सन्दर्भ विश्व ब्रेल दिवस : स्वास्थ्य सचेतनासहित ब्रेल सामग्री वितरण « Khabarhub

सन्दर्भ विश्व ब्रेल दिवस : स्वास्थ्य सचेतनासहित ब्रेल सामग्री वितरण


२१ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ब्रेल लिपिका आविष्कारक लुइस ब्रेलको २१२औँ जन्मजयन्ती तथा विश्व ब्रेल दिवस २०२१ को अवसरमा कास्कीमा विविध कार्यक्रम आयोजना गरी मनाइएको छ ।

कास्की नेत्रहीन सङ्घको आयोजना एवं हेल्पिङ हेन्ड्सको सहयोगमा स्वस्थ्य चेतनामूलक कार्यक्रमअन्तर्गत मास्क, स्यानिटाइजर तथा ब्रेल सामग्री प्लेट, स्टाइलस, ब्रेल पेपर, दृष्टिविहीनमैत्री क्रिकेट ब्याट र बल तथा लुँडोलगायतका विभिन्न सामग्री वितरण गरिएको हो ।

सो अवसरमा पोखराको अमरसिंह माध्यमिक विद्यालय दृष्टिविहीन शाखा, कुँडहर आधारभूत विद्यालय दृष्टिविहीन शाखा र दीप गार्डेन रेष्टुरेन्टमा छुट्टाछुट्टै स्थानमा भएको कार्यक्रममा १०० न्यून दृष्टि भएका व्यक्ति (दृष्टिविहीन)लाई उक्त सामग्री वितरण गरिएको नेत्रहीन सङ्घ कास्कीका अध्यक्ष श्रीकान्त सापकोटाले जानकारी दिए ।

सङ्घले ब्रेलको व्यापक विकास र दृष्टिविहीनहरुको मातृलिपिका रूपमा रहेको ब्रेलको मान्यता र प्रयोगमा थप पहल गर्नुपर्ने कुरा औँल्याउँदै उनले ६० वर्षमाथिका दृष्टिविहीनका लागि घरमै सेतो छडी पुर्याउने विश्वास व्यक्त गरे ।

सीमित स्रोतसाधनका बाबजुद पनि तीनै तहका सरकार, विभिन्न सङ्घसंस्था एवं व्यक्तिको समन्वयका कारण अन्धकारमा रुमलिएका दृष्टिविहीनको केही हदसम्म भए पनि हकहित र अधिकारको संरक्षणमा सङ्घले महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गर्दै अध्यक्ष सापकोटाले विद्यालय तहका दृष्टिविहीन विद्यार्थीलाई ब्रेल पाठ्यपुस्तकबाट वञ्चित हुन नदिने पहल भइरहेको बताए ।

राष्ट्रिय अपाङ्ग महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष खुमराज शर्माले दृष्टिविहीनको विचार अभिव्यक्ति र स्वतन्त्रताको प्रतीक ब्रेललिपि र दृष्टिविहीनमैत्री प्रविधि विकासमा दिलोज्यान दिएर लाग्ने बताए । पोखरा महानगरपालिका–१९ का वडाध्यक्ष शोभामोहन पौडेलले दृष्टिविहीनलाई स्वास्थ्य सामग्री वितरण गर्दै महानगर र कास्की नेत्रहीन सङ्घको समन्वयमा वर्तमानमा देखिएका समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान आकस्मिक विभागका इन्चार्ज डा अङ्गना पराजुली र मेडिकल अफिसर सुदेसना अधिकारीले दृष्टिविहीनका लागि मास्क लगाउने तथा हात धुने तरिका र कोभिडबाट बच्ने उपायका बारेमा प्रयोगात्मकरूपमा सहजीकरण गर्नुभएको थियो ।

कास्की नेत्रहीन सङ्घका सहसचिव सुनीता ज्ञवाली, श्रवण दृष्टिविहीन पुष्पराज रिमाल, हेल्पिङ हेन्ड्सका अध्यक्ष दिनेशकुमार थापा, राष्ट्रिय अपाङ्ग महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष तथा नेपाल नेत्रहीन सङ्घका केन्द्रीय सचिवालय सदस्य खुमराज शर्मालगायतले ब्रेललिपिको आवश्यकता र सान्दर्भिकता एवं कोभिड महामारीमा दृष्टिविहीनका स्वास्थ्य चुनौतीबारे प्रकाश पारे ।

सन् १८०९ जनवरी ४ मा फ्रान्सको कुप्रवेमा दृष्टियुक्त जन्मिई तीन वर्षमा दृष्टिशक्ति गुमाएका लुइस ब्रेलले ब्रेललिपिको आविष्कार गरेका थिए भने नेपालमा स्व जङ्गबहादुर बोगटीले विसं २०१८ मा नेपालमा ब्रेल भित्र्याएको पाइन्छ ।

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  ९ : ५५ बजे

कङ्गोमा इबोला सङ्क्रमण तिव्र

एजेन्सी– लोकतान्त्रिक गणतन्त्र कङ्गोमा हाल इबोला सङ्क्रमण तिव्र भएको जनाइएको

राष्ट्रियसभामा बाढीपहिरोले अवरुद्ध राजमार्ग सञ्चालन गर्न सरकारसँग माग

काठमाडौं- राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले मनसुनका कारण बाढीपहिरोबाट अवरुद्ध

शिक्षक महासङ्घको काठमाडौं जिल्ला समिति विस्तार

काठमाडौं– नेपाल शिक्षक महासङ्घले पहिलो पटक जिल्ला समिति काठमाडौं गठन

सरकारका १०० दिन : भूमि व्यवस्था मन्त्रालयका यस्ता छन् उपलब्धि

काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

राष्ट्रियसभाको बैठक : चार महत्त्वपूर्ण विधेयकमाथि छलफल हुने

 काठमाडौं – सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको आजको बैठक सुरु भएको छ। आजको बैठकमा