जनयुद्ध सकियो, न सरीमायाको आँसु रोकियो न पार्क बन्यो | Khabarhub Khabarhub

जनयुद्ध सकियो, न सरीमायाको आँसु रोकियो न पार्क बन्यो



गोरखा– तत्कालीन नेकपा (माओवादी) ले सशस्त्र युद्ध सुरु गरेको १४ दिनमात्रै भएको थियो । हालको बारपाक सुलिकोट गाउँपालिका–८, जराङस्थित बह्मचारिणी निम्नमाध्यमिक विद्यालयका शिक्षक वीरबहादुर गुरुङलाई प्रहरीले विद्यालयबाटै पक्राउ गर्‍यो ।

आफ्ना हेडसरलाई आँखै अगाडि प्रहरीले समातेपछि विद्यार्थीहरूले एक स्वरमा नारा लगाए, चिच्याए, कोही रोए । उनीहरूले प्रहरीलाई रोक्न खोजे, हेडसरलाई खोसेर आफ्नो घेरामा राख्न खोजे तर केही सिप लागेन ।

अबोध बालबालिकाको चिच्याहट बेवास्ता गर्दै अघि बढेको प्रहरीले हेडसरलाई पक्राउमात्रै गरेन, निर्दोष बालबालिकालाई गोलीसमेत हान्यो । त्यसैको शिकार भए ११ वर्षका दिलबहादुर रम्तेल ।

विद्यालयबाट प्रहरीले हेडसरलाई समातेर लगेपछि नारा लगाउँदै पछ्याउँदै गएका विद्यार्थीहरूको समूहमाथि प्रहरीले गोली चलायो । अर्का विद्यार्थी रामप्रसाद भट्टलाई पनि गोली लाग्यो । धन्य ! उनको ज्यान गएन ।

एघार वर्षका स्कूले बालक दिलबहादुरलाई तत्कालीन माओवादीले जनयुद्धका प्रथम शहीद घोषणा गर्‍यो ।

हत्याको २६ वर्षपछि पनि आज सामाजिक सञ्जालमा तिनै दिलबहादुरका तस्वीर छाएका छन् ।

जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेल ।

माओवादीले जनयुद्ध बिसाएको १५ वर्ष पूरा हुनै लागेको छ । यसबीचमा त्यही माओवादीले आफ्ना नेताको प्रधानमन्त्रीत्वमा तीन पटक सरकार बनायो । माओवादीका कमान्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुई पटक प्रधानमन्त्री भए । गोरखाकै माओवादी नेता बाबुराम भट्टराई पनि प्रधानमन्त्री भए ।

कैयौँ माओवादी नेता मन्त्री भए, उच्च ओहोदामा पुगे । आज त्यही माओवादीका एक जना नेता उपराष्ट्रपति छन् । जनयुद्ध सकियो, नेतालाई राज्यसत्ता प्राप्त भयो तर दिलबहादुरकी ७१ वर्षीया आमा सरीमायाका आँखामा आँसु रोकिएको छैन ।

दिलबहादुरका बाबुआमा वृद्धअवस्थामा छन् । बुबा सेते ७६ वर्षका भए । उनीहरूका एक छोरी र तीन छोरामध्ये दिलबहादुर कान्छा थिए । अहिले जेठा छोरा अलग्गै बस्छन् । माइला कामका सिलसिलामा विदेशमा छन् ।

दिलबहादुरको स्मृतिमा शहीद पार्क निर्माण गर्न जग्गा छुट्याएर डीपीआर तयार गरे पनि निर्माण अलपत्र छ । स्मृति पार्क बनाउने भनेर दिलबहादुरको घर नजिकै नौ रोपनी जग्गा किनेर निर्माण शुरू गरिएको थियो ।

२०७५ फागुन १४ गते प्रचण्डले शहीद स्मृति पार्क तथा गाउँपालिका कार्यालय भवन शिलान्यास गरेका थिए । गाउँपालिकाको भवन एक वर्षअघि नै पूरा भयो, पार्क अलपत्र छ ।

जनयुद्ध शुरू भएको पहिलो वर्षकै फागुन १४ गते दिलबहादुर मारिएपछि हरेक वर्ष फागुन १४ गतेदेखि २१ गतेसम्म माओवादीले शहीद सप्ताह मनाउँदै आएको थियो । जनयुद्ध त्यही फागुनको १ गते शुरू भएको थियो ।

शहीद सप्ताहमा शहीद परिवारका सदस्यहरूसँग भेटघाट लगायतका कार्यक्रम गरी औपचारिकता दिने काम भने कायमै रहेको नेकपा क्रान्तिकारी माओवादीका गोरखाका नेता नारायण अधिकारीले बताए । बारपाक सुलिकोट गाउँपालिकाले दिलबहादुर मारिएको दिनलाई स्थानीय बलिदान दिवस मानेको छ । गाउँपालिकाले आज सार्वजिक विदा दिएको छ ।

बलिदानी दिवसको अवसरमा गाउँपालिकाले सार्वजनिक विदा घोषणा गरेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले बताए । नेकपा प्रचण्ड–नेपाल समूहको गाउँ कमिटीले आजै दिलबहादुरको स्मृति दिवस मनाउँदैछ ।

माओवादी जनयुद्धका क्रममा गोरखाका मात्रै १८८ जनाको मारिएका थिए । अन्य २० जना अझै बेपत्ता छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  १ : ४० बजे

दशरथचन्दका पाँच विद्यालयमा आयुर्वेद शिक्षा

बैतडी– दशरथचन्द नगरपालिकाले आफ्नो कार्यक्षेत्रका पाँचवटा माध्यमिक विद्यालयमा आयुर्वेद शिक्षाको

आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन

काठमाडौं– काठमाडौँ महानगरपालिकाको उपप्रमुख सुनिता डङ्गोलले आफ्नै उत्पादनसँग बजारीकरण र

सगरमाथा संवादको उद्घाटन गर्दै प्रधानमन्त्री ओली : सोल्टी होटेलमा विशेष कार्यक्रम

काठमाडौं – शुक्रबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सगरमाथा संवाद’

‘आतङ्कवादी आक्रमणमा परेका नेपालीका परिवारलाई सहयोग गर्छौं’

काठमाडौं– नेपालका लागि इजरायलका राजदूत श्मुलिक ए बासले आतङ्वादी आक्रमणमा

माझफाँट-लेकफाँट सडक कालोपत्र

म्याग्दी– जिल्लाको माझफाँट–लेकफाँट हुँदै अन्नपूर्ण गाउँपालिका–८ नागी–राम्चे जोड्ने सडक योजनाको