७२ सालको भूकम्पले चिनाएको बारपाक « Khabarhub

७२ सालको भूकम्पले चिनाएको बारपाक

‘वर्षेनी वैशाख १२ ले झस्काइरहन्छ बारपाकीलाई’



बारपाक (गोरखा) – छ वर्षअघि २०७२ वैशाख १२ गते गएको भूकम्पले गोरखाको बारपाकका ७२ जनाले ज्यान गुमाए । भूकम्पले यहाँका सबैजसो घरहरु गर्ल्यामगुर्लुङ ढल्यो । बारपाकको १ हजार ४ सय घर पूर्ण रुपमा क्षति भयो ।

७.८ रेक्टर स्केलको विनाशकारी भूकम्पको केन्द्रविन्दु नै गोरखाको बारपाक थियो । बारपाक केन्द्र भई पूर्वतिर सर्दै गएको भूकम्पले गोरखासहित १४ जिल्ला अति प्रभावित भयो ।

छ वर्षअघि गएको भूकम्पलाई बारपाकीले बिर्सने प्रयास गर्दै गर्दा हरेक वर्षको वैशाख १२ ले झस्काइरहने गरेको बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले बताए । भूकम्पले परिवार गुमाएकालाई यो दिनले पीडा दिएपनि भूल्न खोजिरहेका देखिन्छन् ।

महाभूकम्पलाई बारपाकीले बिर्सन चाहे पनि भूकम्पकै केन्द्र रहेकाले बारपाक सबैको आकर्षणको केन्द्र बन्ने गरेको छ ।

महाभूकम्प २०७२ को केन्द्रबिन्दु बारपाक भएकाले यो पनि गाउँपालिकाको एउटा चिनारी भएको जनप्रतिनिधिको बुझाइ छ ।

पुरातन शैलीले बनेका घर भूकम्पले ढालपछि बनेको सुन्दर पक्की घरले बारपाकको सुन्दरता अर्कै बनाएको छ ।

भूकम्पपछि बारपाकीलाई पुनर्स्थापित गर्ने क्रम चल्दै गर्दा ७४ सालमा स्थानीय तहको निर्वाचनले जनप्रतिनिधि भई सेवा गर्ने मौका यहाँका अगुवा नेता कार्यकर्तालाई मिल्यो ।

तिनै जनप्रतिनिधिहरुको बलले लयमा फर्किएको बारपाकमा घर निर्माण तथा विद्यालय निर्माणका काम लगभग सकिएको गाउँपालिका अध्यक्ष भट्टले बताए ।

भूकम्पपछि बारपाकको ऐतिहासिक पहिचानकै कारण गाउँपालिकाको नाम बारपाक सुलिकोट कायम गरी साविकको बारपाक, स्वारा, स्वौरपानी, ताकुमाझ, लाकुरिबोट, ताकुकोट, पाँचखुवा देउराली र पन्द्रुङ गाविसलाई गाउँपालिकामा समावेश गरियो ।

पुनर्निर्माणको काम ९५ प्रतिशत सम्पन्न

भूकम्पका कारण ज्यान गुमाएकाको सम्झनामा बारपाक सुलिकोट गाउँपालिका १ बारपाकमा बारपाक स्मृति पार्क निर्माण भइरहेको छ । भूकम्पपछिको पुननिर्माणको काम ९५ प्रतिशत सम्पन्न भएको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष रोशन विकले बताए ।

गुजुम्म परेको लाहुरेहरुको बसोबास रहेको बारपाकको अहिले रुप फेरिएको छ । भूकम्पपछि बाटोघाटको विकास भएको छ । घरघरमा पुग्न सकिने मोटरबाटो बनेका छन् ।

भूकम्पको केन्द्रबिन्दु भएकैले गर्दा आन्तरिक पर्यटकहरुको घुँइचो लाग्नुका साथै ऐतिहासिक र पर्यटकीय रुपले रमणीय सुलिकोट डाँडा, प्रसिद्ध सीता गुफा, ताकुकोट माईभगवती जस्ता सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको स्थलहरुले सिंगारिएको पवित्र भूमि बारपाक सुलिकोट गाउँपालिकाको चिनारी बनेको छ ।

