कोरोना संक्रमण हुन नदिन सामाजिक दूरी कायम राख्ने, मास्क लगाउने, साबुनपानीले हात धुने, स्यानिटाइजर प्रयोग गर्दा पनि धेरैलाई संक्रमण कसरी भयो भन्ने थाहा नहुने रहेछ । मेरी श्रीमतीलाई पनि यस्तै भयो ।
उनलाई ज्वरो आयो । खोकीले सतायो । शंका लागेर परीक्षण गरायौँ । असोज २ गते काठमाडौँमा पिसिआर परीक्षणका लागि स्वाब दिएकोमा ४ गते रिपोर्ट आयो । पोजेटिभ !
एकपटक त छाँगाबाट खसेजस्ता भयौँ ।
तनाव बढ्ने नै भयो । मलाई पनि पोजेटिभ हुने सम्भावना भयो । साथमा सात वर्ष उमेरको छोरो र नौ महिना उमेरकी छोरी छन् । जे भए पनि आफू सम्हालिनु र अरूलाई सर्न नदिनु नै मुख्य काम हुने भयो ।
छोराछोरीमा र ममा कुनै लक्षण देखिएन । श्रीमती संक्रमित भएको तनावमा थप मानसिक तनाव नहोस् भन्ने ठानेर हामी तीन जनाको परीक्षण नगर्ने निधो गरेँ । श्रीमतीलाई संक्रमण पुष्टि भएपछि काठमाडौँको डेरामा साना छोराछोरीका साथ आइसोलेशन नहुने भयो ।
सहजताका लागि हामी कोहलपुर गयौँ, घर । एम्बुलेन्समा झण्डै १३ घण्टा यात्रा गरेर कोहलपुर पुग्यौँ । म र छोरो घरमा बस्यौँ तर नौ महिना उमेरकी छोरी आमाबाट छुटाउन सकिएन । छोरी लिएरै उनी कोहलपुर अस्पतालमा १० दिन बसिन् र कोरोनालाई पराजित गरेर घर फर्किन् ।
अस्पताल पुग्दा उनलाई ज्वरो रोकिए पनि पाँच दिनजति खोकीले सतायो । श्वासप्रश्वासमा केही समस्या भएपछि अक्सिजन दिनुपर्ने भयो । छोरीका कारणले म पनि अस्पताल नै बस्नुपर्ने भयो । छोरालाई घरमा छोडेर अस्पताल गएँ ।
अस्पतालमा अरू पनि संक्रमितहरू थिए । दूरी कायम राखेर म उनीहरूसँगै रहेँ । मलाई कुनै लक्षण थिएन । आफ्नो परीक्षण गराइनँ । आफू संक्रमित भए नभएको थाहै भएन । हामी अस्पतालबाट डिस्चार्ज भएको चार दिनपछि सबैको पीसीआर परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आयो । हामी तनावमुक्त भयौँ ।
श्रीमतीको हेरचाहका लागि सात दिन अस्पताल बस्दा पनि मैले आफ्नोबारे कोरोनाको त्रास लिइनँ । श्रीमतीलाई कहिले ठिक होला भन्ने तर्कनामात्रै भइरह्यो । अक्सिजन दिनुपर्दा भने मन आत्तियो तर आतेस लुकाएर मैले उनलाई हौसला दिएँ । अक्सिजन दिनु सामान्या हो, सजिलोका लागि हो भनेर सम्झाएँ ।
बेसार, अदुवा, गुर्जो, चिराइतो राखेको तातोपानी खुवाएँ । खान मन नलागे पनि खाना खुवाएरै छाडेँ । शरीरलाई शक्ति दिने खानेकुरा खुवाएँ । बिस्तारै स्वास्थ्यमा सुधार आयो । अहिले सबै राम्रो भएको छ । म पनि नियमित काममा फर्किसकेको छु ।
सहयोगी विपुल दाइ
