कोरोना कहर : अस्पताल भरिभराउ, आइसोलेशन रित्तै, धेरै संक्रमित होम आइसोलेशनमा | Khabarhub Khabarhub

कोरोना कहर : अस्पताल भरिभराउ, आइसोलेशन रित्तै, धेरै संक्रमित होम आइसोलेशनमा



नवलपुर– कोरोना संक्रमणको दोस्रो लहरमा संक्रमित बढ्दै गएपछि नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालमा बिरामी राख्ने ठाउँ भएन । बिरामी राख्ने ठाउँ नभएपछि अधिकांश बिरामी भरतपुरतिरै लागे ।

वैशाख लाग्दासम्म नवलपुरमा शून्यजस्तै रहेको कोरोना संक्रमित एक महिनामै एक हजारभन्दा बढी भेटिए । वैशाख यता मात्रै ३३ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीपूर्वले जनाएको छ ।

संक्रमित बढ्दै गएपछि कावासोती नगरपालिकाबाहेक जिल्लाका सबै पालिकामा आइसोलेशन बनाउने काम भयो ।

जिल्ला अस्पतालबाहेक पालिकास्तरको प्रस्तावित अस्पतालदेखि प्राथमिक स्वास्थ्य केन्द्र हुँदै विद्यालयमा पनि आइसोलेशन बनाउने काम भयो । राजनीतिक दलले आफ्नो पार्टी कार्यालयसमेत आइसोलेशन बनाउन दिने घोषणा गरे ।

जिल्लाका सबै पालिकामा आइसोलेशन निर्माण गरिए पनि बिरामी ती आइसोलेशनभन्दा घरमै सुरक्षित ठानेका छन् ।

स्वास्थ्य जटिल भएपछि मात्रै अस्पताल खोज्ने गरिएको छ । तर पालिकाले तयार गरेका आइसोलेशनमा बस्न भने कोही पनि तयार नभएपछि त्यस्ता अधिकांश आइसोलेशन रित्तो छन् ।

विद्यालयको आइसोशलेशन रित्तै

होम आइसोलेशनमा बस्दै आएका कोरोना संक्रमितले समयमा उपचार नपाएर मृत्युवरण गर्नुपरेको भन्दै स्थानीय युवाले गरेको खबरदारीपछि तातेको देवचुली नगरपालिकाका जनप्रतिनिधिले आफ्नो कार्यालय छेउको जनज्योति नमुना विद्यालयमा २१ बेडको आइसोलेशन तयार गरी फोटो खिचाए ।

ट्याक्टरमा मृत्यु भएका खिमप्रसाद काफ्लेको स्मृतिमा ‘खिम स्मृति प्रतिष्ठान’ बनाएर स्थानीयले विभिन्न ठाउँबाट जुटाएर पठाएको अक्सिजन सिलिण्डरहरु पनि विद्यालयमै थन्किएको छ ।

उक्त घटनापछि देवचुली नगरपालिका १२ नम्बर वडाले एम्बुलेन्स खरिद गर्ने भन्दै आर्थिक संकलन गर्ने काम अहिले पनि जारी छ ।

देवचुली नगरपालिकामै पर्ने सामुदायिक प्राकृतिक चिकित्सालयमा आइसोलेशन बनाउने कुरा नगरपालिकाको प्राथमिकतामा परेन । यसअघि कोरोना संक्रमणको पहिलो लहरमा प्राकृतिक चिकित्सालयले दुई हजार भन्दा बढी संक्रमितलाई निको बनाएर सबैतिर चर्चा पाएको थियो ।

प्राकृतिक चिकित्सालय आफैँले कोभिड अस्पताल सञ्चालन गर्ने निर्णय गरे पनि प्रदेश सरकारबाट स्वीकृति नपाएको चिकित्सालयका बरिष्ठ उपाध्यक्ष प्रेम न्यौपानेले बताए ।

चिकित्सालयलाई बेवास्ता गर्दै देवचुली नगरपालिकाले विद्यालयमा बनाएको आइसोलेशन भने अहिले पनि रित्तै छ ।

हेल्थपोष्टको आइसोलेशन पनि नाम मात्रैको

विद्यालयको आइसोलेशन मात्र होइन, स्थानीय तहमा रहेका प्रस्तावित अस्पताल भनिएका हेल्थपोष्टहरु पनि नाम मात्रैका छन् ।

स्वास्थ्य केन्द्रका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले बेवास्ता गरेकै कारण बिरामीहरु त्यस्ता आइसोलेशनमा बस्न हिच्किचाएका छन् ।

देवचुली नगरपालिकाको दुम्कौली हेल्थपोष्टका चिकित्सकले अक्सिजन दिनुपर्ने अवस्थाका बिरामीलाई अन्तै रिफर गर्ने गरेको स्थानीयले बताए ।

कुन आइसोलेशनमा कति संक्रमित ?

