सुकबहादुरको भैँसीगोठ गाथा | Khabarhub Khabarhub

सुकबहादुरको भैँसीगोठ गाथा



कावासोती – पैँतालीस वर्षीय सुकबहादुर गुरुङ बिहान ६ नबज्दै कावासोती पुग्छन् । उनी ६० वटाभन्दा बढी भैँसी दुहुने काम सकेपछि दूध बोकेर कावासोती पुग्ने गर्छन् । बेलुका पनि यसरी नै मोटरसाइकलमा एक सय लिटरभन्दा बढी दूध बोकेर आफैँ डेरीसम्म पुग्छन् ।

नवलपरासी पूर्वको कावासोती नगरपालिका–१२, पिठौलीमा चार वर्षअघि व्यावसायिकरूपमा पशुपालन सुरू गरेका सुकबहादुर आफ्नो व्यवसायमा खुसी देखिन्छन् । गोठमा कामदारहरूसँगै काममा खट्छन् । दुध पुर्‍याएर फर्किएपछि गोठकै काममा तल्लीन हुन्छन् ।

तीन वटा भैँसीबाट साठी वटा

तीन वटा भैँसीबाट पशुपालन सुरु गरेका सुकबहादुरको गोठमा अहिले ६० वटा माउ भैँसी छन् । साना पाडापाडीसमेत गोठमा सय बढी बस्तुभाउ छन् । ‘तीन वटा भैँसी ल्याएर सुरु गरेको थिएँ’, उनले हाँस्दै भने, ‘तीन वटा भैँसीले अहिले ६० वटा जन्मायो ।’

चार वर्षअघि तीन वटा भैँसीबाट सुरु गरेको पशुपालन व्यवसायबाट उनले गोठ भरेका हुन् । गोठमा भैँसीको स्याहार–सुसारमा कुनै कमी छैन ।

अनुदानले ऋणको बोझ !

सुकबहादुरले गत वर्ष गण्डकी प्रदेश सरकारबाट १० लाख रुपैयाँ अनुदान पाए । अनुदान पाएर किसानहरू खुशी हुन्छन् तर सुकबहादुर उल्टै ऋण थपियो ।

गण्डकी प्रदेश सरकारले ‘मोडेल फर्म’ अवधारणामा अनुदानका लागि आवेदन मागेको थियो । सुकबहादुर आवेदन भरे । उनले अनुदान पाए । पचास प्रतिशत अनुदान पाउने गरी २६ लाख रुपैयाँको परियोजना प्रस्ताव पेश गरेकोमा १३ लाख अनुदान पाउनुपर्ने थियो । उनले हातमा १० लाख पाए ।

सुकबहादुरको पशु फर्म जिल्लामै नमुना छ । प्रदेश सरकारको नियमअनुसार २६ लाख बराबरको अर्को मोडल फर्म बनाउनुपर्ने भयो । दुई सयभन्दा बढी भैँसी बाँध्न मिल्ने उनको फर्ममा अर्को संरचना आवश्यक थिएन तर २६ लाखको बराबरको संरचना बनाउनै पर्ने भयो । यसरी अनुदानले ऋणको बोझ थपियो ।

लगानी बढी, उत्पादन कम

२०७३ सालमा करिब १२ लाख रुपैयाँ लागतमा पशुपालन सुरु गरेका सुकबहादुर आर्थिक उपार्जनबाट भने उति सन्तुष्ट देखिँदैनन् । अहिले सामान्यतया १० लिटर दूध दिने भैँसीलाई साढे एक लाख रुपैयाँभन्दा बढी पर्छ । उनका अनुसार भैँसीले ६ महिनाभन्दा बढी दूध दिँदैन ।

भैंसीबाट दूध उत्पादन कम हुने भएकाले पनि व्यवसाय सन्तोषजनक हुन नसकेको सुकबहादुरको भनाइ छ । उनी भन्छन् ‘मुलुकको समृद्धिको आधार कृषि नै हो । सरकारले कृषि क्षेत्रलाई विशेष जोड दिने भने पनि कार्यान्वय पक्ष फितलो छ । राज्यले उत्पादनका आधारमा अनुदान दिनुपर्छ ।’

बैंकले किसानको फाइल नै बुझ्दैन

सरकारले किसानलाई कृषि पेशाप्रति आकर्षित गर्ने उद्देश्यले सहुलियत कर्जा दिने भनेको छ । सुकबहादुरजस्ता धेरै किसानले बुझाएको फाइल बैंकले भने बुझ्नै मान्दैन ।

