विधेयक पारित नहुँदा ६३ लाख नेपालीले पाएनन् नागरिकता | Khabarhub Khabarhub

विधेयक पारित नहुँदा ६३ लाख नेपालीले पाएनन् नागरिकता


१९ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल नागरिकता ऐन २०६३ संशोधन गर्न बनेको विधेयक पारित नहुँदा करीब ६३ लाख नेपालीले नागरिकताको प्रमाणपत्र पाउन सकेका छैनन् ।

महिला, कानून र विकास मञ्चले आज आयोजना गरेको नागरिकता विधेयकका विषयमा सञ्चारकर्मीसँगको भर्चुअल छलफल कार्यक्रममा विसं २०६८ को जनगणनाअघि गरिएको अध्ययनका आधारमा यस्तो तथ्य सार्वजनिक गरिएको हो । केन्द्रीय तथ्याङ्क विभागले गरेको जनगणना र गृह मन्त्रालयले वितरण गरेको नागरिकताको प्रमाणपत्रका आधारमा यो अध्ययन गरिएको मञ्चका कार्यकारी निर्देशक सबिन श्रेष्ठले जानकारी दिए।

अध्ययन गरिएको वर्ष ४३ लाख ४६ हजार ४६ नेपालीसँग नागरिकताको प्रमाणपत्र थिएन । प्रत्येक वर्ष बढ्ने जनसङ्ख्याको अनुपात र वितरण हुने नागरिकताका आधारमा नपाउनेको सङ्ख्या निकाल्ने गरिएको पनि उनले सुनाए ।

सङ्घीय संसद्, प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा लामो समयदेखि छलफलका क्रममा रहेको नागरिकता विधेयक पारित नहुँदा महिलाको नाममा सन्तानले नागरिकता पाउन नसकेको जानकारी गराइयो । विधेयक पारित नहुँदा संविधानमा मौलिक हकका रुपमा स्थापित नागरिकता प्राप्त गर्ने हकबाट समेत नागरिक वञ्चित हुनुपरेको अधिवक्ता नवीनकुमार श्रेष्ठले बताए।

काठमाडौँ जिल्लामा सबैभन्दा बढी एक लाख १५ हजार ७६७ सँग नागरिकता छैन । नागरिकता पाउन नसक्ने नेपालीको सबैभन्दा कम १६.३८ प्रतिशत प्रदेश नं २ मा रहेको मञ्चले जनाएको छ । प्रत्येक वर्ष सात लाख नेपाली नागरिकता पाउन योग्य अर्थात् १६ वर्ष उमेर पुग्छन् । गृह मन्त्रालयले दिएको तथ्याङ्कअनुसार वार्षिक चार लाख ७० हजारले मात्र नागरिकता पाउने गरेका छन् ।

“एक वर्षपछि अर्थात् विसं २०७८ मा राष्ट्रिय जनगणना गरिँदैछ, त्यसबेला नागरिकसँग नागरिकता छ, छैन, यसको पनि गणना गरिनुपर्छ, राज्यले गणना गरी निकालेको तथ्याङ्क आधिकारिक हुने भएकाले पनि यसो गरिनु आवश्यक छ, यसले तीनै तहका सरकारलाई योजना बनाउन पनि सहयोग गर्छ”, कार्यकारी निर्देशक श्रेष्ठले भने ।

प्रत्येक राजनीतिक परिवर्तनपछि नागरिकता बाँडिने परिपाटी पनि अन्त्य गरिनुपर्नेमा कार्यक्रमका सहभागीले जोड दिएका थिए । विसं २०६३ मा २०४६ चैतसम्म नेपालमा जन्मिएका जति सबैलाई नेपाली नागरिकता दिने र त्यसका लागि तीन जनाले सिफारिस गरे पुग्ने जस्ता हचुवाका व्यवस्था फेरि दोहोरिनु नहुने उनीहरुको भनाइ थियो ।

नागरिकता वितरणमा कुनै गल्ती भएमा दिने प्रमुख जिल्ला अधिकारीलाई कारबाही नगरिने तर सिफारिस गर्ने वडाध्यक्षलाई कारबाही गर्ने व्यवस्थासमेत पारदर्शी र जवाफदेही हुन नसकेकाले संशोधन गरिनुपर्नेमा ध्यानाकर्षण गराइएको छ । नागरिकता वितरणसम्बन्धी कानून स्पष्ट गरिनुपर्ने, विवेकका भरमा निर्णय गर्ने व्यवस्था खारेज गर्नसमेत कानून व्यवसायीले माग गरेका छन् ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ५ : २१ बजे

रासायनिक मलको अनुदानका लागि बजेट अपुग छ : मन्त्री अधिकारी

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले रासायनिक मलको अनुदानका

संसद्को गतिरोध खुलाउने विषयमा दलहरूबीच सकारात्मक छलफल भयो : प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद्को गतिरोध

हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास

काठमाडौं– पूर्वयुवराज्ञी हिमानी शाहले जुम्लामा बर्थिङ सेन्टर शिलान्यास गरेकी छन्

फिल्म ‘रातो पासपोर्ट’ निर्माण घोषणा, पोर्चुगलको थिममा टाइटल पोस्टर

काठमाडौं – सिबर्डस् पिक्चर्स र होप्स बजले ट्राइडेन्ट कन्सेप्टसँग सहकार्य

स्कटल्यान्डले गुमायो पाचौँ विकेट

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ मा आइतबार भइरहेको खेलमा नेपालले