काठमाडौँ- अमेरिकी राष्ट्रपतीय चुनावको मत परिणाम आउने क्रम जारी छ ।
मतदान सकिएसँगै आउन थालेका मतपरिणामको ताजा अवस्थामा बाइडेनको अग्रता साघुरिँदै गएको छ ।
प्रतिस्पर्धी बहालवाला राष्ट्रपति एवं रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई सुरूवातमा धेरै पछि पारेका बाइडेन यो समाचार तयार पार्दासम्म २५ इलेक्ट्रोरल मतले मात्र अघि छन् ।
डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले २३८ इलेक्ट्रोरल मत प्राप्त गर्दा ट्रम्पले २१३ इलेक्ट्रोरल मत प्राप्त गरेको फक्स न्यूजले जनाएको छ ।
इलेक्टरल मतका हिसाबले दोस्रो ठूलो राज्य टेक्ससमा ट्रम्पले जित्ने प्रक्षेपण गरिएपछि उनले बाइडनसँगको अन्तर घटाएका हुन् । टेक्ससमा ३८ इलेक्टरल मत छ । ताजा नतिजामा रोड आइल्यान्डमा बाइडन र आइओवामा ट्रम्पले जित्ने प्रक्षेपण गरिएको छ।
महत्वपूर्ण मानिएको राज्य फ्लोरिडामा ट्रम्पले जित हासिल गरेको बीबीसीले जनाएको छ । उक्त राज्यमा ट्रम्पले दोस्रोपटक जित हासिल गरेका हुन् ।
रिपब्लिकनहरुको बर्चस्व रहेको उक्त राज्यमा ट्रम्प पराजित भएको भए राष्ट्रपतिमा पुनः विजयी हुने बाटो बन्द हुन सक्ने आकलन गरिएको थियो ।
अघिल्लो निर्वाचनमा पनि ट्रम्पले जितेको फ्लोरिडामा २९ इलेक्टोरल मत छ।
फ्लोरिडामा सन् २००८ र २०१२ को निर्वाचनमा डेमोक्र्याट बाराक ओबामाले जितेका थिए।
त्यस्तै १८ इलेक्टोरल मत रहेको ओहायो र ४ मत रहेको आइडहोमा ट्रम्पले जितेका छन् । १३ इलेक्टोरल मत रहेको भर्जिनियामा बाइडनले जित्ने प्रक्षेपण गरिएको छ।
यी सबैमा गत निर्वाचनमा पनि दलगत उस्तै नतिजा आएको थियो।
कूल ५३८ इलोक्ट्रोरल मतमध्ये जितका लागि २७० इलोक्ट्रोरल मत आवश्यक छ ।
यी हुन् निर्णायक राज्य
यो चुनावमा सबैभन्दा धेरै इलोक्ट्रोल भोट ५५ रहेको राज्य क्यालिफोर्नियासहित फ्लोरिडा, एरिजोना, पेन्सलभेनिया, मिचिगन, विसकन्सिन, नर्थक्योरिलना र जर्जियाको इलोक्ट्रोल भोट निर्णायक हुनेछ ।
यी राज्यहरुमा जुन उम्मेदवारले अग्रता कायम गर्दै वर्चस्व कायम गर्नेछन् उनकै जित निश्चित हुनेछ ।
कूल ५३८ इलोक्ट्रोन मतमध्ये २७० मत ल्याउने उम्मेदवार राष्ट्रपतिको पदमा निर्वाचित हुन पाउँछन् ।
कतिपय अवस्थामा यो व्यवस्थाले जनताको मत अत्यधिक पाएर पनि विजयी हुन नसकेका उदाहरण छन् ।
सन् २०१० को जनगणनामा आधारित भएर २०१२, २०१६ र २०२० को निर्वाचनमा कूल ५३८ इलोक्ट्रोल मत विभाजन गरिएको छ ।
सात वटा राज्यबाट तीन/तीन भोटको गणना हुन्छ । यसरी इलोक्ट्रोल कलेजको गणना गर्दा हरेक राज्यको जनसङ्ख्या, सिनेटरको सङ्ख्या र काँग्रेसनल डिष्ट्रिकको समानुपातिक मतका आधारमा चयन गरिन्छ ।
आफैँले जित्ने दुबैको दाबी
ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमार्फत जसरी पनि चुनाव जित्ने दाबी गरेका छन् ।
डेमोक्रेटहरुले चुनावमा धाँधलीको प्रयास गरेकोसमेत उनले आरोप लगाएका छन् । मतगणना सकिएपछि जितको खुसीयालीसहित आफूले सम्बोधन गर्ने पनि उनले बताएका छन् ।
‘गलत तरिकाले चुनावलाई प्रभाव पार्न खोजेका छन्, त्यस्तो हुन दिइने छैन । मतदानस्थल बन्द भएपछि भोट हाल्न पाइँदैन,’ ट्रम्पले भने ।
त्यस्तै डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले पनि यसपटकको चुनाव आफूले जित्ने दाबी गरेका छन् ।
उनले यो लामो प्रकिया भएपनि नजिता आफ्नै पक्षमा आउने दाबी गरेका छन् । आफ्ना समर्थकलाई सम्बोधन गर्दै उनले आफू जितको बाटोमा रहेको बताएका हुन् । उनले भनेका छन्, ‘जबसम्म अन्तिम मतको गणना हुँदैन, तबसम्म यो सकिँदैन ।’
प्रतिक्रिया