नेपाली क्रिकेटका लागि सुखद् संकेत | Khabarhub Khabarhub

नेपाली क्रिकेटका लागि सुखद् संकेत



काठमाडौँ- नेपाली क्रिकेटका लागि बुधबार राति निकै सुखद् रह्यो ।

खुसीको कारण अरु केही होइन, तीन क्रिकेटर टी-१० लिगमा अनुबन्ध हुनु हो । दुवइमा आगामी जनवरी २८ देखि फेब्रुअरी ६ सम्म चल्ने लिगमा नेपालका तीन अलराण्डर छनोट भए ।

सोमपाल कामी, करण केसी र कुशल मल्ल टी-१० का विभिन्न तीन टोलीमा अनुबन्ध भए । झण्डै १ वर्षदेखि कोरोना कहरमा परेको खेलकुदलाई बुधबार बेलुकीको समाचारले भने केही क्षण नै सही अधिकांशलाई भुलाइ दिएको छ ।

यसले नेपाली क्रिकेटका समर्थकमा नयाँ आशा थपिदिएको छ । सधै राजनीति र कोरोनाले पारेको असरका नराम्रा समाचार एकै छिनका लागि भए पनि कम भए । सामाजिक सञ्जालमा क्रिकेटरलाई बधाई दिनेको ओइरो  लाग्यो ।

अधिकांश क्रिकेट समर्थकले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आजको राति सायद निन्द्रा नै लाग्दैन !’

सोमपाल, करण र कुशल नेपाली क्रिकेटका तीन स्तम्भ हुन् । जसले आगामी दिनमा नेपाली क्रिकेटलाई नयाँ उचाईमा पुर्‍याउने  सपना क्रिकेट समर्थकले देखेका छन् ।

तस्वीर : ईएसपीएन क्रिक इन्फो

मनिस एस नाम गरेका ट्वीटर प्रयोगकर्ता लेख्छन्- ‘गुडनाइट गाइज, २०२० को यो सबैभन्दा उत्कृष्ट रात हुनेछ, नेपाली क्रिकेटका लागि खुसी ।’

सोमपाल कामीलाई मराठा अरेबियन्सले आफ्नो टोलीमा अनुबन्ध गर्दा करण केसीलाई पुने डेभिल्सले आफ्नो टिममा लिन सफल भयो । अर्का युवा स्टार कुशल मल्ललाई टिम अबुधाबीले आफ्नो टिममा लियो । नेपालबाट १० जनाभन्दा बढी खेलाडीले नाम पठाएकोमा  तीन जना छनोट भएका छन् ।

सन्दीप लामिछानेले ग्लोवल स्टारको पहिचान बनाइरहँदा अन्य खेलाडी पनि विदेशी टिमको नजरमा पर्न थालेका छन् ।

टी-१० लिगमा नेपालका खेलाडी परेपछि खबरहबसँग पूर्व कप्तान खड्काले खुसी साटेका छन् । उनले भने, ‘टी-१० लिगमा खेलाडी छनोट हुनु भनेको हाम्रो लागि खुसीको कुरा हो । तीन खेलाडी आउनु अझ धेरै राम्रो कुरा हो । तीनै जना फरक–फरक टिममा छन् ।’

खड्काले बुधबार छनौटमा परेका खेलाडीलाई आगामी यात्राको अग्रिम बधाई पनि दिएका छन् ।

‘तीन जना एकैसाथ फ्रेन्चाईजमा अनुबन्ध हुनुले नेपाली क्रिकेटको भ्यालु बढिरहेको अनुमान गर्न सकिन्छ,’ खबरहबसँगको कुराकानीमा खड्काले भने, ‘अब बाँकी सबैकुरा व्यक्तिगत प्रदर्शनमा आधारित रहने छ । खेलाडीले जिउ, ज्यान लगाउने नै छन् ।’

