जनताको जित | Khabarhub Khabarhub

जनताको जित


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्वोच्च अदालतको संवैधानिक इजलासको सर्वसम्मतिले प्रतिनिधिसभा विघटनको निर्णय बदर गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक थियो भन्ने प्रमाणित गरिदिएको छ । प्रतिनिधिसभा विघटन गर्न प्रधानमन्त्री ओलीले गरेका सबै तर्क सर्वोच्च अदालतले गलत सावित गरिदिएको छ ।

संविधानका प्रावधानहरू मिचेर ‘अन्तर्निहित अधिकार’ का नाममा राज्यशक्तिको दुरुपयोग गरी निरङ्कुशता र तानाशाही थोपर्ने उनको प्रयास तत्कालका लागि अन्त्य भएको छ । प्रतिनिधिसभा विघटनको निर्णय प्रथम दृष्टिमै असंवैधानिक थियो । संविधानका अक्षर पढ्न जान्ने जसले पनि बहुमत

सांसदको समर्थनयुक्त प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्नै सक्दैन भन्न सक्छ । यसैकारण ओलीले ‘अन्तर्राष्ट्रिय अभ्यास’ र ‘अन्तर्निहित अधिकार’ को बैसाखी टेक्न खोजेका थिए । सर्वोच्च अदालतले उनका यी दुवै बैसाखी नक्कली सावित गरिदिएको छ । प्रधानमन्त्री ओलीको निर्णय बदर गरिदिएर सर्वोच्च अदालतले स्वाभाविक मार्गबाट बाहिर धकेलिएको संविधानलाई आफ्नो मार्गमा ल्याइदिएको छ ।

हाम्रो सर्वोच्च अदालतले संविधानमाथि सत्ताको मूढेबल प्रयोग भएका बखत देशलाई दुर्घटनाबाट बचाएका दृष्टान्तहरू छन् । राजाले आफ्नो हातमा सत्ता लिएर प्रत्यक्ष शासन चलाएका बखत शाही घोषणासमेत बदर गर्ने साहस राखेको हो हाम्रो अदालतले । यो लोकतान्त्रिक कालमा सर्वोच्च अदालत प्रधानमन्त्रीले गरेको सत्ताको दुरुपयोग रोक्न हच्किनुपर्ने कारण नै थिएन । सडकबाट दिएका धम्कीबाट इजलास प्रभावित भएन । संवैधानिक इजालासको सर्वसम्मत फैसलाले पनि प्रतिनिधिसभा विघटन प्रथम दृष्टिमै बदरभागी थियो भन्ने प्रमाणित गरेको छ ।

हाम्रो संविधानले प्रतिनिधिसभालाई असफल देखाउन पाउने सुविधा प्रधानमन्त्रीलाई दिएको छैन । आफूले पाएको बहुमतको समर्थन आफ्नो पक्षमा कायम राख्न नसक्नु प्रधानमन्त्रीको असफलता हुन्छ, यसमा प्रतिनिधिसभाको दोष हुँदैन । असफल प्रधानमन्त्री सत्ताबाट हट्नुपर्छ । हाम्रो संविधानको प्रष्ट मार्गनिर्देश यही हो । सर्वोच्च अदालतको फैसलाले यो तथ्य प्रमाणित गरिदिएको छ । मुलुक संवैधानिक संकटबाट जोगिएको छ । निरङ्कुश बनेर एकछत्र शासन गर्ने प्रधानमन्त्रीको अकाङ्क्षामा अङ्कुश लागेको छ ।

प्रतिनिधिसभा पुस्र्थापना गर्ने सर्वोच्च अदालतको यो फैसला जनताको जित हो । संविधान र संवैधानिक सर्वोच्चताको जित हो । जनमतको सम्मान हो । निरङ्कुशताको र संविधानमाथि शासकीय कुठाराघातको हार हो । फेरि एकपटक लोकतन्त्रको जित भएको छ । प्रतिगमन पराजित भएको छ । मुलुकलाई राजनीतिक अन्योल र निर्वाचनका नाममा अनुचित आर्थिक बोझबाट बचाएको छ ।

यसर्थ, फैसला स्वागतयोग्य छ । सर्वोच्च अदालतले फेरि एकपटक लोकतन्त्रमाथि विश्वास गर्ने आमनागरिकको विश्वास जितेको छ । अदालतप्रति नागरिक विश्वास अझ गाढा भएको छ । अदालतको गरिमा उचो भएको छ । शासकहरू आफ्नो मार्गबाट चुके पनि अदालत आफ्नो धर्मबाट कहिल्यै, जति नै कठिन परिस्थितिमा पनि, विचलित हुँदैन भन्ने प्रमाणित भएको छ ।

प्रधानममन्त्री ओली अलिकति पनि नैतिकता बोध गर्छन् भने उनले अविलम्ब राजीनामा गरून् । र, नयाँ सरकार गठनको मार्ग खुला गरून् । सबैभन्दा उत्तम यही हुनेछ ।

प्रष्ट छ, प्रतिनिधिसभा पुनस्र्थापनामात्रै सबै राजनीतिक संकटको समाधान होइन । अब संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक प्रणालीमाथि आस्था राख्ने राजनीतिक दलहरू र नेताहरूले गम्भीरतापूर्वक कदम चाल्नु जरुरी छ । कुनै दलको एकल बहुमत नरहेको अवस्थामा संयुक्त सरकार बन्नु स्वाभाविक प्रक्रिया हो । यसो गर्दा दलहरूबीच खास शर्तहरूमा सहमति हुनु पनि स्वाभाविक हो । गठबन्धन बनाउने नाममा संसदलाई विकृत बन्नबाट जोगाउने जिम्मेवारी राजनीतिक दलहरूकै हो । नेताहरूले नजिकको इतिहासबाट सिकून् ।

पुनर्स्थापित प्रतिनिधिसभालाई आफ्नो कार्यकाल पूरा गर्न दिनु नेताहरूको अर्को ठूलो दायित्व हुनेछ । सरकार गठनका लागि बहुमत पुग्न नदिने खेल भयो भने प्रकारान्तरले ओलीको कदम राजनीतिक रूपमा ठिक ठहर हुनेछ । यस्तो अवस्थाले फेरि पनि संविधान असफलतातिर जानेछ । यस्तो चालबाजी बर्जित हुनुपर्छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ११ : २७ बजे

नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु

अबुजा– नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म १९ बालबालिकाको

डा. रवीन्द्र समीरको ‘पैसाको उडान’  प्रकाशित 

काठमाडौं– लघुकथा विधाका अगुवा डा. रवीन्द्र समीरको १५ औं साहित्यिक

दाङको राजपुरमा आगलागी, २४ घर र १० गोठ जलेर नष्ट 

तुलसीपुर– दाङको राजपुर गाउँपालिका–७ हाडबास गाउँमा आगलागी हुँदा २४ घर

बालबालिकासम्बन्धी ऐन कार्यान्वयन गर्न अदालतद्वारा परमादेश

खजुरा– बाँके र बर्दियाका स्थानीय तहको नाममा बालबालिकासम्बन्धी ऐनलाई कार्यान्वयन

बझाङमा एमाले उम्मेदवार भण्डारीलाई दोब्बर मतको अग्रता

बझाङ– बझाङ प्रदेश सभा १ को जारी मतगणनामा नेकपा एमालेका