जिल्लाको गैंडाकोट नगरपालिकामा रहेको नगरअस्पतालमा २० बेडको आइसोलेशन बनाइएको छ । देवचुलीका युवाहरुको खबरदारीपछि एम्बुलेन्ससमेत निःशुल्क खडा गरेको गैंडाकोट नगरपालिकाको नगर अस्पतालमा ७ जना संक्रमित छन् ।

देवचुली नगरपालिकाको जनज्योति नमुना माविमा २१ बेडको आइसोलेशन बनाइएको छ भने दुम्कौली हेल्थपोष्टमा १५ बेडको आइसोलेशन बनाइएको छ । विद्यालयको आइसोलेशन रित्तै छ भने स्वास्थ्य केन्द्रमा ३ जना संक्रमित मात्रै छन् ।

जिल्लाको हुप्सेकोट गाउँपालिकाले देउराली आधारभूत अस्पताल र अस्पताल बाहिर गरी १५ बेडको आइसोलेशन तयार पारेको छ । ती आइसोलेशनहरु पनि रित्तो छ ।

जिल्लाको पहाडी गाउँपालिका बुलिङटारमा ५ र बौदिकालीमा ७ शैयाको आइसोलेशन पनि अहिलेसम्म रित्तै छ ।

बिनयी त्रिवेणी गाउँपालिकाको दुम्कीबासमा रहेको स्वास्थ्य चौकीमा ५ बेडको र मध्यबिन्दु नगरपालिकाको प्रस्तावित चोरमारा अस्पतालमा ९ बेडको आइसोलेशन बनाइएको छ । आइतबार साँझसम्म दुम्किबासमा २ र चोरमारामा ३ जना संक्रमित रहेका छन् ।

जिल्ला अस्पताल खचाखच

कोरोना संक्रमित बढ्दै गएको नवलपुरमा रहेका आइसोलेशनहरु रित्तै रहे पनि कावासोतीमा रहेको एक मात्र मध्यबिन्दु जिल्ला अस्पताल भने बिरामीले खचाखच छ ।

जिल्ला अस्पतालमा गल्लीमै राखेर उपचार गर्नुपर्ने अवस्था आएपछि अहिले ४० बेडको आइसोलेशन बनाइएको छ । हालैमात्र जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जोडिएपछि मध्यबिन्दु अस्पताल बिरामीको रोजाई बनेको छ ।

मध्यबिन्दु जिल्ला अस्पतालमा रहेको आइसीयू सञ्चालन नगरिँदा भने आइसीयू र भेन्टिलेटरमा राख्नुपर्ने बिरामीलाई चितवन रेफर गर्नुपर्ने बाध्यता छ ।

नवलपुरमा संक्रमितहरु बढ्ने क्रम अझै रोकिएको छैन । सोमबार बिहानसम्म १ हजार ४५ जना सक्रिय संक्रमित रहेको नवलपुरमा १ हजार ७ जना संक्रमितहरु होम आइसोलेशनमा रहेको स्वास्थ्य कार्यालय नवलपरासीपूर्वले जनाएको छ ।

होम आइसोलेशनमा रहेका संक्रमित बारे स्थानीय तहले जानकारी लिइरहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पूर्वका प्रमुख केशवप्रसाद चापागाईँ बताउँछन् ।

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  १ : ३३ बजे

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेँलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव

हिउँद सुरु भएपछि आगलागीबाट ९६ जनाको मृत्यु, दुई अर्ब बढीको क्षति

काठमाडौं– हिउँद याम सुरु भएसँगै लामो समयसम्म वर्षा नभएपछि आगलागीका

सरकारविरुद्ध षड्यन्त्र रोक्न जसपा फुटायौं : मन्त्री साह (अन्तर्वार्ता)

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजित भएको छ