सोमपाल र करणले पछिल्लो ५ वर्षयता विभिन्न प्रतियोगितामा नेपालका लागि महत्वपूर्ण योगदान दिएको  खड्काले स्मरण गरे ।

तस्वीर : ईएसपीएन क्रिक इन्फो

यस्तै, सन्दीप लामिछानेले बुधबार राति नै अस्ट्रेलियाबाट तीनै जना खेलाडीको फोटो राख्दै बधाई दिएका छन् ।

उनले लेखेका छन्, ‘टी–१० लिगबाट राम्रो समाचार आयो । यो वर्षको टी–१० लिगमा हाम्रो नेपालका तीन जना छनोट भएका छन् । छनोट भएका तीनै जनालाई बधाई । तिमीहरुलाई छनोट भएको देखेर खुसी लागेको छ । मेहनतको फल अवश्य पाइन्छ,  तिमीहरुप्रति गर्व छ।’

टी–१० लिगमा यसअघि नेपालका पूर्वकप्तान खड्का र स्पिनर सन्दीप लामिछानेले खेलिसकेका छन् । यस पटक भने लामिछाने अस्ट्रेलियाको बिग बास लिग (बीबीएल)मा व्यस्त छन् ।

टी–१० मा उनीहरुको प्रदर्शन र नेपाली क्रिकेटले एसोसियट तर्फ आफूलाई अब्बल बनाइरहँदा नेपाली क्रिकेटरले यो स्तरको प्रतियोगितामा बलियो पकड बनाउन सकेका हुन् ।

पहिले पहिले नेपाली खेलाडी कुनै विदेशी लिगमा अनुबन्ध हुन कठिन थियो । तर, पछिल्लो समय नेपालका खेलाडीहरुका लागि अन्तर्राष्ट्रिय लिग सहज बन्दै गएको छ । जसलाई बुधबार राति एकसात तीन खेलाडी टी-१० मा अनुबन्ध हुनुले पनि प्रष्ट्याउँछ ।

नेपाली क्रिकेटलाई उचाईमा पुर्‍याउन अब नयाँ पुस्तालाई एक्पोज गर्न जरूरी रहेको पूर्वकप्तान खड्काले बताए ।

‘भविष्यमा नेपाली टिमका लागि राम्रो गर्नु पर्छ । देशका लागि राम्रो गर्दैजाँदा फ्रेन्चाईज लिगमा नोटिस हुने हो । त्यहाँ अवसर पाउनेले राम्रो खेल्ने हो त्यो कौशलले आफ्नो टिमका लागि पनि योगदान गर्छ/गर्नुपर्छ,’  खड्काले भने ।

प्रकाशित मिति : ९ पुस २०७७, बिहीबार  ७ : ११ बजे

घटस्थापनादेखि असोज २२ सम्म सार्वजनिक यातायातलाई रुट परमिट खुला

काठमाडौं – घटस्थापनादेखि असोज २२ गतेसम्म सार्वजनिक सवारीसाधनलाई नेपालभर लागू

आजका समाचार : अन्तरिम सरकारमा ११ जनामात्रै मन्त्री, दलहरू पार्टी भवन बनाउने योजनामा र गाजामा इजरायली सेनाको व्यापक आक्रमण

कार्की सरकारमा ११ जनामात्रै मन्त्री हुनेअन्तरिम सरकारी प्रधानमन्त्री सुशीला कार्कीले

लुटिएका सामग्री फिर्ता नगरे कानुनी कारबाही गरिने

गण्डकी – ‘जेन-जी’ आन्दोलनका क्रममा पोखरा महानगरपालिका र मातहतका कार्यालयबाट

वीरगञ्ज महानगरमा एक अर्बभन्दा बढीको क्षति

वीरगञ्ज– जेन-जी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीले वीरगञ्ज महानगरको

जेन-जी आन्दोलनमा भएको घटनाको छानबिन हुनुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर–कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जेनजी आन्दोलनमा भएको घटनाको