द्रुत गतिमा सरकार–विप्लव समूहको वार्ता | Khabarhub Khabarhub

द्रुत गतिमा सरकार–विप्लव समूहको वार्ता

दुवै पक्ष समान धारणा नजिक पुगेको सरकारी भनाइ


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीबीचको वार्ता द्रुत गतिमा अघि बढेको छ ।

बुधबार एकै दिन दुई चरणमा वार्ता भएको छ । सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले दोस्रो चरणको वार्ता बुधबार साँझ सम्पन्न भएको जनाएका छन् ।

भट्टराईले ट्वीट गर्दै लेखेका छन्, ‘नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गर्नुभएको नेकपाका वार्ता टोलीबीच दोस्रो चरणको वार्ता अहिले साँझ सम्पन्न भयो । वार्ता विषय केन्द्रित भएको, दुबै पक्ष समान धारणा नजिक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ ।’

पहिलो चरणमा बुधबार बिहान र दोस्रो चरण अपराह्न वार्ता भएको थियो ।

भट्टराईले ‘दुवै पक्ष समान धारणा नजिक पुगेको’ भने पनि के प्रगति भयो भन्ने कुरा सार्वजनिक गरिएको छैन । विप्लव पक्षले पनि वार्ताबारे जानकारी गराएको छैन ।

दुवै पक्षले आआफ्नातर्फबाट वार्ता टोली गठन गरेको कुरा मङ्गलबार विज्ञप्तिमातर्फत सार्वजनिक गरेका थिए । सरकारी टोलीमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ संयोजक र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सदस्य छन् । विप्लव समूहको टोलीमा केन्द्रीय सचिवालयका सदस्य तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र केन्द्रीय सदस्य उदय चलाउने ‘दीपक’ छन् ।

सरकारले वार्ता टोली गठन गरेको कुरा सार्वजनिक गरेलगत्तै नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पनि आफ्नो पार्टी वार्ता टोली गठन गरेको कुरा सार्वजनिक गरेका थिए ।

सत्तारुढ नेकपा परस्पर विरोधी दुई समूहमा विभाजित भएपछि सरकारले विप्लव समूहसँग वार्ताको पहल गरेको थियो ।

एक महिनाअघि, माघ २० गते, खानेपानी तथा सरसफाइमन्त्री मणिचन्द्र थापाले ललितपुरको नख्खु जेलमा पुगेर विप्लवको पार्टीका एकजना नेता हेमन्तप्रकाश ओलीसँग भेट गरेका थिए । उक्त भेटलाई वार्ताको वातावरण बनाउने सरकारको प्रयास मानिएको थियो ।

चन्दको पार्टीले सरकारसँग वार्ताका लागि जेलमा रहेका आफ्ना सबै नेता तथा कार्यकर्ताहरूलाई नि:शर्त रिहा गर्नुपर्ने शर्त राखेको भए पनि सरकारले कसैलाई रिहा गरेको सूचना आएको छैन ।

पार्टीका उच्च नेताहरू हेमन्तप्रकाश ओली, धर्मेन्द्र बाँस्तोला, ओमप्रकाश पुन, माइला लामा लगायत १२५ जनाभन्दा बढी नेता कार्यकर्ता जेलमा छन् ।

विप्लवको पार्टीले संविधानसभाबाट जारी भएको वर्तमान संविधान र राज्य व्यवस्था अस्वीकार गरेको छ । अहिलेको संसदीय व्यवस्थाबाट देशको समस्या समाधान नहुने उक्त पार्टीको निष्कर्ष छ ।

हिंसात्मक गतिविधि गरेको आरोपमा सरकारले दुई वर्षअघि, २०७५ फागुन २८ गते, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको गतिविधिमा प्रतिबन्ध लगाएको थियो । उक्त प्रतिबन्ध फुकुवा भएको छैन ।

विप्लवको पार्टी कुन शर्तमा वार्तामा बस्न तयार भयो भन्ने जानकारी दिइएको छैन ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ६ : ४७ बजे

भारत लोकसभा पाँचौ चरणको चुनाव आज : आठ राज्यका कति सिटमा हुन्छ मतदान ?

काठमाडौं – सात चरणमा हुन लागेको भारत लोकसभाको पाँचौ चरणको

आजको प्रतिनिधिसभा बैठकको कार्यसूची कस्तो छ ?

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

प्रधानमन्त्री दाहालले चौथो पटक विश्वासको मत लिँदै

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभामा विश्वासको मत लिने

केही भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

वर्षाले खेल अवरुद्ध हुँदा कोलकाता र राजस्थानको अंक बाँडियो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत समूह चरणको अन्तिम