बिहे गराउँदै चीनतिर युवती तस्करी | Khabarhub Khabarhub

बिहे गराउँदै चीनतिर युवती तस्करी



काठमाडौँ– काठमाडौँ, बबरमहलकी २३ वर्षीया रस्मितालाई चिनियाँ भाषा बोल्न जानेका काभ्रेका रोशी गाउँपालिकाका किरण तामाङले ‘बिहे र रोजगारी’ को लोभ देखाएर २०७६ पुस २५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै चीनको सान्दोङ प्रान्तस्थित हेज शहरमा पुर्‍याए ।

प्रहरीका अनुसार किरण आफैँ गएर चिनियाँ नागरिक ताम्पु थोङको जिम्मा लगाएर नेपाल फर्किए । युवतीमाथि ती चिनियाँ नागरिकले यौनशोषण गरेर आफ्नो घरमा बन्धक बनाएर राखे । त्यसपछि रस्मितलाई लाग्यो, ‘म त बेचिएछु ।’

सामान्य पढलेख गर्न सक्ने ती युवतीले आफू पीडित बनेको कुरा सामाजिक सञ्जालमार्फत परिवारलाई जानकारी गराइन् । उनी बेचिएको खबर पाएपछि चीनस्थित नेपाली दूतावास र प्रहरीको समन्वयमा २०७७ कात्तिक १२ गते नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले उनको उद्धार गर्‍यो ।

लगत्तै तस्करीमा संलग्न किरणको खोजीमा जुटेको ब्यूरोको टोलीले यही पुस १३ गते उनलाई पक्राउ गर्‍यो ।

ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) शारदाप्रसाद चौधरीका अनुसार किरणले ‘चिनियाँ पुरुषले नेपाली युवतीसँग बिहे गर्न चाहेको’ लोभ देखाएर ती युवतीलाई चीन पुर्‍याएको प्रहरी समक्ष स्वीकारेका छन् ।

एसपी चौधरी भन्छन्, ‘पीडित युवतीको उजुरीका आधारमा हामीले घटनाको दोषी पक्राउ गर्न सफल भएका छौँ । अभियुक्तले घटना स्वीकारेका छन् ।’

यो घटना त नेपाली युवतीलाई बिहेको प्रलोभनमा पारेर चीनतर्फ तस्करी गर्ने गरेको पछिल्लो उदाहारण मात्र हो । एसपी चौधरीका अनुसार चिनियाँ नागरिकसँग बिहे गराउने लोभ देखाएर नेपाली युवतीको चीनतर्फ तस्करी हुने क्रम शृङ्खलाबद्ध रूपमा देखिएको छ ।

पछिल्लो ५ वर्षका केही उदाहारण

२०७१ माघ २० गते चीनको सान्तोङ प्रान्तको युन्छन काउन्टीमा बिहे गरेर पुगेकी काभ्रेकी २१ वर्षीया सन्तोषी (नाम परिवर्तन) लाई २०७२ असारमा नेपाली दूतावासले उद्धार गरेर काठमाडौँ पठायो ।

सन्तोषीलाई सान्तोङका २५ वर्षीय वु फुसिङले बिहे गरी काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा बिहे दर्ता समेत गरेर चीन पुर्‍याएएका थिए । चीन पुगेपछि उनले बन्दी जीवन बिताउनुपरेको थियो ।

२०७१ भदौ १८ गते सिन्धुपाल्चोककी भुजुना (नाम परिवर्तन) चीनको हबेई प्रान्तमा रहेका यिन स्याउपोसँग बिहे गरेर चीन पुगेकी थिइन् । त्यहाँ उनी नारकीय जीवन बाँच्न वाध्य हुनुपर्‍यो । उनका श्रीमान् र चिनियाँ परिवार उदण्ड स्वभावका थिए । सुनितालाई भेट गर्न गएका दुई नेपाली चेलीलाई पनि सुनिताका चिनीयाँ परिवारले मरणासन्न हुनेगरी कुटे ।

२०७२ साउन १६ गते बिहे गरेर चीनको हैलुङचाङ प्रान्तमा पुगेकी धरानकी २२ वर्षीया सङ्गीतालाई उनका चिनियाँ श्रीमानले शारीरिक र मानसिक शोषण गरे । उनलाई सासु र लोग्नले दैनिक पिट्थे ।

सङ्गीतासँगै बिहे गरेर पुगेका अन्य चार नेपाली महिला गर्भवती भएका थिए । सङ्गीता गर्भवती नभएपछि उनका लोग्ने र सासुले उनीमाथि हिंसा सुरु गरेका थिए । बारम्बारको पिटाइ सहन नसकेर घरबाट भागेकी उनलाई नेपाली दूतावासले उद्धार गरेर नेपाल पठायो ।

२०७६ भदौमा प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले नेपाली युवतीलाई बिहेको प्रलोभनमा चीनतिर तस्करी गर्ने गिरोहका १० सदस्यलाई पक्राउ गरेको थियो । ब्युरोले चार जना पीडित महिलाको उद्धार गरेसँगै ६ नेपाली र चार चिनियाँ नागरिक गरी १० जनालाई पक्राउ गरेको थियो ।

यी केही प्रतिनिधि घटना हुन् । नेपाल प्रहरीका अनुसार गएको पाँच वर्षमा नक्कली बिहेमार्फत मानव बेचबिखनका ४६ वटा घटनामा मुद्दा चलाइएको छ । त्यसमध्ये अधिकांश चीनका घटना छन् । केही घटना कोरियाका छन् ।

