पाल्पा – कोरोना भाइरस संक्रमण भए नभएको परीक्षणलाई सहज बनाउन पाल्पामा पीसीआर मेसिन जडानका लागि एक करोड रकम निकासा भएको छ ।
जिल्ला अस्पताल पाल्पाले मेसिन खरिद गर्न सक्ने गरी नेपाल सरकारले आवश्यक रकम अस्पतालका नाममा निकासा गरेको छ ।
कोरोना संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै परीक्षणको दायरा फराकिलो बनाउन जिल्लामा मेसिन जडानका लागि रकम निकासा भएको हो ।
कोरोना संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष सञ्चालक समितिको यही भदौ २ गते बसेको १०औँ बैठकबाट एक करोड रूपैयाँ निकासा भएको छ ।
जिल्लामै कोरोना भाइरस सङ्क्रमणको पीसीआर परीक्षण गर्ने विधि नहुँदा समस्या परेपछि सरकारसँग माग गरेर मेसिन खरिदका लागि रकम निकासा भएको पाल्पा क्षेत्र नं २ का सांसद् सोमप्रसाद पाण्डेले बताए । सो मेसिन जडानका लागि कोष तथा लेखा नियन्त्रण कार्यालयको खातामा रकम आइसकेको सांसद् पाण्डेले जानकारी दिए ।
मेसिन जडानको प्रक्रिया पूरा गरेर छिट्टै पीसीआर परीक्षणको सेवा दिइने पाल्पा अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डेले बताए । उनका अनुसार जिल्ला समन्वय समिति पाल्पाको काजीपौवामा रहेको भवनमा पीसीआर मेसिन राख्नका लागि भौतिक पूर्वाधार तयार गरिएको छ ।
जिल्लामा पीसीआर परीक्षण गर्ने विधि नहुँदा प्रादेशिक प्रयोगशाला भैरहवामा स्वाब सङ्कलन गरी पठाउने गरिएको छ । स्वाव सङ्कलन गरेर पठाए पनि समयमा नै रिपोर्ट नआउँदा लामो समयसम्म नतिजाको पर्खाइमा बस्नुपर्ने बाध्यता थियो ।
पीसीआर मेसिन सञ्चालनमा आए पाल्पासँगै गुल्मी, अर्घाखाँचीलगायत जिल्लाको स्वाब परीक्षणमा सहज हुनेछ ।
प्रतिक्रिया