राष्ट्रिय टोलीको बन्द प्रशिक्षणबाट बाहिरिएका पौडेल भन्छन्– अनुभव लिएर फर्किए « Khabarhub

राष्ट्रिय टोलीको बन्द प्रशिक्षणबाट बाहिरिएका पौडेल भन्छन्– अनुभव लिएर फर्किए



काठमाडौँ– गएको शुक्रबार राष्ट्रिय फूटबल टोलीको बन्द प्रशिक्षणबाट १४ जना खेलाडीलाई कार्यबाहक मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले बिदा गरे । जसमा चोटका कारण टिमबाहिर रहेका विमल घर्ती मगर, विक्रम लामा र सुमन अर्यालसहित केही युवा खेलाडी थिए ।

त्यहीँ १४ जनाको घर फर्किने सूचीमा नाम रहेका युवा खेलाडी हुन्, रणदीप पौडेल । बन्द प्रशिक्षणबाट घर फर्किँदा पक्कै पनि खेलाडीहरुको मन अमिलो हुन्छ । तर, १९ वर्षीय पौडेलले आफ्नो मन कमजोर बनाएनन् । उनले आफुले अझै धेरै मेहनत गर्न सक्ने आत्मविश्वासका साथ टिम छाडे ।

गत वर्ष फागुनमा सम्पन्न शहीद स्मारक ए डिभिजन लिगमा उनले गरेको प्रर्दशनकै आधारमा उनी टोलीमा परेका थिए । उनले ब्रिगेड ब्वाइज क्लबको रक्षापङ्ती सम्हालेका थिए ।

लिगमा उनको खेल हेर्ने जो कोही पनि उनको खेलको प्रशंसा गर्थे । उमेर समूहदेखि नै लेफ्ट डिफेन्समा जमिरहेका उनका लागि त्यो पोजिनमा राष्ट्रिय टोलीमा स्थान बनाउन भने निकै मेहनत गर्नु पर्ने उनले महसुस गरेका छन् ।

‘क्याम्पबाट बाहिरनु पर्दा मलाई दुःखी हुनु पर्ने कुनै कारण थिएन । सबैले तिमीले अझै राम्रो गर्न सक्छौं भन्दै शान्त्वना दिनु भएको थियो । त्यसमाथि म सानै उमेरमा क्याम्पमा परेको थिए,’ उनले भने ।

फिफा विश्वकप २०२२ तथा एएफसी कप २०२३ को संयुक्त छनोटका लागि प्रशिक्षक महर्जनले ५८ जना खेलाडी क्याम्पमा बोलाएका थिए । त्यसमा अटाएका रणदीप र विशाल सुनार सबैभन्दा कान्छा खेलाडी हुन् । यी दुई जना क्याम्पमा सबैभन्दा जुनियर खेलाडी हुन् ।

तर, यिनीहरुको खेल कौशलले गर्दा प्रशिक्षक महर्जनले उनीहरुलाई क्याम्पमा बोलाए । पौडेल घर फर्किए पनि विशाल भने क्याम्पमै छन् ।

फूटबल प्रतिको मोह

रणदिपको घर पोखरास्थित बगरमा छ । उनी तत्कालिन मनाङ मस्र्याङ्दी क्लबका खेलाडी ईश्वर गुरुङ (चन्द्र) कै टोलमा हुर्किएका हुन् । उनकै खेल हेरेर रणदीपले फूटबल खेल्न सुरु गरे । राष्ट्रिय टोलीका लागि संघर्ष गरिरहेका रणदीप चन्द्रकै खेलबाट प्रभावित भएर फूटबलमा लागेको बताउँछन् ।

आफ्नो उमेरको १०–११ वर्षदेखि फूटबल खेल्न थालेका उनलाई पछि तिनै ईश्वरले प्रशिक्षण दिए । उनकै छत्रछायाँमा प्रशिक्षण लिएका उनी पोखराबाट २०१६ सालमा नेपालले ताजकिस्तानमा खेलेको यु–१४ एएफसी च्याम्पियनसिपका लागि छनोट भएका थिए।

त्यो नै उनको पहिलो विदेश टुर हो । त्यसपछिका यी चार वर्षमा उनले यु–२१ सम्मका खेलहरु खेलिसकेको छन् । जसमा उनी आफुलाई अब्बल सावित गर्दै आएका छन् ।

‘रणदीप आफ्नो पोजिसनमा राम्रो खेल्ने खेलाडी हुन् । उनले नेपाली टोलीमा स्थान बनाए त्यहाँ पनि राम्रो गर्न सक्छन् । उनले टेक्निकल गेम खेल्छन्,’ उनलाई यु–२१ टोलीमा प्रशिक्षण गराएका प्रशिक्षक चेतनारायण श्रेष्ठ भन्छन्, ‘विपक्षी टोलीको खेल रणनीति बुझेर त्यसलाई रोक्ने रणनीति बुन्न सक्छन् उनी त्यो नै उनको प्लस पोइन्ट हो ।’