मन बलियो बनाएरै कोरोना वार्डमा प्रवेश गरे पनि अनेक सोच आउने रहेछ । बाहिर हुँदा त अस्पतालभित्र कोराना संक्रमितमात्रै होलान् भन्ने ठानेको थिएँ । अस्पताल प्रवेश गरेपछि थाहा भयो, संक्रमितहरूको हेरचाह गर्ने पनि सँगै रहेछन् । केही संक्रमितका त दुई जना पनि थिए ।
अस्पताल गएकै दिन नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेललाई भेटेपछि मन केही हलुङ्गो भयो । उनी दाङमा बसोबास गर्ने बुबाआमालाई कोरोना पोजेटिभ देखिएपछि अस्पताल लिएर आएका रहेछन् ।
अस्पतालमा विपुल दाइ संक्रमितका लागि आएको खाना–खाजा वितरण गर्ने र हौसला दिने काम गरिरहेका थिए । म अस्पताल नजाँदासम्म मेरी श्रीमती र छोरीलाई पनि खाना पुर्याइदिने र सन्चो–बिसन्चो सोध्ने गरेका रहेछन् । उनको सहयोग थाहा पाएर म आभारी भएँ । फेरि भन्छु– धन्यवाद विपुल दाइ ।
म अस्पताल गएको दिनमै विपुल दाइका बुबा डिस्चार्ज हुनुभयो, तीन दिनपछि आमा पनि डिस्चार्ज । आफूले गर्दै आएको काम मलाई सुम्पिएर दाइ पनि दाङ फर्के ।
व्यवस्थित अस्पताल
काठमाडौँका अस्पतालमा कोरोना संक्रमण बढेर ‘बेड’ अभाव भइरहँदा नेपालगञ्ज मेडिकल कलेजको ‘कोभिड–१९ वार्ड’ व्यवस्थित नै पाएँ । चारतले भवनको पहिलो, दोस्रो र तेस्रो तलामा कोरोना संक्रमितका लागि उपचारको व्यवस्था रहेछ ।
भेन्टिलेटर र आइसियुमा राख्नुपर्ने बिरामीका लागि पहिलो र दोस्रो तला अनि तेस्रो तलामा सामान्य अवस्थाका संक्रमितहरू राखिएका रहेछन् । तेस्रो तलाको ‘वार्ड’ को छतबाट आइसियुमा राखिएका बिरामीहरू देखिन्थे ।
चिकित्सकहरूसँग जिज्ञासा राख्दा सहज तरिकाले जानकारी दिन्थे । चिकित्सक र अस्पतालका कर्मचारीहरूका लागि भने ‘क्याबिन’ मा व्यवस्था थियो । म अस्पताल रहँदा कोहोलपुरमा डाक्टर, नर्स र कर्मचारी गरी १५ जना संक्रमित थिए । कसैका साना छोराछोरी पनि संक्रमित थिए । संक्रमित हुनेमा धेरै नर्स थिए ।
संक्रमितहरूमा उति निराशा देखिँदैन थियो । उनीहरू निको भएर फर्किन्छु भन्ने विश्वासमा देखिन्थे । थोरै तनाव हुन्थ्यो त १४ दिन कसरी कटाउने भन्नेमात्र । उनीहरू औँला गन्दै बसेका हुन्थे ।
लक्षण नदेखिएका र निको हुँदै गएका बिरामीहरूलाई अस्पतालले अवस्था हेरेर सामान्यतया १४ दिनपछि घर पठाउँदो रहेछ । लक्षण नदेखिए दोहोर्याएर परीक्षण नगरिने रहेछ । घरमा केही दिन क्वारेन्टिनमा बस्न सुझाब दिँदै केही औषधि दिएर पठाउने रहेछन् ।
सुगरका बिरामीको साहस
