सीमा विवाद समाधानका लागि जुट्यो सहमति | Khabarhub Khabarhub

सीमा विवाद समाधानका लागि जुट्यो सहमति


२८ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ- म्याग्दी र मुस्ताङ जिल्लाको सीमा विवाद समाधानका लागि सरोकारवालाबीच सहमति जुटेको छ ।

मुस्ताङको थासाङ गाउँपालिका–४ पहिरोथाप्लामा शनिबार दुई जिल्लाका सरोकारवालाको बृहत् छलफलमा नापी प्राविधिकको सहयोगमा विवादित ठाउँको सीमा पहिचान गर्ने र उनीहरुले निर्धारण गरेको सिमाना दुवै पक्षलाई मान्य हुने सहमति जुटेको हो ।

म्याग्दी र मुस्ताङस्थित जिल्ला समन्वय समितिको अगुवाइमा भएको छलफलमा दुवै जिससका पदाधिकारी, सिमानामा पर्ने अन्नपूर्ण र थासाङ गाउँपालिकाका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा अधिकारी र स्थानीय अगुवाको उपस्थिति थियो ।

मुस्ताङको थासाङ गाउँपालिका–४ र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको सिमानामा पर्ने बादरजुङ र कालीबराह क्षेत्रको भूगोल दुवै जिल्लाका बासिन्दाले दावी गरेपछि विवाद चुलिएको थियो ।

जिसस म्याग्दीका प्रमुख देवेन्द्र केसीले नापी विभागका प्राविधिक ल्याएर सिमाना पहिचान गरी विवाद समाधान गर्न दुई जिल्लाको तीन/तीन प्रतिनिधि सदस्य रहेको समिति गठन भएको जानकारी दिए ।

‘समितिलाई नापी विभागसँग समन्वय गरेर प्राविधिक टोली ल्याई जिपिएसको माध्यमबाट बादरजुङ भिरको सिमाना पहिचान गर्न जिम्मेवारी दिने निर्णय भएको छ’, उनले भने, ‘नापी विभागका प्राविधिकले स्थलगत अध्ययन गरेर पहिचान गर्ने सिमानालाई दुवै जिल्लाका बासिन्दा स्वीकार गर्न सहमत भएका छन् ।’

समितिमा अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन सुवेदी, थासाङका प्रमुख प्रशासकीय अधिकृत सन्तोष क्षेत्री, दानाका वडाध्यक्ष नरसिंह पुर्जा, घाँसाका वडाध्यक्ष विशाल गौचनका साथै म्याग्दी र मुस्ताङका नापी अधिकृत रहेका छन् ।

दाना र घाँसाका वडाध्यक्षले सिमानाका विषयमा प्रस्तुत गरेको दावी, तथ्य, नक्सा र प्रमाण बाझिएपछि नापी विभागको प्राविधिक टोलीको सहयोग लिने निर्णय भएको हो ।

सीमानामा प्रवेशद्वार निर्माण, वन र जडीबुटी प्रयोग गर्ने क्रममा म्याग्दीको दाना र मुस्ताङको घासाका बासिन्दाबीच सीमा विवादले सामाजिक द्वन्द्व बढाएको थियो ।

मुस्ताङका जिसस प्रमुख छिरिङ ल्यामो गुरुङले सिमानामा प्रवेशद्वार बनाउन रु ५० लाख विनियोजन गरे पनि विवादका कारण कार्यान्वयन हुन नसकेको बताए ।

‘गत वर्षको पुस २३ गते दुई जिल्लाका सरोकारवालाबीच भएको छलफलबाट विवाद समाधानका लागि भएको निर्णय कार्यान्वयन हुनसकेको थिएन’, उनले भने, ‘कोरोनाको जोखिम र लकडाउनका कारण प्रभावित भएको सीमा विवाद समाधानका लागि पुनः छलफल गरेर सहमति जुटाएका हौँ ।’

थासाङ गाउँपालिकाका अध्यक्ष बुद्धिप्रसाद शेरचन र अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले प्राविधिक अध्ययन प्रतिवेदनको आधारमा विवाद समाधान गर्न प्रस्ताव गरेका थिए ।

म्याग्दीका प्रजिअ उमाकान्त अधिकारी र मुस्ताङका प्रजिअ हीरादेवी पौडेलले तथ्य, प्रमाण र छलफलको माध्यमबाट सिमानाको विवाद समाधान गर्न सुझाव दिए ।

सीमा क्षेत्रको जङ्गलमा चरिचरन, जडीबुटी सङ्कलन र वनको उपभोग गर्ने विषयमा सीमा विवाद हुँदा दाना र घासा तथा लेतका बासिन्दाबीच विवाद भएको दानाका बासिन्दा गङ्गा पुनले बताए ।

कालीगण्डकीको तीरबाट धवलागिरि हिमालको फेदीसम्म म्याग्दी र मुस्ताङको सिमाना जोडिएको छ । अहिले मुस्ताङको घासा लेतेका बासिन्दाले बादरजुङ भिरको झोलुङ्गेपुल यताको तुरतुरे धारा सिमाना भएको दावी गर्दै आएका छन् । म्याग्दीको दानाका बासिन्दाले पुलबाट मुस्ताङतर्फ रहेको खोल्सालाई सीमाना भएको दावी गर्दै आएका छन् ।

यसअघि विसं २०६६ तिर सिमानामा स्वागत बोर्ड राख्न आएका मुस्ताङका बासिन्दा र दानाका स्थानीयबीच झडपको स्थिति आएको थियो । विवाद र झडपको अवस्था आएपछि उनीहरु बोर्ड नराखी फर्किएका थिए । यसैगरी कालीबराहको चरन क्षेत्रको सीमा विवाद सुल्झाउन रघुगङ्गा, थासाङ र अन्नपूर्ण गाउँपालिकाबीच त्रिपक्षीय छलफलको तयारी भएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ११ : १५ बजे

ठगी गरेको अभियोगमा महिला पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु

भल पसेपछि काठमाडौं जिल्ला अदालतको सेवा प्रभावित

काठमाडौं – मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइप फुटेर बबरमहल क्षेत्र

अदालतबाट दोषी ठहर भए पनि फरार रहेका १५३ जना पक्राउ

पोखरा – कास्की प्रहरीले अदालतबाट दोषी ठहर भई फरार रहेका

६७ सामुदायिक वनमा पर्यापर्यटन

गण्डकी – गण्डकी प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयले यहाँका

विद्यार्थीलाई तातो पन्युले डाम्ने शिक्षिकालाई ५ दिन हिरासतमा राख्न अनुमति

तनहुँ – भिमाद नगरपालिका–६ शान्तिनगरस्थित प्रभात एकेडेमी बोर्डिङ स्कूलका शिक्षिकाको