पूर्वाधार विकासको निम्छरो पद्धति « Khabarhub

पूर्वाधार विकासको निम्छरो पद्धति



नेपालको विगत ८ दशक मुलत: राजनीतिक व्यवस्था परिवर्तनका लागि बित्यो । राजनीतिक परिवर्तनको अन्तर्यमा नेपाली जनताको सम्वृद्धिको सपना थियो । तर पटक-पटकका राजनीतिक परिवर्तनले मुलुकको सामाजिक-आर्थिक रुपान्तरणलाई अपेक्षित तहमा सम्बोधन गर्न सकेन । सम्वृद्धिको माग र चासोको चर्चा फेरि चुलिएको छ । विकासको प्रारम्भिक चरणमा पूर्वाधार निर्माणलाई सम्वृद्धिको प्रमुख संवाहक ठानिन्छ।

पूर्वाधार विकास सधैं सरकारको प्राथमिकतामा छ । जनताले पाउनुपर्ने आधारभूत सेवा पूर्वाधारसँगै जोडिएका छन् । तर केही दशकदेखि नै पूर्वाधार विकासको हाम्रो शैलीले लय समात्न सकेको छैन । राष्ट्रिय गौरवका भनि उच्च प्राथमिकतामा राखिएका आयोजनाहरुकै कार्य प्रगति निराशाजनक छ ।

बहुचर्चित मेलम्ची आयोजनाको ‘किस्सा’ ले अलि ठूला र प्रविधिक रुपले केही जटिल देखिने पूर्वाधार आयोजना नेपालको वशको कुरा होइन भन्ने कुरा जनमानसमा छाप परेको छ । राजधानीका सडकका खाल्टा-खुल्टीको व्यवस्थापन समेत चुनौतीपूर्ण देखिएको छ । रणनीतिक महत्वका आयोजनाहरु बारेको नचाहिंदो विवादले आयोजना तयारी र निर्णय प्रक्रिया वर्षौं लम्बिंदै छ । ठूला आयोजनाको समयावधि बढ्ने र लागत आकासिने कुरा सामान्य लाग्न थालेको छ । गुणस्तरहीन निर्माण र आयोजनामा हुने भ्रष्टाचारले गर्दा पूर्वाधार निर्माण क्षेत्र प्रति आम जनताको आक्रोश बढ्दो छ ।

विकास र समृद्धिको बृहत्तर भिजन कोरल्ने काम राजनीतिक नेतृत्वको हो । देशको भविष्यलाई कस्तो आकार दिने, देशलाई कुन गतिमा अगाडि बढाउने, आवश्यक स्रोत साधनको पहुँच कस्तो छ ? लगायतका विषयमा शीर्ष नेतृत्व चनाखो हुनु जरुरी छ

वास्तवमा भौतिक पूर्वाधारको औचित्यपूर्ण योजना तर्जुमा, चुस्त कार्यान्वयन र प्रभावकारी उपयोग आफैंमा एक जटिल प्रक्रिया हो । समग्र प्रक्रियाको हरेक चरणमा राजनीतिक, प्राविधिक, कानूनी, प्रशासनिक, व्यवस्थापकीय या अन्य कुनै न कुनै प्रकारको अनिश्चितताको जोखिम हुन्छ । सवल संस्थागत पद्धतिले सवै खाले अनिश्चितताको जोखिम न्युनीकरण गर्दछ । तर हामीकहाँ पूर्वाधार विकासको चुस्त-दुरुस्त पद्धति बन्नै सकेन । बरु आकार लिंदै गरेको पूर्वाधार विकासको पद्धतिलाई ०४६ सालको राजनीतिक परिवर्तनपछि निरन्तर रुपमा भत्काउने काम भयो ।

कस्तो हुनुपर्ने पूर्वाधार विकासको पद्धति ?