सुगरको औषधिसमेत खाइरहेका एक जना पुरुष थिए ६५ वर्ष उमेरका । उनको साहस हाम्रा लागि ऊर्जा हुन्थ्यो । उनी सबैलाई हौसला दिइरहेका हुन्थे । दैनिक सुगरको औषधि खान्थे तर कोरोनाको त्रास थिएन । बैसाखी टेकेर हिँड्थे । निको भइहाल्छु भन्थे ।
‘जनयुद्धका बेला माओवादीले मारेर फाल्दा त बाँचियो, यो कोरोनाले केही गर्दैन’, एक दिन हाँस्दै बिरामीहरूसँग भने, ‘बैसाखीको साहारामा त म ढुक्क छु, कोरोना संक्रमण भयो भन्दैमा तनाव नलिनुस् । आत्मबल बलियो बनाउनुस् ।’
एक दिन उनले सुनाएअनुसार जनयुद्धमा माओवादीले हातखुट्टा भाँचेर मर्यो भन्दै उनलाई जङ्गलमा फालेका रहेछन् । काठमाडौँको महाराजगञ्ज शिक्षण अस्पतालमा अप्रेसन गरेर उपचार भयो तर हिँड्न बैसाखी चाहिने भयो । बुढो हुँदै गएपछि सुगर (मधेमेह) थपियो ।
उनले भने, ‘सुगरको औषधि खाने बिरामी भनेर बरु डाक्टरहरू आत्तिन्छन्, म त निको हुन्छु भनेर ढुक्क छु ।’
संक्रमित मुटुरोगी
एक जना मुटुरोगी भेटिए, उमेर ४० वर्ष । घर नेपालगन्ज । ‘क्यानुला’ रोपेको हात लिएर छतमा हावा खाँदै हलुका व्यायाम गरिरहेका थिए । अन्य केही संक्रमित उनीसँग गफिँदै थिए । म पनि मिसिएर संवाद सुरु गरेँ ।
‘वृद्धवृद्धा, मुटुरोगी र फोक्सोमा समस्या भएकालाई त कोरोनामा धेरै समस्या हुन्छ रे नि !’
‘म मुटु रोगी । अब निको भएँ । आइसियुमा तीनचार दिन अक्सिजन लिएर बाँचे । झण्डै आश मारेको थिएँ । अब केही हुँदैन ।’
‘सुरुमा कसरी थाहा भयो त ?’
‘सुरुमा ज्वरो आयो, खोकी लाग्यो । पीसीआर गराउँदा पोजेटिभ देखियो । मुटुको रोगी मान्छे, तनाव बढेर होला, मुटु पनि दुख्न थाल्यो । सात दिनदेखि निकै गाह्रो भयो तर हिम्मत हारिनँ । अहिले ठिक छु । अब पिसिआर नेगेटिभ नआएसम्म अस्पतालबाट जान्नँ । आज १४ दिन भयो ।’
‘मेरो अनुभवमा कोरोना लाग्नुअघि मानिसमा जुन किसिमको रोग छ, त्यही प्रकृतिको लक्षण देखिन्छ । पेटका बिरामीलाई पखाला लाग्छ, मुटुका बिरामीलाई मुटु दुख्छ । सुरुमा जे भए पनि अन्तिम असर फोक्सोमै देखिन्छ ।’
‘ल, तपाईंलाई शीघ्र स्वास्थ्यलाभको कामना । अरूको हौसला बढाउँदै गर्नुहोला ।’
दैलेखबाट आएकी दमरोगी
दैलेखकी एक जना संक्रमित थिइन्, उमेर ६० वर्षमाथि अनि दमको रोगी । कोरोना वार्डको छतमा क्यानुला रोपिएको हातले काइयो समातेर कपाल कोर्दै गरेकी उनले केही दिन आइसियुमा बसेको र अहिले साधारण वार्डमा सरेको बताइन् ।
उनको खोकी निको भयो । चाँडै घर फर्किने आशामा छिन् । हामी डिस्चार्ज हुने दिनमा ती वृद्धा आएको १० दिन पुगेको थियो । उनले सोधिन्, ‘दम बढेपछि अस्पताल आएँ, कोरोना भयो भनेर यहाँ ल्याए, यो कस्तो रोग हो ?’
