काठमाडौँ- राष्ट्रियसभाका पूर्वसदस्य एवं नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.विदुर पौडेलको मष्तिष्काघातका कारण ७७ वर्षका उमेरमा आज बिहान निधन भएको छ ।
यही वैशाख ११ गते कोभिडको पहिलो खोप लगाएपछि उनलाई मष्तिष्काघात भई उपचारका लागि सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजको सघन उपचार कक्षमा भर्ना गरिएको भतिज रोहित पौडेलले जानकारी दिए ।
शुक्रबार बेलुकी चिकित्सकले ठीक नहुने बताएपछि उनलाई पशुपति आर्यघाटमा लगिएको थियो ।
नेपाली कांग्रेसको पूर्वकेन्द्रीय सदस्य, अधिकारसम्पन्न वाग्मती ढल व्यवस्थापन आयोजनाका पूर्वअध्यक्ष, पशुपति क्षेत्र विकास कोषका पूर्वसञ्चालक सदस्य पौडेल पछिल्लो समय भतिजा परमेश्वरका साथमा गुह्येश्वरीस्थित आफ्नै निवासमा बस्दै आएका थिए ।
अविवाहित पौडेल छ दाजुभाइमध्ये जेठा थिए । स्व पौडेलको आजै पशुपति आर्यघाटमा वैदिक विधिअनुसार अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
सदाचारी एवं इमान्दार नेता पौडेलले लामो समय संस्कृत विश्वविद्यालयको वाल्मीकि विद्यापीठमा प्राध्यापन गराएका थिए ।
प्राध्यापनपछि उनी राष्ट्रियसभाका सदस्य बनेका थिए । सांसद हुँदा सुविधाका लागि गाडीका रूपमा प्राडो एवं पजेरो भित्र्याउन दिने सरकारी निर्णयको उनले विरोध गरेका थिए ।
प्रतिक्रिया