्यालमै गफ चल्यो ।

कुमार कोइराला ४७ वर्षका भए । दोलखाको शैलुङ्गेश्वरबाट काठमाडौं आएर बसेको २० वर्ष भयो । हुन त उनी पहिलोपटक आठ वर्षकै उमेरमा काठमाडौं आएका हुन् । त्यतिबेला एउटा घरमा कामदार भएर तीन वर्ष बसे । त्यसपछि एउटा सानो होटलमा त्यस्तै तीन वर्षजति काम गरे ।

यसपछि गाउँघर फर्केका कुमार केही वर्ष उतै बसे । बिहे भयो । छोराछोरी हुन थाले । यो २० वर्षमा परिवारसहित काठमाडौं बसेकै १३ वर्ष भयो । ठूली छोरीको बिहे भइसक्यो । बाइस वर्ष उमेरको जेठो छोराले १२ कक्षाको पढाइ पूरा गरेको छ । जापानी भाषा सिकेर जपान जान तयार भएको छ । अहिले कार्पेट फिटिङको काम गरेर कुमारलाई घरखर्च सघाउँदैछ । कान्छो छोरो ११ कक्षामा पढ्दैछ ।

मैतीदेवीमा डेरा छ । पेशा हो भारी बोक्ने, अर्थात कुमार भरिया हुन् । लकडाउनअघि भारी बोकेरै महिनाको २५–३० हजार रुपैयाँ कमाउँथे । लकडाउनमा स्वाट्टै घट्यो । श्रीमती घरेलु कामबाट पाँच–सात हजार कमाउँछिन् । यस्तैले गर्जो टरेको छ ।

भारी बोकेरै काठमाडौंमा छोराछोरीको पढाइ भयो, अझै पढ्दैछन् । छोरीको बिहे भयो । बचाउन नसके पनि गर्जो टरेकै छ । छोरोले सघाउन थालेपछि कुमारदम्पतीलाई केही सजिलो भएको छ ।

आफूले भनेरमात्रै नहुने ! कोरोना भाइरस नामको रोग आयो । सरकारले सबैतिर बन्द गर्ने भयो । काम ठप्प भयो ।

भारी बोक्न पाउने आशै रहेन । असार लागेपछि थोरथोरै काम हुन थालेको छ तर अलिक बढी पैसा आउने भारी पाएको छैन ।

कुमार भन्छन्, ‘मान्छेले ढुक्क मनले किनमेल गर्न पाए पो भारीको काम आउँछ । खानेकुराबाहेक मानिसले केही किनेकै छैन ।’ मानिसले सामान नकिनेपछि भारी बोक्ने काम हुने भएन । उनका अनुसार अलिक राम्रो कमाइ हुने भनेको फर्निचर, दराजजस्ता अलिक ठूला सामान किन्दामात्रै हो ।

आजकाल खाद्यान्नको भारी बेलामौकामा फेला पर्छ, ग्यास सिलिण्डर पनि । त्यो पनि कति तलामाथि पुर्‍याउने हो, त्यसमा भर पर्छ । ज्याला त सामान हेरेर २० रुपैयाँबाट पनि सुरु हुन्छ ।

कुमार एक्लै छैनन् । कृष्णबहादुर कोइराला र दुर्गा कार्की छन् साथी । कृष्णबहादुर पनि ४७ वर्षका भए । शैलुङ्गेश्वरकै हुन्, कुमारका दाजुभाइ खलक ।

दुर्गा चाहिँ घ्याङसुका ठोकरका हुन् । कृष्णबहादुर डिल्लीबजार नजिकै धोवीधारामा बस्छन् । तीन छोराछोरीसहित पाँच जनाको परिवार छ । पहिली श्रीमतीको अचानक निधन भएर अर्को बिहे गर्नुपर्‍यो । एउटी छोरी १० र अर्की छोरी चार कक्षामा पढ्छन् । छोरो स्कूल पठाउने बेला भएको छ ।

दुर्गा ५२ वर्षका भए । डेरा कपनमा छ । कामका लागि डिल्लीबजार–पुतली सडकतिरै आउँछन् । दुई सन्तान छन्, एक छोरी र एक छोरो । छोरीको बिहे भइसक्यो । छोरो लकडाउनअघि कामका लागि साइप्रस गयो । भारी बोकेरै घरव्यवहार चलेको छ । छोराछोरीले अलिअलि पढे, आफैँ गरिखान सक्ने भए ।

यी तीनै जनाले पढेनन् । स्कूल नै गएनन् भने पनि हुन्छ । आफूले नपढे पनि छोराछोरीले सकेको जति पढून्, छोराछोरी सडकमा भरिया नबनून् । उनीहरूको साझा चाहना यही हो । यही चाहनाले उनीहरूलाई निर्धक्क भारी बोक्न प्रेरित गर्छ । शरीरमा बल र हातमा नाम्लो भए भइगयो, अरू केही चाहिएन ।

यति सजिलो भए पनि रहरले भरिया भएका होइनन् । पढिएन, पहाडमा भएको थोरै खेतीपातीले खानै पुग्दैन, कमाइको के कुरा गर्नु ! बरु शहरमा भारी बोकेरै व्यवहार चलेको छ, खनखाँचो टरेको छ । यो लकडाउनले अलिकति समस्या भएको हो नत्र के खाऊँ, के लाऊँ भएको छैन ।

कामको कुरामा कुमार, कृष्णबहादुर र दुर्गाको एकै स्वर छ ।

भरियाको कमाइ ज्यानमा बल हुन्जेल हो । अहिलेसम्म त आँट कम भएको छैन । सानोतिनो बिसञ्चोबाहेक ठूलो बिरामी परेर खर्च गर्नु परेको छैन । एकपटक सिसाले कुमारको खुट्टो काट्यो । झण्डै छ महिना काम गर्न सकेनन् । उपचारमा निकै खर्च भयो तर ठूलो रिन गर्नु परेन ।