सरकारले किसानका लागि वाणिज्य बैंकबाट ३ प्रतिशत ब्याजमा कर्जा प्रवाह गर्ने भनेको छ । सुकबहादुरले सहुलियत कर्जा लिन खोज्दा बैंकले फाइल नै बुझ्न मानेन ।

‘हामी यहाँका धेरै किसान मिलेर वाणिज्य बैंकका हाकिमसँग छलफल गर्‍यौँ तर हाम्रो कुरा सुनुवाइ भएन,’ उनले भने, ‘बैंकबाट सहुलियत कर्जा नपाएपछि नगरपालिकासँग पनि गुनासो गर्‍यौं, नगरपालिकाले हामीलाई राखेरै छलफल गरायो तर बैंकको हाकिमले टेरेनन् ।’

सरकारी सुविधाको कर्जा नपाए पनि निजीक्षेत्रको बैंकबाट ७ प्रतिशत ब्याजमा कृषि ऋण लिएको सुकबहादुरको भनाइ छ ।

दानाको भाउ बढ्छ, दूधको बढ्दैन

किसानले उत्पादन गरेको दूधको मूल्यको हिसाब गर्दा सबैलाई आनन्द आउँछ तर दानापानी र खर्चको हिसाब कसैले गर्दैन भन्छन् सुकबहादुर । दिनदिनै दाना र चापडको भाउ बढे पनि दूधको भाउ बढ्दैन ।

कोरोना संक्रमणका कारण लकडाउन भएपछि त पशुआहारको मूल्य अकासिएको तर यसबारे राज्यका निकाय मौन रहेको उनको गुनासो छ । हिजोआज उनको गोठमा दैनिक १८० लिटर दूध उत्पादन भइरहेको छ ।

प्रतिलिटर ८० रुपैयाँमा दूध विक्री गर्दा मासिक ४ लाख ३२ हजार आम्दानी हुन्छ । सहकारीमा दिँदा योभन्दा कम प्राप्त हुने उनले बताए । मासिक ३ लाख रुपैयाँभन्दा बढी खर्च हुने गरेको उनको भनाइ छ ।

परिवारमा खुशी

सुकबहादुरको परिवारमा वृद्ध आमाबुबा, सुकबहादुरको दम्पति र एक छोरा छन् । परिवारमा पशुपालनबाट राम्रै खुशी मिलेको छ । छोरा नेपाली सेनाको सेकेण्ड लेफ्टिनेन्ट छन् ।

व्यवसायको नाम ‘मिलिजुली भैँसी फर्म’ हो । गाउँसमाज र पशुपालन व्यवसायीहरूसँग राम्रो मिल्ती छ । मनग्गे आम्दानी नभए पनि परिवारमा खुसी छ ।

कोरोना भाइरस संक्रमणका कारण विदेशबाट फर्किएका युवाहरूको आकर्षण कृषितिर देखिएको छ । पशुपालन गर्ने सोचले सल्लाह लिन आउनेको संख्या बढेको छ ।

सुकबहादुरले आफ्नो अनुभव सुनाउने गरेका छन् । कृषि तथा पशुपालनबारे राम्रो अध्ययन नगरी हामफाल्न खोज्नेहरू धेरै रहेको उनको बुझाइ छ ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ८ : ५५ बजे

रास्वपा सांसद सदनबाट बाहिरिएपछि प्रकाशशरणले भने- लगातार उभिन गाह्रै हुन्छ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू संसद् बैठकबाट बाहिरिएका छन्

सुदूरपश्चिम प्रदेश सरकारद्वारा ४२ प्रतिशत बजेट खर्च

अत्तरिया– सुदूरपश्चिम प्रदेश सरकारले कूल विनियोजित बजेटको ४२ दशमलव २७

नारायणघाट-बुटवल सडकखण्ड राति १० घण्टा बन्द हुने

नवलपुर– पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल सडकखण्ड आजदेखि रातिमा १० घण्टा

रास्वपाले गर्‍यो स्व पत्रकार रजकको परिवारलाई आर्थिक सहयोग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीनकुने घटनामा निधन भएका पत्रकार

संसद्‍मा रास्वपाको अवरोधबीच मन्त्रालयअन्तर्गत विनियोजन बजेटमाथि छलफल

 काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अवरोधका बीच प्रतिनिधिसभाको