अस्थिरता होइन, चुनाव रोज्न प्रधानमन्त्रीको आह्वान | Khabarhub Khabarhub

अस्थिरता होइन, चुनाव रोज्न प्रधानमन्त्रीको आह्वान


२३ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री तथा नेकपा (ओली) समूहका अध्यक्ष केपी शर्मा ओलीले चुनाव र अस्थिरतामध्ये एक रोज्नु पर्ने बेला आएको भन्दै चुनाव रोज्न आम जनतालाई आह्वान गरेका छन् ।

पार्टीको बागमती कमिटीद्वारा बिहीबार संघीय राजधानी काठमाडौँमा आयोजित बृहत् जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पाँच वर्षका लागि निर्वाचित प्रधानमन्त्रीलाई बीचैमा हटाउने षड्यन्त्र भएपछि र संसदलाई काम गर्न नसक्ने गरी निकम्मा बनाएपछि निर्वाचन घोषणा गर्नु परेको बताए ।

ओलीले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा उत्तरसँग पारवहन सम्झौता गरेपछि प्रधानमन्त्रीबाट हटाएको र अहिले देशको नयाँ नक्सा प्रकाशित गरेपछि हटाउने षड्यन्त्र भएको बताए ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनविरुद्ध अदालतमा परेको रिटतर्फ संकेत गर्दै संसद विघटन संविधानसम्मत छ कि छैन भनेर जबरजस्ती बहस भइरहेको बताए । उनले प्रश्न गरे, ‘निर्वाचनबाट स्थिरता हुन्छ कि अस्थिरता ?’ उनले स्थिरताका लागि आफू ताजा जनादेशमा जानु परेको जिकिर गरे । ओलीले प्रचण्डर्फत संकेत गर्दै भने, ‘हाम्रा बलले चुनाव जितेर आएर हामीलाई काम गर्न नदिने ! यसको जवाफ चुनावबाट, ताजा जनादेशबाट खोज्नुपर्छ ।’

उनले लिखित संविधान नभएको बेलायतमा प्रधानमन्त्रीले संसद विघटन गरेर निर्वाचन गराएको भन्दै आफ्नो कदमको बचाउ गरे । उनले बेलायतमा प्रधानमन्त्रीले संसद विघटन गर्नु हुन्छ कि हुँदैन भन्ने कतै नलेखिएको जिकिर गरे ।

प्रधानमन्त्री ओलीले सभामा सहभागीलाई सोधे, ‘तपाईंहरू अस्थितरतातर्फ कि चुनावतर्फ ?’ एक स्वरमा ‘चुनावतर्फ’ भन्ने आवाज आयो । यसपछि ओलीले नारा लगाए– अस्थिरता होइन : चुनावतर्फ जाऔँ, चुनाव चाहियो चुनाव चाहियो, जनता के भन्छ : चुनाव चाहियो ।

सर्वोच्च अदालतमा परेको रिट र निर्वाचन आयोगमा रहेको दलसम्बन्धी विवादतर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले संवैधानिक निकायहरूले विवेकसम्मत निर्णय गर्ने विश्वास प्रकट गरे । उनले अब कसको सरकार भन्ने कुरा जनताले नै फैसला गर्ने बताए ।

प्रधानमन्त्री ओलीले नेपालको लोकतन्त्र सुदृढ रहेको बताए । उनले भने, ‘अब लोकतन्त्र कसैले खोस्न सक्दैन, कसैले मास्न सक्दैन, लोकतन्त्र सुदृढ छ, लोकतन्त्रतर्फ कर्के आँखा नलगाए हुन्छ, अब देश अघि बढ्यो बढ्यो ।’

ओलीको उक्त अभिव्यक्तिको समर्थनमा ‘केपी ओली जिन्दावाद’ भन्दै केही बेर नारा लागेको थियो । यही बीचमा ओलीले पानी पिए । लगत्तै उनले ‘चिसोले गर्दा आँखामा पनि आँसु आयो’ भनेको माइकबाट प्रष्टै सुनिएको थियो ।