पर्यटकको केन्द्र बन्दै गएको बारपाकमा होटल, रेष्टुरेन्टदेखि पाहुनाहरुलाई स्वागत सत्कारका साथ राख्न होमस्टेहरु सञ्चालन गरिएका छन् । सामुदायिक होमस्टे सञ्चालन गरी ग्रामीण पर्यटन प्रवर्द्धन गर्न गाउँपालिकाले सघाइरहेको छ ।

छ वर्षपछि एकीकृत बस्ती उपहार

भूकम्पले बारपाकलाई मात्रै ढालेन, गोरखाको सबै गाउँहरुमा उत्तिकै क्षति पु्र्‍यायो । गोरखाको धार्चे गाउँपालिकाको लाप्राकमा गैरआवासीय नेपाली संघ (एनआरए) ले निर्माण गरेको एकीकृत बस्ती पनि दुई दिनअघि मात्रै लाभग्राहीलाई हस्तान्तरण गरिएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीसहितको उपस्थितिमा एनआरएनएका अध्यक्ष कुमार पन्तले लाप्राक एकीकृत बस्ती समुदायलाई हस्तान्तरण गरेका थिए ।

धार्चे गाउँपालिकाको गुम्सीपाखामा गैरआवासीय नेपालीहरुले ५७३ घरसहितको एकीकृत बस्ती निर्माण गरेका हुन् ।

भूकम्पकै केन्द्रबिन्दु रहेको अतिप्रभावित जिल्ला गोरखामा ८५ प्रतिशत पुनर्निर्माणको काम सम्पन्न भएको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ, अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार जीमेलीको तथ्यांकमा उल्लेख छ ।

बारपाक केन्द्रबिन्दु भएर गएको ७२ सालको भूकम्पका कारण भग्नावशेषले च्यापिएर देशभरबाट ८ हजार ७ सय ९० जना नागरिकले ज्यान गुमाए । २२ हजार भन्दा बढी नागरिक घाइते भए ।

भूकम्पले ९ लाख ९६ हजार निजी आवाससहित शैक्षिक संस्था, स्वास्थ्य संस्था, सरकारी भवन तथा सांस्कृतिक सम्पदामा क्षति हुन पुग्यो ।

भूकम्पले ७ हजार छ सय ५३ वटा शैक्षिक संस्था, ११ सय ९७ स्वास्थ्य संस्था, ७ सय ५३ सांस्कृतिक सम्पदा तथा ४ सय १५ सरकारी भवनमा क्षति पुग्ने पुननिर्माण प्राधिकरणले जनाएको छ । भूकम्पले भत्काएका ती सम्पदाहरु अझै ठडिन सकिरहेका छैनन् ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ८ : २० बजे

ओली–लेखकको पक्राउ राजनीतिक प्रतिशोध र पूर्वाग्रहको पराकाष्ठा : तरुण दल 

काठमाडौँ– नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दलले पूर्वप्रधानमन्त्री केपी

फौजी एक्सन : महाशुद्धीकरणको आरम्भ कि राजनीतिक प्रतिशोध ?

सरकार गठन भएको २४ घण्टा नबित्दै नेपाली राजनीतिको एउटा विशाल

एमालेका २३ जनसंगठनले दिउँसो ३ बजे देशभरका सदरमुकाममा प्रदर्शन गर्दै

काठमाडौँ– नेकपा एमालेका २३ वटा जनसंगठनले अध्यक्ष केपी शर्मा ओली

जीर्ण भवनमा जोखिम मोलेर पठनपाठन गर्नुपर्ने बाध्यता हट्यो

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा जीर्ण

रूस–इरानबीच सैन्य प्रविधि सहकार्य तीव्र

एजेन्सी– रूसले युक्रेन युद्धमा प्रयोग गरिएका उन्नत प्रविधियुक्त ड्रोनहरू इरानतर्फ