उनको हेरचाहका लागि बहिनी आएकी थिइन् । बहिनीको घर दाङको भालुवाङ रहेछ । अरू नभएर बहिनी आउनुपरेको रहेछ । उनले दिदीलाई दैनिक बाफ लिन लगाइन् । बेसार हालेर तातोपानी खुवाइन् । अस्पतालले दिएको औषधि पनि भनेअनुसार खुवाइन् ।
कैलालीका संक्रमितको कहर
अर्का एक जना संक्रमित थिए कैलालीका, उमेर ५० वर्ष । उनको व्यथा अलिक फरक थियो । संक्रमितलाई समाजले गर्ने व्यवहारबाट दिक्क थिए- उनी ।
उनले आग्रह गरे, ‘ढिलोचाँडो सबैलाई कोरोना हुन्छ, कोरोना भएकालाई दुर्व्यवहार नगर्नुहोला । भोलि तपाईंलाई यस्तो भए के गर्नुहुन्छ, सोच्नुहोस् ।’
आफूलाई कोरोना कसरी सर्यो भन्ने उनलाई थाहा छैन । सामान्य ज्वरो र खोकी देखिएपछि पीसीआर परीक्षण गराउँदा पोजेटिभ आयो । छरछिमेकले थाहा पाएपछि दुर्व्यवहार गरे । यसबाट उनी खिन्न देखिए ।
थेगो जस्तो ‘आत्मबल बढाउनुस्’
सेतोमा निलो रङको धर्का भएको पिपिइ लगाएका चिकित्सक औषधिको ‘ट्रे’ गुडाउँदै दिनमा दुई पटक, बिहान–बेलुका, औषधि दिन आउँथे ।
धेरै बोल्दैन थिए, बिरामीको अवस्था सोधेर कस्तो लक्षण छ सोहीअनुसारको औषधि दिएर जान्थे । चिन्ता नलिनू भन्न छुटाउँदैन थिए । खानपानमा विशेष ध्यानदिन आग्रह गर्थे । उनीहरू प्रायः आइसियुमा बढी ध्यान दिन्थे । जो आए पनि थेगोजस्तै गरी ‘आत्मबल बढाउनुस्’ भनेर जान्थे ।
कोरोना संक्रमितको उपचारमा लागेका डा. दीपेन्द्र खड्काले आफूहरू अहोरात्र खटेको र यही क्रममा आफ्ना धैरै साथीहरू संक्रमित भएको बताए । ‘चिन्ता लिनु हुँदैन, आत्मबल बढाएर नियमित खानपानमा विशेष ध्यान दिए कोरोना जितिन्छ’ भन्न उनले पनि छुटाएनन् ।
डा. खड्काका अनुसार कारोना जितिन्छ भन्दैमा हेलचेर्क्रायाइँ गर्नु गलत हुन्छ । दीर्घ रोग नभएकाहरू सजिलै निको हुन्छन् तर उनीहरूले वृद्ध तथा बालबालिका सारे भने जोखिम धेरै हुन्छ । कोरोना रोकथाम र नियन्त्रणमा पहिलो जिम्मेवारी व्यक्तिकै हुन्छ ।
अस्पतालमा भर्ना भएका कोरोना संक्रमित स्वास्थ्यकर्मी र कर्मचारीहरू धेरै समय क्याविनमै बसे पनि बिहान र बेलुका छतमा निस्किन्थे । गफको धेरै जसो विषय कोरोना नै हुन्थ्यो । अन्य संक्रमितहरूलाई चिन्ता नलिई आत्मबल बढाउन उनीहरू सुझाब दिइरहेका हुन्थे ।
अस्पतालकै एक जना कर्मचारी र एक जना नर्सका श्रीमानको मृत्यु भएको दिन भने उनीहरू सबै मलीन मुद्रामा थिए । नेपाली सेनाको शव व्यवस्थापन टोलीले शव प्लास्टिकमा बेरेर झोलामा राख्दा वातावरण मलिन थियो ।
शव व्यवस्थापनका लागि सेनाको टोलीको गतिविधि छतबाट प्रष्ट देखिन्थ्यो । म अस्पताल रहुन्जेलमा कोहलपुर अस्पतालमा मात्र ५ जना संक्रमितको मृत्यु भयो ।
(संक्रमितहरूको गोपनियता ध्यानमा राखेर नाम खुलाइएको छैन र टाढाबाट लिएका तस्वीरहरूमात्र प्रयोग गरिएको छ ।)
प्रतिक्रिया