विकास र समृद्धिको बृहत्तर भिजन कोरल्ने काम राजनीतिक नेतृत्वको हो । देशको भविष्यलाई कस्तो आकार दिने, देशलाई कुन गतिमा अगाडि बढाउने, आवश्यक स्रोत साधनको पहुँच कस्तो छ ? लगायतका विषयमा शीर्ष नेतृत्व चनाखो हुनु जरुरी छ ।

विकास र समृद्धिको समग्र ‘मोडेल’ या रणनीतिक तहको योजना तर्जुमा गरिनुपर्छ । मुलुकमा यस्तो भिजनका आधारमा विकास र समृद्धिको समग्र ‘मोडेल’ या रणनीतिक तहको योजना तर्जुमा गरिन्छ । कृषी, उद्योग, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ लगायतका क्षेत्रमा समन्वयात्मक तवरले नीति र योजनाको खाका तयार गरिन्छ । लगानीका लागि आवश्यक पुँजी र वित्तीय स्रोतको सम्भावना पहिचान गरिन्छ ।

राजनीतिक तहको सूचित भिजन, सघन अनुसन्धान सहितको नीति, र गुरुयोजनाविनाका तदर्थ राजनीतिक निर्णयले छानिएका आयोजनाबाट हाम्रो पूर्वाधार विकासको प्रक्रिया शुरु हुन्छ । दाताहरुको आयोजना छनोटको प्राथमिकता र कार्यविधि झन छुट्टै छ

सामाजिक-आर्थिक रुपान्तरणको यस्तो विहङ्गम नीति र योजनाले भौतिक पूर्वाधारका विभिन्न क्षेत्रको विकासको रणनीतिक मार्गचित्र निर्देशित गर्दछ । हाम्रो जलविद्युत निर्यातका लागि कि हाम्रो आफ्नै औद्योगीकरणका लागि ? हाम्रो मेरुदण्डिय यातायात प्रणाली सडक कि रेल प्रविधि को ? हाम्रो शहरी र बस्ति विकासको स्वरुप कस्तो ? पूर्वाधार लगानीमा आन्तरिक र बाह्य पुँजीको भूमिका कस्तो ? पूर्वाधार निर्माणका लागि आन्तरिक प्राविधिक र व्यवस्थापकीय क्षमताको अभिवृद्धि कसरी ?  द्विपक्षीय र बहुपक्षीय दाताको भूमिका कस्तो हुने ? पूर्वाधार विकास र वातावरणीय संरक्षणबीचको सन्तुलन कस्तो हुने ? नीजि क्षेत्रको भूमिका कति र कस्तो ? यस्ता खाले रणनीतिक प्रश्नको उत्तरले पूर्वाधार क्षेत्रको नीतिलाई विकास र समृद्धिको वृहत्तर लक्षसंग कसिलो गरी जोड्न मद्दत पुर्याउँछ । सबै खाले नीति सघन अध्ययन र अनुसन्धानका आधारमा तय गरिन्छ ।

विभिन्न क्षेत्रका भौतिक पूर्वाधारको मार्गदर्शक नीतिका आधारमा गुरुयोजना तयार गरिन्छ । जस्तो कि राष्ट्रिय राजमार्ग गुरुयोजना, राष्ट्रिय रेलमार्ग गुरुयोजना, जलविद्युत विकास गुरुयोजना, सहरी यातायात गुरुयोजना इत्यादि । अन्तसम्बन्धित पूर्वाधार क्षेत्रका (जस्तो कि सडक, रेल र हवाई यातायात) गुरुयोजना समन्वयात्मक तवरले तर्जुमा गरिन्छ । यस्ता गुरुयोजनाहरु राज्यको माथिल्लो तह (क्याविनेट या संसद) बाट पारित गरिन्छ र आवश्यकताको आधारमा निश्चित अवधि पछि मात्र पुनरावलोकन या अध्यावधिक गरिन्छ । आवधिक या वार्षिक आयोजनाहरु सामन्यत: गुरुयोजनाको मातहतमा रहेर मात्र छनौट गरिन्छ । तदर्थ राजनीतिक निर्णयका आधारमा आयोजना छनौट गर्न मिल्दैन ।

निश्चित शर्तका आधारमा गुरुयोजना भित्रका आयोजनाको प्राथमिकता निर्धारण गरी आयोजनाको विस्तृत डिजाइन प्रतिवेदन तयार गरिन्छ । लगानीका लागि श्रोत परिचालनको नीति अनुसार आयोजनाको वित्तीय व्यवस्था मिलाइन्छ। यो चरणमा आवश्यकता अनुसार दुई पक्षीय या बहुपक्षीय दाताको सहयोग र संलग्नता खोजिन्छ।

तदर्थ रुपमा निर्णय गरी कार्यन्वयनमा गरिएका कतिपय आयोजनाले सोचे भन्दा जटिल प्राविधिक तथा व्यवस्तापकीय चुनौतीको सामना गरेका उदाहरण हाम्रा सामु छन्