भरिया नै सही, आफ्नै पसिनाको कमाइ खान पाइएको छ । कसैसँग हात पसार्नु परेको छैन । लकडाउनले कमाइ घटेको त छ र निमिट्यान्न भएको छैन । जेनतेन चलेकै छ । ठूलो रोग नलागेर काम गरेर खान पाए भयो । सकुन्जेल भारी बोकौँला । नसकेका दिन यति दुःख गरेर हुर्काएबढाएका छोराछोरीले हेर्लान् ।

भविष्यको आशा यिनै छोराछोरी त हुन् ।

लकडाउनमा त कामै भएन भने पनि हुन्छ । अलिक खुकुलो भएपछि अलिअलि काम आउन थाल्यो तर कमाइ नहुने, ससानो भारीमात्रै । आजकाल दिनभरिको धेरै समय डिल्लीबजार र बागबजार मुख, पुतली सडक चोक, को किनारामा बितेको छ ।

डिल्ली बजारपट्टि सडकको मुखैमा पेटीमा भेटिएका हुन् कोइराला बन्धु र उनीहरूका सहकर्मी दुर्गा कार्की । लकडाउन केही खुकुलो हुँदै गएपछि असार एक गते हिँड्दै गर्दा उनीहरूलाई देखेको थिएँ । हातमा नाम्लो बोकेका तीन जना र कहिलेकाही चार–पाँच जना भरिया साँझपख देख्ने गरेको हुँ ।

असार अन्तिमतिरको एक दिन मैले उनीहरूसँग सडक पेटीमै बसेर एकछिन गफ गरेँ । पानी पर्लाजस्तो भयो । कुराको चुरो फुर्न थालेपछि एउटा चिया पसलमा बस्न सल्लाह मिल्यो ।

‘यो सरकारलाई तपाईं के भन्नु हुन्छ त कुमारजी ?’

‘के भन्नु र सर ! नेता आफैँ लडाइँ गरेका छन्, गरिबलाई सधैँ उस्तै हो । काम नगरी खान पाइने होइन, कसैले मुखमा माड लगाइदिने होइन ।’

‘काम नगरी खान पाए हुन्थ्यो भन्ने ठान्नु भएको हो र ?’

‘तेस्तो किन हुन्थ्यो, मस्त काम पाइयोस्, आफ्नै पसिनाको कमाइ खान पाइयोस् पो भनेको त, लकडाउनले गर्दा खाली बस्नु परो !’

‘राहत बाँडेको थियो नि त सरकारले, पाउनु भएन र ?’

‘सुनेको त हो, कतै खोज्न पनि गइएन, लिन आइज पनि कसैले भनेन, खानकै लागि राहत चाहिएन पनि, बरु कामै भए राम्रो ।’

‘कुमारजी एउटा कुरा सोधू ?’

सोध्नु न, के छ र जिन्दगीमा !’

‘दारुपानी चल्छ कि चल्दैन ?’

‘दारु त स्वाद पनि था छैन, दारु खान थालो भने त केही पनि पुग्दैन ।’

‘अनि कृष्णबहादुरजी नि !’

‘म र कुमार दुरुस्तै मिल्छौँ सर ।’

‘आहा ! कस्तो राम्रो !’

‘हो सर, रक्सी कहिल्यै खाइएन र त यति हट्टाकट्टा छौँ नि !’

कुमारको कुरामा कृष्णबहादुरले र कृष्णबहादुरको कुरामा कुमारले सही थापिरहे । दुर्गा चाहिँ खोइ कता लागेछन्, आएनन् ।

‘ल, कृष्णबहादुरजी ! तपाईं अरू केही भन्नु न त !’

‘के भन्नु र सर, कुरा यही हो, भरियाको जिन्दगी यस्तै हो, आफ्नै कमाइ खान पाए भयो ।’

झमक्कै साँझ पर्‍यो । डिल्लीबजारको उकालो हिँड्दै गर्दा तीन जना भरियासँगको भलाकुसारीले एउटा आनन्दानुभूति दियो । ठिक त्यही बेला सम्झेँ जनवादी गायक जीवन शर्माको स्वर : झरनाको चिसो पानी, भारी बोक्ने भरियाको यही हो जिन्दगानी !

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  १ : १८ बजे

दोषीमाथि कानुनी कारबाहीको माग गर्दै वीरगञ्जमा स्वास्थ्यकर्मीको प्रदर्शन

वीरगञ्ज- नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको आक्रमणको विरोधमा स्वास्थ्यकर्मीहरूले आइतबार वीरगञ्जको

अभियोजनलाई प्रविधिमैत्री बनाउन महान्यायाधिवक्ताको पाँच वर्षीय रणनीति

काठमाडौं– महान्यायाधिवक्ता कार्यालयले अभियोजनलाई प्रविधिमैत्री बनाउने परिलक्ष्यका साथ चौथो पञ्चवर्षीय

नारायणी अस्पताल घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको जानकारी

काठमाडौं– नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणमा गम्भीर घाइते भएका मेडिकल

देवानगञ्ज घटना : कोशीका डीआईजी, सुनसरीका सीडीओ र एसपीलाई फिर्ता बोलाइयो

काठमाडौं- गयराति सुनसरीमा भएको हिंसात्मक घटनापछि त्यहाँका प्रमुख जिल्ला अधिकारी

फार्मेसी दर्ता तथा नवीकरणमा स्थानीय तहको सिफारिस अनिवार्य

काठमाडौंं– औषधि व्यवस्था विभागले नयाँ फार्मेसी दर्ता तथा सञ्चालनमा रहेका