ओलीले नेकपाको अर्को घटकका अध्यक्ष पुष्पकमल दाहालले अब ‘शाकाहारी अन्दोलनले हुँदैन’ भनेको प्रति रोष प्रकट गर्दै ‘नरभक्षी’ आन्दोलन गर्न खोजेको आरोप लगाए । उनले चेतावनी दिए, ‘नरभक्षी आन्दोलनका दिन गए, नरभक्षी आन्दोलन चलाउँछु भन्ने नसोचे पनि हुन्छ ।’

ओलीले माओवादीको जनयुद्धका लडाकु, मृतक, घाइते, बेसहारा लगायत सबैको मन जित्ने प्रयास पनि गरे । उनले उनीहरूको सहार, सहयोग र अभिभावकत्वका विषयमा अध्ययन गर्न सरकारले एउटा समिति बनाएको बताए ।

प्रधानमन्त्री ओलीले इतिहासमा कुनै पनि सरकारले आफ्नो सरकारले जति धेरै काम नगरेको बताए । उनले सडक, पक्की पुल, झोलुङ्गे पुल, रेलमार्ग लगायतका कामको फेहरिस्त पनि सुनाए । विद्युतमा आत्मनिर्भर हुन थालेको बताए । उनले कृषिको विकास र रोजगारी सिर्जनामा आफ्नो सरकारले धेरै काम गरेको दाबी गरे ।

प्रधानमन्त्री ओलीले आमसभा सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए । कोभिड–१९ नियन्त्रण र उपचारको काममा संलग्न सबैलाई धन्यवाद दिए । उनले सभाका कारणले ट्राफिक व्यवस्थापन र व्यवसायमा असर परेको भन्दै क्षमा याचना पनि गरे ।

ओलीले काठमाडौँमा इतिहासमै सबैभन्दा ठूलो जनसभा भएको दाबी गर्दै यो पनि कास्टिङमात्रै भएको बताए । उनले अर्को जनसभा गर्नु परे काठमाडौँभरिको हुने र सडकमा सबैतिर माइक राख्ने बताए ।

सत्तापक्षले सडकमा सभा गरेको भनेर भएको आलोचनाप्रति संकेत गर्दै ओलीले दुई चार हजार मान्छे जम्मा गरेर पार्टी यही हो भनेपछि र ओली हेर्न आऊ भनेपछि सडकमा सभा गर्नुपरेको जिकिर गरे ।

सभामा ठूलो संख्यामा नागरिकहरूको सहभागिता थियो । नारायणहिटी दरबार संग्रहालयको मूल गेटको सामुन्ने मन्च बनाइको थियो । सहभागीहरू अंग्रेजी अक्षर ‘टी’ आकारमा मन्चको दायाँ केशरमहल, बायाँतर्फ जयनेपाल हल र आगडितर्फ झण्डै घण्टाघरसम्म सहभागीहरू खचाखच देखिन्थे ।

आयोजकहरुले सभामा दुई लाख मानिसको सहभागिता हुने दाबी गरेका थिए ।

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  ४ : २३ बजे

बाढी-पहिरोबाट तीन दिनभित्र ६६ जनाको मृत्यु, ७९ बेपत्ता, ललितपुरमा हताहत हुने सबैभन्दा धेरै

काठमाडौं- तीन दिनदेखिको अविरल वर्षापछिको बाढी, पहिरो र डुबानमा परेर

प्रधानमन्त्री ओली र लक्जेम्बर्गका प्रधानमन्त्रीबीच भेटवार्ता

अमेरिका – प्रधानमन्त्री केपी शर्मा ओली र लक्जेम्बर्गका प्रधानमन्त्री लुक

अपडेट : झ्याप्ले खोलामा पहिरोले पुरिएका दुई गाडीबाट १४ यात्रुको शव निकायो

धादिङ- पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्ले खोलामा काठमाडौं आउने क्रममा पहिरोले

प्यूठानमा दुई घर भत्किए, सडक सञ्जाल अवरुद्ध

प्यूठान – प्यूठानमा दुई घर भत्किएका छन् । निरन्तरको वर्षाका

अलपत्र परेका पर्यटकहरूको उद्धार गर्न निर्देशन

काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले विगत