फूटबलकै कारण कति पटक उनले घरमा आमा बुबाको गाली पनि सहेका छन् । सानो उमेरमा परिवारले किताब पढ् भन्थे । तर, उनले किताबमा भन्दा फूटबलमा मन लगाउँथे । जसले उनलाई फूटबलर बन्ने सपना देखायो । विद्यालयमा औषत विद्यार्थी उनी फूटबलमा भने छोटो समयमा राम्रो सम्भावना देखाएका छन् ।

‘सानोमा हुँदा खेल्नभन्दा किताबमा ध्यान दे भन्नु हुन्थ्यो । तर, अहिले फुबटलमै राम्रो गर्न भन्नुहुन्छ घरबाट,’ मुसुक्क हाँस्दै उनले भने, ‘अबको लक्ष्य त फूटबल नै हो । त्यो पनि देशको जर्सी लगाएर मैदान उत्रिने रहर छ ।’

अनुभव गर्न पाए
राष्ट्रिय टोलीसँग ३ हप्ता रहेर बन्द प्रशिक्षण गरेका उनी आफ्नो त्यो समय निकै फलदायी बनेको बताउँछन् । आफुले सिक्न धेरै कुरा बाँकी रहेको महसुस क्याम्पमा बस्दा भएको उनी बताउँछन् ।

‘धेरै कुरा सिक्न बाँकी रहेछ जस्तो महसुस भयो । तर, अहिले छोटो समयका कारण राम्रो गर्न सकेन । तर, अब दोस्रो पटक राष्ट्रिय टोलीमा बोलाइए सुरुवाती ११ मा पर्नेगरि मेहनत गर्छु,’ उनले भने ।

कम उमेरमा पाएको सफलताले उनलाई अझै मेहनत गर्न हौसला दिएको छ । ‘क्याम्पमा हुँदा राम्रो अनुभव भयो ।
सिनियर खेलाडीहरुसँग अभ्यास गर्न पाए । अपेक्षा केही थिएन,’ उनले भने, ‘तर क्याम्पमा बोलायो धेरै खुसी लागेको थियो । अब त्यहाँ स्थान बनाउन अहिलेको भन्दा धेरै मेहनत गर्नुपर्छ ।’

नोबेल कोरोना भाइरस (कोभिड १९) का कारण लामो समय मैदान बाहिर बस्नु पर्दा समस्या भएको उनले बताए । तर, लिग वा अन्य समयकै जसरी सामान्य अवस्थाबाट राष्ट्रिय टिममा परेको भए अहिलेको भन्दा फरक परिस्थिति हुने उनी बताउँछन् ।

‘कोरोनाका कारण घर नबसेर सामान्य अवस्थामा राष्ट्रिय टोलीमा परेको भए अझै राम्रो गर्न सकिनथ्यो कि भन्ने लाग्छ’ उनले भने ।

रणदीपलाई लागेको थियो, सिनियर खेलाडीसँग बोल्दा खेल्दा मैदानमा केही भनि पो हाल्छन् कि, सिनियरले जुनियर भनेर हेप्छन् कि जस्ता विभिन्न तर्कना उनको मनमा आएका थिए । त्यहाँ उनले सोचेको भन्दा राम्रो माहौल बनेको बताउँछन् ।

‘सुरुमा कराउँछन् कि भन्ने डर हुन्थ्यो । तर, त्यहाँ त्यस्तो व्यवहार कसैबाट भएन । सबैबाट माया पाएँ । राम्रो भइरहेको छ भन्दै हौसला दिनु भयो,’ उनले भने, ‘अहिलेका लागि त्यहिँ ठूलो जस्तो लाग्छ । सबैको साथ र माया पाउँदा खुसी छु।’

कक्षा १२ को परीक्षा दिएर बसेका उनी अब आफ्नो करियरका रुपमा फूटबललाई नै रोज्ने बताउँछन् । हास्दै… उनले भने, ‘अब पढाई भन्दा पनि फूटबल नै हो । पहिलो लक्ष्य यु–२३ टीम हो । त्यसपछि सिनियर टिममा पर्नेगरि खेल्छु ।’

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  २ : ०० बजे

निर्वाचन सामग्री धमाधम जिल्लातिर (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन

राष्ट्रियसभाको शून्य समयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभा सदस्यहरूले विदेशमा ज्यान गुमाएका नेपाली, विकास बजेट रोक्का,

झापामा ओलीले भने : ग्यास उत्खनन भइसकेको छ, पाइपबाट घरघरमा पठाउने दिन आउँदैछ

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अपराधिक तत्वहरूले आफूमाथि

नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

काठमाडौं– नेपाल र कतारबीच समग्र आर्थिक विकास, पर्यटन प्रवर्द्धन तथा

पोर्चुगलमा नरमपन्थी सेगुरो निर्वाचित

एजेन्सी– पोर्चुगलको राष्ट्रपतीय निर्वाचनमा केन्द्र–वाम समाजवादी उम्मेद्वार एन्टोनियो जोसे सेगुरो