तर, यस्ता अधिकांश घटना मुद्दाको तहसम्म नपुग्ने प्रहरी अधिकारीहरू बताउँछन् । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार चालु आर्थिक वर्षमा दुई वटा घटना बाहिर आएका छन् । जानकारहरूका अनुसार बिहे, रोजगारीलगायत आकर्षक प्रलोभन देखाएर नेपाली युवतीलाई चीनतर्फ तस्करी गर्ने क्रम बढेको छ ।

यस कारण हुन्छ चीनमा युवती तस्करी

जानकारहरूका अनुसार एक अर्ब ४० करोड जनसंख्या भएको चीनमा महिलाको तुलनामा पुरुषको संख्या धेरै भएकाले कतिपय स्थानमा बिहेका लागि केटाले केटी पाउन मुश्किल छ ।

मानव तस्करीसम्बन्धी अनुसन्धान गरिरहेका मानव बेचबिखन अनुसन्धान ब्यूरोका एसपी चौधरीका अनुसार चिनियाँ प्रचलनअनुसार बिहे गर्दा बेहुला पक्षबाट बेहुलीलाई धेरै पैसा र धनसम्पत्ति दिनुपर्ने भएकाले पनि आयस्रोत कम भएका व्यक्तिले बिहे गर्न सक्दैनन् ।

यसरी चीनमा बिहे गर्न समस्यामा पर्नेहरू युवतीको खोजीमा नेपाल, भियतनाम, बङ्गलादेश, पाकिस्तान, म्यान्मार, कम्बोडियालगायत मुलुकमा पुग्छन् । त्यहाँ उनीहरूले म्यारिज ब्यूरो तथा स्थानीय दलाललाई सम्पर्क गर्छन् र केही श्रीमती किनेर चीन लैजान्छन् ।

त्यसरी पुगेका श्रीमतीलाई त्यहाँको संस्कारमा मिल्न कठिन हुन्छ । काम गर्ने सिप हुँदैन । अझ बच्चा जन्माउन असमर्थ भए भने त चरम यातना भोग्नुपर्छ ।

१५ लाख सम्ममा मोलमोलाई

नेपाल प्रहरीको विशेष ब्यूरोको कमाण्ड समालिसकेका पूर्वडीआइजी हेमन्त मल्लका अनुसार नेपालमा दलालले १० देखि १५ लाख रुपियाँसम्म लिएर चिनियाँ नागरिकलाई नेपाली युवती र महिला भिडाउने गर्छन् ।

मल्ल भन्छन्, ‘चिनियाँ नागरिकले नेपाली युवती तथा महिलालाई चीनको भिसा लगाउनमात्र बिहे दर्ता गर्ने र त्यहाँ पुगेपछि छिटै लाखौँ रुपियाँ कमाउन पाइनेलगायत प्रलोभन देखाउँदै चीन लैजाने गर्छन् ।’

प्रहरीका अनुसार दुलही बनाएर युवती ओसारपसार गर्न सुरक्षित र सजिलो हुने भएकाले मानव तस्करहरूले यस्तो नयाँ शैली अपनाएका हुन् ।

मानव बेचबिखन अनुसन्धान ब्यूरोका एसपी चौधरी भन्छन्, ‘हामीले उद्धार गरेका युवती तथा महिलाहरूको भनाइ अनुसन्धान गर्दा नेपालबाट दुलही बनाएर चीन लगिएका अधिकांश युवतीलाई त्यहाँ देह व्यापारमा लगाउने गरेको देखिएको छ ।’

यसरी बिहे चीन लगिएका युवतीलाई देह व्यापारका लागि होटल तथा रेस्टुरेन्ट र यौन अखडामा काम गर्न लगाएर पुरुष फरार हुने गरेका छन् ।

एसपी चौधरीका अनुसार नेपाली र चिनियाँ दलालहरूले नेपालका विभिन्न गाउँदेखि चीनसम्म आफ्नो सञ्जाल फैलाई सङ्गठित रूपमा पैसाको लेनदेनमा बिहे गराउने गरेको देखिएको छ । प्रहरीले मानव तस्करीमा संलग्नलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अनुसार कारबाही प्रक्रिया अघि बढाउने गरेको छ ।

(समाचारमा पीडितको वास्तविक नाम परिवर्तन गरिएको छ ।)

प्रकाशित मिति : २३ पुस २०७७, बिहीबार  १२ : ५५ बजे

हङकङ सिक्सेस: नेपालले अफगानिस्तानसँग खेल्दै

काठमाडौं – हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले शुक्रबार अफगानिस्तानसँग प्रतिस्पर्धा

पथरी शनिश्चरे गोल्डकपः पथरी–११ र सलहेस फाइनलमा

पथरी – अन्तरराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२ उपाधिका

एनसेल र मेटलाइफ नेपालको साझेदारीमा ‘डाटासँगै जीवन बिमा’ सेवा

काठमाडौँ- एनसेल अजिरा लिमिटेड र मेटलाइफ नेपालबीचको सहकार्यमा नेपाली ग्राहकहरूका

प्रमाणसहित उजुरी दर्ता गर्न सहकारीका बचतकर्तालाई प्रहरीको आग्रह

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–९ नयाँबजारमा सञ्चालित पोखरा

ललितकला प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि अन्तरराष्ट्रिय कला प्रदर्शनी

काठमाडौं – काठमाडौंमा आउँदो आइतबारदेखि पाँच दिने अन्तरराष्ट्रिय कला प्रदर्शनी