ललितपुर– ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयमा कार्यरत ५० वर्ष उमेर पूरा गरेका र स्वैच्छिक अवकाश लिन चाहने शिक्षकलाई तीन लाख रुपैयाँसम्म दिने जनाएको छ ।
महानगरले विज्ञप्ति जारी गर्दै सेवा अवधिको आधारमा सुविधा लिएर अवकाश लिन चाहने शिक्षकले अवकाश पाउने जनाएको हो ।
महानगरले उपलब्ध गराएको सेवामा अवकाश लिन इच्छुक शिक्षकले आवश्यक कागजातसहित ३० दिनभित्र महानगरको शिक्षा महाशाखामा निवेदन पेश गर्न सक्ने छन् ।
२०७८ साल साउन पश्चात १ वर्ष सेवा अवधि बाँकी रहेका शिक्षकहरुले अवकाश लिन चाहेमा महानगरले एक लाख रुपैयाँ उपलब्ध गराउने जनाएको छ ।
त्यस्तै २०७८ साउनसम्म २ वर्ष सेवा अवधि बाँकी रहेका शिक्षकलाई एक लाख ५० हजार, ३ वर्ष सेवा बाँकीलाई २ लाख, ४ वर्ष सेवा बाँकी रहेकालाई २ लाख ५० हजार र ५ देखि १० वर्ष सेवा अवधि बाँकी रहेका शिक्षकलाई रु ३ लाख रुपैयाँसम्म सुविधा दिने महानगरले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
अवकाश लिन चाहने शिक्षकले स्थायी नियुक्ति पत्रको प्रतिलिपि,नागरिकताको प्रतिलिपि र सम्बन्धित शिक्षकको निवेदन पेश गर्नुपर्ने छ ।
प्राप्त निवेदनका आधारमा सुविधा सम्बन्धी थप निर्णय हुने महानगरले जनाएको छ ।
यस्तो छ महानगरद्वारा जारी विज्ञप्ति
प्रतिक्रिया