काठमाडौँ– सरकारले सुर्तीजन्य पदार्थको नियन्त्रण र रोकथाकमा लागि तीन वटा कानून ल्याएको छ । सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन –२०६८’, ‘सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) नियमावली –२०६८’ र ‘सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका –२०७१’ ल्याएको छ ।
सरकारले तीन वटै कानून ल्याएपछि ति कानून प्रभावकारी कार्यन्वयन नहुँदा सुर्तीजन्य पदार्थको रोकथाम र नियन्त्रण हुन नसकेको पाइएको छ । नेपालमा ती कानून आइसकेपछि पनि केही सुर्तीजन्य पदार्थको कमी आएतापनि उल्लेखनिय प्रगति हुन नसकेको बताइएको छ ।
पछिल्लो तथ्याङ्क अनुसार एक प्रतिशत मात्र सुर्तीजन्य पदाथको सेवनमा कमी आएको छ । केही वर्ष नेपालमा ३० प्रतिशत (५१.९ प्रतिशत पुरुष र १३ प्रतिशत महिला) मानिसले सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेकोमा अहिले आएर २८.९ प्रतिशत ( ४८.३ प्रतिशत पुरुष र ११.६ प्रतिशत महिला) पुगेको छ । पहिलो पटक धुमपान शुरु गर्दाको औषस उमेर १७.८ रहेको छ ।
ऐनको दफा ४ मा सार्वजनिक स्थलमा धूमपान तथा सूर्ति सेवन गर्न नपाइने उल्लेख छ । तर अहिले पनि सार्वजनिक स्थानमा धुमपान र सुर्तीसेवन गरिरहेको पाइन्छ ।
सोही ऐनको दफा ११ मा बिक्री वितरण तथा प्रदर्शनमा बन्देज व्यवस्थामा “कसैले पनि अठार वर्ष नपुगेका व्यक्ति र गर्भवती महिलालाई सूर्तिजन्य पदार्थ बिक्री वितरण गर्न वा गर्न लगाउन वा निःशुल्क उपलब्ध गराउन पाउने छैन” भन्ने उल्लेख गरिएको छ । तर अहिले पनि निर्वाध रुपमा जो कोहीले पनि सजिलै चुरोट किन्न पाउँछन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय स्वास्थ्य शिक्षा, सुचना तथा सञ्चार केन्द्रका निर्देशक डा. राधिका थपलियाले सुर्तीजन्य पदार्थसँग सम्बन्धित निकायबीच समन्वय नहुँदा नियन्त्रणमा समस्या परेको बताइन् ।
उनले नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने स्थानीय प्रशासन र स्थानीय निकायले कानून कार्यन्वयनमा फितलो देखिएकोले समस्या परेको बताइन् ।
नेपालमा वर्षेनी २७ हजार १३७ जनाको मृत्यु सुर्तिजन्य पदार्थको सेवनले हुने गरेको छ, जुन नेपालमा मृत्युको करीब १५ प्रतिशत हो । सुर्तीजन्य पदार्थ बट्टा, प्याकेट, र्यापर्स, पेटी तथा प्याकेजिङ्मा चेतनामूलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका २०७१ को दफा ३ मा सुर्तीजन्य पदार्थको बट्टा तथा प्याकेजिङमा ९० प्रतिशत भागमा सुर्तीजन्य पदार्थ स्वास्थ्यकालाई हानिकारक छ भन्ने र धुमपान तथा सुर्तीजन्यले फोक्सोको क्यान्सर हुन्छ भन्ने चेतावनीमूलक सन्देश र चित्र छाप्नुपर्ने उल्लेख गरिएको छ ।
केन्द्रका निर्देशक डा. थपलियाले सुर्तीजन्य पदार्थको बाहिर प्याकेटमा ९० प्रतिशत अनिवार्य छाप्ने भनेतापनि केहीले अझै कार्यन्वयन नगरेको बताइन् ।
विश्वमा करिब ८० लाख मानिसको सुर्तीजन्य पदार्थको सेवनबाट र १२ लाखसँगै बस्नेले खाएको चुरोटको धुँवाको असरको कारणले मृत्यु हुने गरेको छ । दिनहुँ चुरोट खाने व्यक्तिले प्रत्येक दिन करिव ६.५ वटा चुरोट खाने गरेको छन् ।
नेपालमा वर्षेनी सुर्तीजन्य पदार्थको सेवनले उपचारार्थ खर्च, रोगीको उत्पादकत्वमा आएको ह्रास, अकाल मृत्यु र अशक्त हुँदा करिव ४७ अर्ब रुपियाँ क्षति हुने गरेको छ ।
नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्तबहादुर कुँवरले कोभिड–१९ का कारणले सुर्तीजन्य पदार्थको नियन्त्रण प्राथमिकतामा नपरेकोले गत वर्षदेखि कुनै कार्यक्रम सञ्चालन नगरिएको बताए ।–रासस
प्रतिक्रिया