बाढीको कहर झेल्दै ढोरपाटनवासी | Khabarhub Khabarhub

बाढीको कहर झेल्दै ढोरपाटनवासी


२ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- ढोरपाटनका बाढी प्रभावितको दैनिकी कष्टकर बनेको छ । बाढीमा घरबास गुमाएका मानिसहरु टहरा, गोठ र विद्यालयमा आश्रित छन् । हातमुख जोड्न राहतको भर पर्नुपर्ने स्थिति छ ।

विद्युत् र सञ्चार सेवा बिच्छेद छ । थातथलोबाट उठिबास भएकाहरु अन्धकारमा रात गुजार्न विवश छन् । सामुदायिक स्वास्थ्य एकाए नै बाढीले बगाएपछि सामान्य औषधोपचारको समेत अभाव छ । बाढीले क्षत्विक्षत् पारेको सडक जेनतेन खुलाउने प्रयास भइरहेको छ ।

सडकलगायतका भौतिक संरचनामा क्षति पुगेपछि स्थानीयवासी आधारभूत सेवाबाटै बञ्चित हुनुपरेको हो । “दुई सातादेखि बिजुली छैन, मोबाइल पनि चल्दैन”, स्थानीयवासी विक्रम विकले भने, “आफ्नै गाउँ पनि अनाकन्टार जस्तो लाग्न थालेको छ ।” गत भदौ १७ गते भूजीखोलामा बाढी आउँदा मुस्किलले जोगिएका विकले त्यो बेला माइतीगाउँ निसीमा रहेका श्रीमती र छोरासँगसमेत सम्पर्क हुन नसकेको उनले बताए ।

सञ्चार सेवा अवरुद्ध हुँदा बाढीपछिको राहत र व्यवस्थापकीय काममा सम्बन्धित पक्षबीच जानकारी लिनदिन र समन्वयमा कठिनाइ भइरहेको छ । बाढी प्रभावित र सहायताकर्मीबीच पनि सम्पर्क स्थापित हुन सक्ने स्थिति छैन ।

ढोरपाटन नगरपालिका–८ का वडाध्यक्ष नन्दे सुनारले ७ देखि ९ वडासम्म विद्युत् अवरुद्ध भएको बताउनुभयो । वडा नं ९ मा मात्र तीनवटा लघुजलविद्युत् आयोजनामा क्षति पुगेको छ । यस्तै वडा नं. ८ स्थित ८४ किलोवाट क्षमताको भूजीखोला पाँचौ लघुजविद्युत् आयोजना क्षतिग्रस्त बनेको छ ।

ढोरपाटन नगरपालिकाका अनुसार बाढीले वडा नं. १ देखि ९ सम्मका ११ वटा लघुजलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ । कुनै आयोजना पूर्णरुपमा र कुनै आंशिक मर्मत, सुधार गर्नुपर्ने स्थितिमा छन् । “मर्मत गरेर चल्ने छिट्टै सञ्चालनमा आउँछन्, पूर्ण क्षति भएका आयोजना बनाउन समय लाग्छ”, नगरप्रमुख देवकुमार नेपालीले भने ।

लघुजलविद्युत् आयोजना बन्द भएसँगै मोबाइल टावरमा विद्युत् आपूर्ति रोकिँदा सञ्चार सेवा अबरुद्ध भएको हो । केन्द्रीय विद्युतीकरण नभएका कारण त्यस क्षेत्रका जनसाधारण लघुजलविद्युत्का भरमा छन् ।

लामो समय विद्युत् अबरुद्ध भएपछि मोबाइल सेवा पनि प्रभावित हुने गर्छ । ब्याट्रीले केही घण्टा मात्र थेगेपनि त्यसपछि टावर बन्द हुन्छ । नेपाल टेलिकम बागलुङ कार्यालयका वरिष्ठ इन्जिनीयर केशव शर्माले वडा नं. ७ बोबाङ र ९ देउरालीमा रहेको टावरमा समस्या आएको बताए । उनले शनिबार सौर्य उर्जा प्रणाली (सोलार) जडानका लागि आफूहरु जान लागेको बताए । “तत्काललाई अस्थायी रुपमा चलाउँछौँ, पछि स्थायी रुपमै सोलार जडान हुन्छ”, उनले भने । सडक नै अवरुद्ध भएका कारण सामान पुर्‍याउन केही ढिलाइ भएको वरिष्ठ इन्जिनीयर शर्माले उल्लेख गरे ।

नगरप्रमुख नेपालीले बाढीबाट क्षति पुगेको सडक मर्मत गरेर वडा नं. ९ सुर्कुदुङसम्म पुर्‍याइएको बताए। ढोरपाटन देउरालीसम्म जोड्न अझै केही समय लाग्ने उनको भनाइ छ ।

सालझण्डी–ढोरपाटन आयोजनाअन्तर्गत झण्डै १० किमि सडक बाढीले बगाएको छ । सो खण्डलाई पूर्ववत् स्थितिमा फर्काउन रु. ६० करोड खर्च हुने प्रारम्भिक अध्ययनबाट देखिएको छ । सडक अवरुद्ध हुँदा शुरुमा राहत सामग्री पुर्‍याउनसमेत कठिन भइरहेको थियो । बाढीग्रस्त क्षेत्रमा पुग्न झण्डै तीन घण्टा पैदल हिँड्नुपर्ने बाध्यता थियो । अहिले राहत पुर्‍याउन केही सहज छ ।

भौतिक संरचनाको बेलैमा पुनःनिर्माण नगरिए त्यस क्षेत्रको विकासको स्थिति झनै पछाडि धकेलिने हो कि भन्ने चिन्ता स्थानीयवासीमा छ । बाढीबाट वडा नं. ९ को लाँकुरीबोट, दुनेपधेँरा, भुसुण्डे, सुप्राङ, घट्टबोट, चेप्टाजुर, दुवाल र फल्लेघरमा बढी क्षति पुगेको छ ।

बाढीमा परी २२ जनाले ज्यान गुमाएका छन् १६ जना अझै बेपत्ता छन् । बाढीले १२० घरमा पूर्ण र ५१ घरमा आंशिक क्षति पुर्‍याएको छ । विद्यालय, झोलुङ्गे, ढलान र काठे पुलसमेत बगाएको छ । हजारौँ रोपनी खेतीयोग्य जमीन बगरमा परिणत भएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  १२ : ३३ बजे

बकर ईद मनाउँदै मुस्लिम धर्मावलम्बी (तस्बिरहरू)

काठमाडौं– मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (ईद उल

विद्यार्थीलाई विद्यालय तहदेखि नै खेतीपातीमा आकर्षित गर्न नीति बनाउनु पर्छ : सांसद शाक्य 

काठमाडौं– राष्ट्रियसभा सदस्य डाक्टर अञ्जान शाक्यले समग्र कृषिक्षेत्रको विकासका लागि

समृद्ध समाज निर्माणमा बकर ईद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बकर ईदको शुभकामना व्यक्त गरेका

‘लाहुरेको रेलिमाई’लाई अरनिको अन्तर्राष्ट्रिय पुरस्कार

काठमाडौं– आख्यानकार विजय हितानको लाहुरेको रेलिमाईलाई २०७९ सालको अरनिको अन्तर्राष्ट्रिय

विविधताभित्रको एकता नै नेपाली हुनुको पहिचान : राष्ट्रियसभा अध्यक्ष

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विभिन्न जातजाति, धर्म र समुदायअनुसारका