६ महिनापछि सार्वजनिक सवारीसाधन सडकमा | Khabarhub Khabarhub

६ महिनापछि सार्वजनिक सवारीसाधन सडकमा

दशैँका लागि अनलाइन बुकिङ हुने



काठमाडौँ- सरकारको निर्णयअनुसार आज असोज १ गतेबाट सबै किसिमका सार्वजनिक यातायातका साधन सञ्चालन हुन थालेका छन् ।

सर्वाजनिक सवारीसाधन ६ महिनापछि चल्न लागेका हुन् । यतिबेला सर्वसाधरणको चासो दशैँका लागि लामो दूरीको टिकट कहिले खुल्छ र भाडा कति लाग्छ !

काठमाडौँ उपत्यकामा बस्ने आधाभन्दा बढी जनसंख्या दशैँमा बाहिरिन्छ । विगतका वर्षहरूमा दशैँ आउन करिब एक महिनाअघिदेखि नै टिकटको चासो हुन्थ्यो । यस वर्ष कोरोना भाइरस संक्रमणले निम्त्याएको विषम परिस्थितिका कारण ६ महिनादेखि ठप्प सार्वजनिक सवारीसाधन आजबाट खुलेका छन् ।

यसै पनि दशैँमा गाडी भाडा बढ्ने गरेको थियो । अरू समयमा भाडामा केही छुट दिने गरे पनि दशैँका यस्तो सुविधा हुँदैन थियो । यस वर्ष त सरकारले ५० प्रतिशत बढी भाडा लिन अनुमति नै दिएको छ । आफ्नो स्वास्थ्य सुरक्षाबापत यात्रुले ५० प्रतिशत बढी मूल्य चुकाउनु पर्नेछ । व्यवसायीले कुल सिट क्षमताको आधामात्रै यात्रु बोक्नुपर्नेछ ।

असोज १ गते, विश्वकर्मा पूजा परेको छ । यातायात व्यवसायीका लागि विश्वकर्मा पूजाको ठूलो महत्व छ । व्यवसायीहरू पूजा सकेर गाडी सडकमा निकाल्दैछन् । नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका अनुसार यातायात सञ्चालनका लागि चालक र सहचालकको पीसीआर परीक्षण समेत गरेर लामो दूरीका यातायात चलाउने तयारी छ । पिसिआर परीक्षण र गाडीको अवस्था चेकजाँच लगायतका कारण लामो दूरीमा यातायात पूरा चल्न अझै एक सातासम्म लाग्न सक्छ ।

‘देशको अर्थतन्त्र धराशायी भइरहेको अवस्थामा मुलुककै रक्तसञ्चारको रूपमा रहेको सार्वजनिक यातायात सञ्चालन हुने कुराले हामी अत्यन्तै खुसी छौँ,’ महासंघका महासचिव सरोज सिटौलाले खबरहबसँग भने, ‘कोभिड-१९ को संक्रमणलाई ध्यानमा राखेर सरकारले निर्धारण गरेको स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरेर सवारी सञ्चालन गरिनेछ ।’

यस्तो छ तयारी

सिटौलाका अनुसार चालक, सहचालक, परिचालक र बुकिङ कर्मचारीले मास्क, स्यानिटाइजर, पञ्जा, फेसभाइजर (चालकबाहेक) लगातका स्वास्थ्य उपकरणहरू अनिवार्य प्रयोग गर्नुपर्नेछ ।

यात्रुहरूले यात्रा अवधिभर मास्क लगाउन अनिवार्य गरिएको छ । सवारीसाधन चढ्दा र ओर्लिंदा लामो, मध्यम र छोटो दूरीमा खाजा र खाना खाने समयमा भीडभाड गर्नु हुँदैन, भौतिक दूरी कायम गर्नुपर्ने हुन्छ । यात्रुले आफ्नो साथमा स्यानिटाइजर राख्नुपर्नेछ ।

तयारीमा जुटेका छौँ : विभाग

सरकारले लामो दूरीका सवारीसाधन सञ्चालन गर्ने निर्णय गर पनि हालसम्म यससम्बन्धी कुनै निर्देशिका जारी गरेको छैन । निर्देशिका नहुँदा व्यवसायी तथा यातायात मजदुरहरूमा भने अन्योल देखिएको छ । यातायात व्यवस्था विभागले काठमाडौँबाट बाहिरिने लामो दूरीका गाडीका हकमा निर्देशिका तयार पारिरहेको जनाएको छ ।

भीडभाड हुन दिदैनौँ : ट्राफिक महाशाखा

लामो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन हुने भएपछि यातायात व्यवस्था विभाग, ट्राफिक महाशाखा लगायतको अनुगमन कमिटी बनाउने तयारी भएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।

लामो समयपछि लामो दूरीका सवारी सञ्चालनमा आउनु र दशैँ नजिकिँदै जानुले टिकट काउन्टर, बसपार्क लगायतका स्थानमा भीड कम गराउन आवश्यकताअनुसार ट्राफिक प्रहरी र सुरक्षाकर्मी परिचालन गर्ने तयारी भएको महाशाखाका एसएसपी भीम ढकालले जानकारी दिए ।

‘सामाजिक दूरी र गाडीभित्र भौतिक दूरी अनिवार्य हुनुपर्छ, गाडीको ५० प्रतिशत सीटमा मात्र यात्रु हुनुपर्छ’ उनले खबरहबसँग भने, ‘५० प्रतिशतभन्दा बढी भाडा लिन पाइँदैन, गाडी दैनिक डिसइन्फेक्सन गर्नुपर्छ र सवारी चालक र सहचालकले सुरक्षाका सबै मापदण्ड पालना गर्नुपर्छ ।’

उनका अनुसार ४५ वटै ट्राफिक युनिटहरूले मापदण्ड पालना भए नभएको अनुगमन गर्नेछन् । पालना नभए तुरुन्त कानुनी कारबाही हुनेछ ।

दशैँका लागि अनलाइन बुकिङ

नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले लामो दूरीमा गाडी चलाउने सबै यातायात व्यवसायीलाई दशैँका लागि अनिवार्य अनलाइनबाट टिकट बुकिङको व्यवस्था गर्न निर्देशन दिएको जनाएको छ ।

सामान्य अवस्थामा राजधानी काठमाडौँका नयाँ बसपार्क, चावहिल, गौशला, कोटेश्वर, कलंकी लगायतका स्थानमा टिकटका लागि लाइन बस्नेहरूको भीड हुने गथ्र्यो ।

यस वर्ष कोभिड-१९ का कारण भिडभाड हुन नदिन महासंघले काठमाडौँबाट बाहिरिने यात्रुलाई अनलाइन टिकट बुकिङका लागि मोडालिटी तयार पार्न व्यवसायीहरूलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार  २ : ०० बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको