म्याग्दी– म्याग्दी, पर्वत र बागलुङमा विपद परी आफन्त गुमाएका, प्रभावित स्थानीय तह र समुदायलाई करिब १७ लाख राहत सहयोग गरिएको छ ।
पुनमगर समाज नेपाल र बेलायतको सहकार्यमा सङ्कलन भएको १६ लाख ७४ हजार ३७५ सोमबार बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिका परिवार, प्रभावित बस्ती तथा स्थानीय तहका विपद् व्यवस्थापन कोषमा उपलब्ध गराइएको हो ।
म्याग्दीमा बाढीपहिरोमा ज्यान गुमाएका ११ जनाका परिवारलाई जनही २५ हजारका दरले राहत उपलब्ध गराइएको पुनमगर समाजका योगकुमार फगामीले जानकारी दिए ।
मृतकका परिवारलाई वितरण गर्न पुन मगर समाज युकेले दुई लाख २५ हजार र नेपाल पुन मगर समाज केन्द्रले ५० हजार रुपैयाँ उपलब्ध गराएका छन् ।
त्यसैगरी, बागलुङमा ज्यान गुमाएका १३ जनाका परिवारलाई जनही १० हजारका दरले एक लाख ३० हजार वितरण गरिएको छ । पर्वत जिल्लामा दुई लाख ५० हजार रुपैयाँ सहयोग गरिएको छ ।
म्याग्दीका प्रभावित बस्ती र स्थानीय तहका विपद् व्यवस्थापन कोषमा पनि राहत रकम उपलब्ध गराइएको छ । रघुगङ्गा गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा ५० हजार, मालिका र मङ्गला गाउँपालिकाको कोषमा २५ हजार रुपैयाँका दरले सहयोग गरिएको छ ।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनलाई पाउद्वार, खोलापार, गोल्पानी र गिवाङका प्रभावितका लागि तीन लाख, धस्केखोर, किन्दु, शिख र स्वाँत क्षेत्रका लागि दुई लाख, काफलडाँडाका लागि दुई लाख तथा ठूलोबगर, भुरुङ, तातोपानी र नारच्याङ क्षेत्रका लागि ६४ हजार ३७५ सहयोग हस्तान्तरण गरिएको छ ।
पर्वतका मिर्गौला पीडितलाई एक लाख ५५ हजार सहयोग गरिएको छ । समाजले विपद्का बेला पीडित परिवार र प्रभावित समुदायलाई सहयोग पुर्याउने उद्देश्यले स्वदेश तथा विदेशमा रहेका पुन मगर समुदायबाट रकम सङ्कलन गरेको जनाएको छ ।














प्रतिक्रिया