हावाहुरी र चट्याङसहितको वर्षा हुनुको कारण थाहा पाउनुहोस | Khabarhub Khabarhub

हावाहुरी र चट्याङसहितको वर्षा हुनुको कारण थाहा पाउनुहोस


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यसपालिको मनसुन अवधिमा सरदरभन्दा बढी पानी पर्ने आकलन गरिए पनि हालको प्रि–मनसुनमा राम्ररी पानी नपर्दा खडेरी भयो । वर्षाको अभावले डढेलो फैलिँदा जनजीवन नै प्रभावित बनाएको थियो । कतिपय जङ्गलमा लागेको डढेलो हेलिकोप्टरबाट पानी लगेर निभाउनुपरेको थियो तर पछिल्ला केही सातादेखि भने मुलुकका अधिकांश भेगमा वर्षा भइरहेको छ । त्यसले डढेलोसमेत नियन्त्रणमा आएको छ ।

ठाउँठाउँमा असिना, हावाहुरी र चट्याङसहितको पानी परिरहँदा केही स्थानमा क्षतिसमेत पुगेको छ । लामो समयदेखि आकाशे पानीको अभाव भइरहेको अवस्थामा परेको अहिलेको वर्षाले कृषि क्षेत्रलाई भने केही फाइदा भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताए । उनका अनुसार चट्याङले भने मानवीय क्षतिसमेत गराइरहेको छ । यही वैशाखमा मात्रै चट्याङ लागेर २१ जनाको मृत्यु भएको छ ।

काठमाडौँ उपत्यकामा पनि गए राति र आज बिहान पानी परेको थियो । यो क्रम केही दिनदेखि जारी छ । रातिको भन्दा अहिले पानी पार्ने मौसम प्रणाली केही कमजोर रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । दिउँसो अर्को प्रणाली विकास भएर पुनः पानी पर्ने सम्भावना कायमै रहेको मौसमविद्को भनाइ छ ।

हाल नेपालमा बङ्गालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाको प्रभाव छ । यस्तै सुदूरपश्चिममा विकास भएको पश्चिमी न्यून चापीय प्रणाली र दक्षिण–पूर्व भूभाग नजिक रहेको पूर्व–पश्चिम फैलिएको न्यून चापीय रेखाका कारण नेपालमा पानी परिरहेको हो । उक्त प्रणाली पूर्वसम्म पुगेकाले अधिकांश भूभागमा सामान्य बदली रही गण्डकी तथा वाग्मती प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज बिहान पानी परेर केहीबेर रोकिए पनि दिउँसो फेरि नयाँ प्रणालीको विकास भई ठाउँठाउँमा वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु वासीले जानकारी दिइन । आज देशभर सामान्य बदली रहने छ । देशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा केही बढी वर्षाको सम्भावना रहेको उनले जानकारी दिइन।

राति भने प्रदेश नं १ सहित देशका पहाडी भूभागमा सामान्य बदली र बाँकी भूभागहरुमा आंशिक बदली हुने छ । सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सभावना रहेको छ । शुक्रबार पनि प्रदेश नं १ र अन्य पहाडी भूभागमा बदली भई केही भागमा पानी पर्ने छ । शनिबारबाट भने यो प्रणाली हराएर केही खुल्ने भए पनि पुनः अर्को प्रणाली आउनसक्ने मौसमविद् वासीले जानकारी दिइन । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जनाइएको छ ।

जल तथा मौसम विज्ञान विभागले यसपालिको मनसुनको समयमा मुलुकका धेरैजसो भूभागमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरिसकेको छ । गत वर्ष सरदर पानी पर्ने भनिए पनि वर्षाका कारण ठूलो जनधनको क्षति पुगेको थियो । यसपालि भने सददरभन्दा बढी पानी पर्ने आकलन गरिएकाले मनसुनका बेला विशेष सावधानी अपनाउनुपर्नेमा मौसमविदले जोड दिएका छन् ।

गत वर्ष पहिरो गएको क्षेत्र र भूकम्पले जोखिम बनाएको क्षेत्र बढी जोखिममा छ । त्यस्ता ठाउँमा सानो पानी पर्दैमा बाढी पहिरोको सम्भावना अधिक हुने भएकाले मनसुनमा बढी सावधानी अपनाउनुपर्ने वरिष्ठ मौसमविद् बरुण पौडेल बताउँछन् ।

हुन त अहिले मनसुन शुरु भएको छैन । मनसुन शुरुपछिको अवधिमा सुदूरपश्चिम, कर्णाली, गण्डकी, वाग्मती प्रदशेका अधिकांश स्थानमा तथा प्रदेश नं १ को मध्य तथा पश्चिम पहाडी, हिमाली भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको छ । त्यहाँ ३५ देखि ६५ प्रतिशत वर्षा हुने अनुमान छ ।

उच्च हिमाली क्षेत्रमा भने ५५ देखि ६५ प्रतिशत वर्षा (हिउँ) हुने आकलन गरिएको विभागको जलवायु विष्लेषण शाखा प्रमुख वरिष्ठ मौसमविद् डा इन्दिरा कँडेलले जानकारी दिइन । त्यसैले अहिलेदेखि नै क्षति कम गर्नका लागि तयारी गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । यसपालि कोभिड–१९ को समेत जोखिम बढ्दो क्रममा रहेकाले अझै मुलुक दोहोरो विपद्बाट गुज्रने अवस्था रहेको देखिन्छ ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  १२ : ४६ बजे

धादिङको थाक्रेमा आगलागीबाट वृद्ध दम्पतीको मृत्यु

धादिङ– धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोलामा एक घरमा आगलागी हुँदा

नेतृत्वले जोखिम मोल्नुपर्ने अवस्था छ : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा

तस्बिरमा ‘मनसरा’को प्रिमियर, दयाहाङ किन अनुपस्थित ?

काठमाडौं– उपेन्द्र सुब्बाको लेखन र निर्देशनमा बनेको फिल्म ‘मनसरा’को बुधबार

काभ्रेका अग्निपीडितलाई आर्थिक सहयोग

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक सहयोग गरिएको

संघीय संसदका तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक बस्दै छन् । आज