प्रधानमन्त्री ओलीलाई देउवाको प्रश्न: सरकार जवाफदेही हुनु पर्छ कि पर्दैन ?’ | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीलाई देउवाको प्रश्न: सरकार जवाफदेही हुनु पर्छ कि पर्दैन ?’


१ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति तथा प्रतिनिधिसभामा विपक्षी दलका नेता शेरबहादुर देउवाले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटे ।

देउवाले प्रधानमन्त्री ओलीलाई बाक्लै भेट्ने गरेको र भेटमा हुने कुराबारे पार्टीमा कहिल्यै केही जानकारी नदिएको भनेर कतिपय कांग्रेस नेताहरूले असन्तुष्टि प्रकट गर्ने गरेका छन् ।

लोकतान्त्रिक प्रणालीमा प्रधानमन्त्री र विपक्षी दलका नेताको भेट सामान्य मानिने भए पनि सत्तारुढ दल नेकपाभित्र चर्केको विवादको पृष्ठभूमिमा उक्त भेटलाई नेकपा र कांग्रेसका कतिपय नेताले सम्भावित सत्ता साझेदारीसँग जोड्ने गरेका छन् ।

दुई नेताबीच भेटमा भएको कुरा पारदर्शी नहुँदा यस्तो शंका उत्पन्न हुने गरेको छ । नेकपाको आन्तरिक विवाद मत्थर हुने संकेत देखापरेकै समयमा प्रधामनमन्त्री र विपक्षी दलका नेताको भेट भएको छ ।

आइतबार भएको भेट भने केही पृथक देखिएको छ । भेटलगत्तै कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरेर कुराकानीका विषय सार्वजनिक गरेका छन् ।

विज्ञप्तिमा उल्लेख भएअनुसार विपक्षी नेता देउवाले मुख्य तीन विषयमा प्रधानमन्त्री ओलीको गम्भीरतापूर्वक ध्यानाकर्षण गराए ।

पहिलो, सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका, लिदीमा गएको पहिरो र जनधनको क्षतिको विषय छ । दोस्रो विषय छ, कोरोना संक्रमण र तेस्रो विषय छ, त्रिभुवन विश्वविद्यालयका विवाद र विसङ्गति ।

लिदीको पहिरोका विषयमा देउवाले प्रधानमन्त्रीसँग जवाफदेहिता मागेका छन् । गाउँबासीले दश दिनअघि गुहार गर्दा पनि तिनलाई सुरक्षित ठाउँमा सार्न ध्यान नपु¥याएको देउवाको आरोप छ । उनले उक्त विषयमा सरकारले गम्भीर गल्ती गरेको निष्कर्ष सुनाउँदै घटनालाई दुःखद भनेका छन् ।

देउवाले प्रधानमन्त्रीलाई प्रश्न गरेका छन्, ‘यति गम्भीर गल्तीको जवाफदेहिता सरकारले लिनु पर्छ कि पर्दैन ?’

लिदीमा शुक्रबार गएको पहिरोले एउटा टोल नै बगाउँदा ३८ जना बेपत्ता भएकामा केहीको शव फेला परेको छ ।

त्यहाँका बासिन्दाले पहिरोको जोखिम रहेको भन्दै स्थानान्तरणका लागि गाउँपालिकामा निवेदन दिएका थिए । भूकम्प पुनर्निर्माण प्राधिकरणले उक्त गाउँलाई पहिरोको जोखिमयुक्त गाउँको सूचीमा राखेको थियो ।

कोरोना भाइरसका सन्दर्भमा देउवाले संक्रमणको बढ्दो चुनौती सामना गर्नसक्ने ढङ्गले काम गर्न सरकार समर्थ नदेखिको आरोप लगाएका छन् । कमजोरीको समीक्षा गरेर नयाँ रणनीति निर्माण गर्न र कामको गति बढाउन सरकार गम्भीर नभएको पनि उनको आरोप छ ।

देउवाले प्रधानमन्त्रीलाई सोधेका छन्, ‘सरकार किन गम्भीर छैन ? आइसोलेसन र भेन्टिलेटर पर्याप्त व्यवस्था गर्न किन ढिलाइ ?’

त्रिभुवन विश्वविद्यालयमा प्रजातान्त्रिक प्राध्यापक संघका सभापति लगायतलाई मुद्दा लगाएको, जायज माग नसुनेको र विद्यार्थीलाई थुनामा राखेको देउवाको आरोप छ । उनले पोखरा विश्वविद्यालयमा अनशन बसेका विद्यार्थीसँग संवाद नगरेर सरकारले बलमिच्याइँ गरेको आरोप पनि लगाएका छन् ।

देउवाले अविलम्ब संवादबाट समाधानमा पुग्न र विश्वविद्यालयका विवाद र विसङ्गति उपर कुलपतिका हैसियतले ध्यान पुर्‍याउन प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।

यी विषयहरूमा प्रधानमन्त्रीले के प्रतिक्रिया दिए भन्ने चाहिँ कांग्रेसले खुलाएको छैन ।

भेटमा संवैधानिक नियुक्तिबारे प्रधानमन्त्रीले विपक्षी दलका नेता देउवासँग परामर्श गरेको पनि कांग्रेसले जनाएको छ । यसपटक देउवाले केन्द्रीय सदस्य रमेश लेखकलाई पनि साथमा लगेका थिए ।

विपक्षी दलका नेतासँग भएको भेटवार्ताबारे प्रधानमन्त्रीको सचिवालयले भने औपचारिक जानकारी गराएको छैन ।

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार  ३ : ३८ बजे

कारागारबाट जेनजीलाई रविको सुझाव: घुसपैठ हुनसक्छ सचेत हुनुहोस्

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नख्खु

दक्षिण अफ्रिकामाथि इंग्ल्याण्डको कीर्तिमानी जित

काठमाडौं – आइतबार सम्पन्न तेस्रो एकदिवसीयमा इंग्ल्याण्डले दक्षिण अफ्रिकामाथि एकदिवसीय

सामाजिक सञ्जालसम्बन्धी सरकारको निर्णयविरुद्ध रिट दर्ता गर्न अस्वीकार

काठमाडौं – सर्वोच्च अदालतले सामाजिक सञ्जालसम्बन्धी सरकारले गरेको निर्णयविरुद्ध परेको

प्रचण्डको पोस्टमा बालेनको कमेन्ट: एकादेशमा टिकटक पनि ‘ब्याण्ड’ भएको थियो

काठमाडौं – सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयबारे पूर्वप्रधानमन्त्री एवं

जेनजी आन्दोलनलाई पूर्ण समर्थन छ : सुमना श्रेष्ठ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा सांसद सुमना