आयोजना कार्यान्वयनको प्रविधिक जटिलता र व्यवस्थापकीय चुनौतीलाई मध्यनजर गरी स्वदेशी या विदेशी निर्माण कम्पनीको छनोट गरिन्छ । तर सबै मुलुकमा आन्तरिक प्राविधिक क्षमता विकास गरी आयोजनाको डिजाइन र कार्यान्वयनमा स्वदेशी कम्पनिको संलग्नतालाई प्रवर्द्धन गर्ने नीति अख्तियार गरिएको हुन्छ । हामी जस्तो संस्थागत क्षमता कमजोर रहेको देशमा विदेशी कम्पनीको संलग्नताले आयोजनाको लागत बढी हुनुको साथै आयोजना व्यवस्थापनमा समेत थप जटिलता निम्त्याउँछ ।

नेपालमा अभ्यास भै रहेको पूर्वाधार निर्माणको कार्यशैलीमाथि उल्लेखित पद्धतिभन्दा निकै भिन्न र तदर्थ प्रकृतिको छ । राजनीतिक तहको सूचित भिजन, सघन अनुसन्धान सहितको नीति, र गुरुयोजनाविनाका तदर्थ राजनीतिक निर्णयले छानिएका आयोजनाबाट हाम्रो पूर्वाधार विकासको प्रक्रिया शुरु हुन्छ । दाताहरुको आयोजना छनोटको प्राथमिकता र कार्यविधि झन छुट्टै छ ।

स्पष्ट नीति र योजनाविनाका आयोजना सरकारका निर्णयसँगै विवादमा तानिन्छन् । देश विकासका लागि जतिसुकै महत्वपूर्ण आयोजना किन नहोस्, तदर्थ रुपमा छानिएका आयोजनाको औचित्य माथि नै प्रश्न उठ्न थाल्छ । उदाहरणका लागि हालको सरकारले रेलमार्ग र पानी जहाजलाई प्राथमिकतामा राखेको छ । तर नेपालको राष्ट्रिय यातायात प्रणालीमा रेलमार्गको भूमिका कुन तहको हो स्पष्ट छैन । यातायातको मेरुदण्डीय पूर्वाधार रेल हुने कि सडक हुने ? कुन गतिको रेल प्रणाली ? ब्रोड गेज कि स्ट्यान्डर्ड गेज ? त्यस्तै पानी जहाज किन? सडक र रेलको तुलनामा जलमार्गको लाभ र लागत कति ? यस्ता प्रश्नहरुमा विना कुनै सघन अध्ययन हचुवाका भरमा निर्णय लिने प्रवृत्ति हावी छ।

ठूला पूर्वाधार आयोजनामा थुप्रै सरोकार समूह हुन सक्छन् । सरोकार समूहको आ-आफ्नै किसिम चासो र स्वार्थ हुन्छन् । स्पष्ट नीति, योजना र अध्ययनको अभावमा सरोकार समुहका नाजायज चासो र स्वार्थ हावी भएर आयोजनाको कार्यान्वयनमा गतिरोध उत्पन्न हुन सक्छ । तदर्थ रुपमा निर्णय गरी कार्यन्वयनमा गरिएका कतिपय आयोजनाले सोचे भन्दा जटिल प्राविधिक तथा व्यवस्तापकीय चुनौतीको सामना गरेका उदाहरण हाम्रा सामु छन् । त्यसैले आन्तरिक क्षमता विकास गर्दै पूर्वाधार विकासका लागि वैज्ञानिक पद्धतिको संस्थागत स्थापना र प्रभावकारी अवलम्वनको सुनिश्चितताले विकास र संवृद्धिको सपनालाई साकार पार्न धेरै हदसम्म योगदान पुर्‍याउने छ ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  ४ : ०५ बजे

अनलाइनबाट मतदाता नामावली दर्ता

तनहुँ– निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः

फोहर वर्गीकरण गर्न टीकापुर नगरपालिकाको आग्रह

कैलाली– टीकापुर नगरपालिकाले घरबाट निस्केका फोहरलाई वर्गीकरण गरेर राख्न आग्रह

रास्वपाको उदयमा बालेनको नेतृत्व : जनलहरको अग्निपरीक्षामा नयाँ सरकार

हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन परिणाम धेरै अर्थमा ऐतिहासिक, अभूतपूर्व र

वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ

इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण : अमेरिका-इरान युद्धविराम संकटमा

जेरुसेलम – इजरायलले लेबनानमा भीषण हवाई आक्रमण गरेपछि अमेरिका र