पोखरेलले भोलि विश्वासको मत लिँदै | Khabarhub Khabarhub

पोखरेलले भोलि विश्वासको मत लिँदै

मन्त्रालय भागबण्डामा चुनौती



पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिन मंगलबार नै संसद सचिवालयमा प्रस्ताव दर्ता गराइसकेका छन् । आगामी एक महिनासम्ममा विश्वासको मत लिनुपर्ने भए पनि पोखरेलले तत्कालै विश्वासको मत लिएर आफू सुरक्षित हुन चाहेका छन् ।

पोखरेल संविधानको १६८ (५) अनुसार शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको गठबन्धनमा पोखरेल मुख्यमन्त्री बनेका हुन् ।

उनलाई मुख्यमन्त्री बनाउन स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) निर्णायक बनेका थिए ।

राष्ट्रिय जनमोर्चाका एक सदस्य रिक्त भएसँगै ५९ सदस्य रहेको गण्डकी प्रदेशसभामा पोखरेलले विश्वास लिन ३० मत आवश्यक पर्दछ । उनको गठबन्धनमा कांग्रेस १५, माओवादी केन्द्र ११ (सभामुखबाहेक), राष्ट्रिय जनमोर्चा २, जनता समाजवादी पार्टीका २ र एक स्वतन्त्र सांसद छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग २७ जना प्रदेशसभा सदस्य छन् । जसमध्ये एक जना सांसद माधव नेपाल पक्षका छन् ।

निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको साथ छाडेर मनाङेले गठबन्धनलाई साथ दिएपछि पोखरेल मुख्यमन्त्री बनेका हुन् । उनी मुख्यमन्त्री नियुक्त भएसँगै मनाङेलाई समेत मन्त्री बनाइसकेका छन् ।

शनिवार मुख्यमन्त्री नियुक्त भएका उनलाई बजेट ल्याउन निकै हतार थियो । उनले मुख्यमन्त्री नियुक्त भएको भोलिपल्ट आइतबार नीति तथा कार्यक्रम र सोमवार आर्थिक वर्ष ७८/७९को बजेट ल्याएका थिए ।

मन्त्रालय भागबण्डामा चुनौती

मुख्यमन्त्री नियुक्त भए लगत्तै पोखरेलले गठबन्धनका ४ जनालाई मन्त्रिपरिषद् गठन गरेका छन् । गठबन्धनका दललाई पूर्वसहमतिअनुसार नै मन्त्रालय भागबण्डा गर्नसमेत उनलाई चुनौती देखिएको छ ।

मन्त्रालय भागबण्डा मिलाउन नसक्दा पोखरेलले मन्त्रिपरिषद्का चार सदस्यलाई समेत मन्त्रालयको जिम्मेवारी दिन सकेका छैनन् । उनले कांग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी, जनता समाजवादी पार्टी (जसपा) बाट हरिशरण आचार्य, र स्वतन्त्र सांसद दीपक मनाङेलाई मन्त्री बनाएका छन् । चारैजना अहिलेसम्म विना विभागीय छन् ।

जसपाका आचार्यलाई मात्रै मन्त्री बनाइएपछि जसपाकी अर्की सांसद धनमाया पोखरेल (लामा) असन्तुष्ट बनेकी छन् । पार्टीलाई दुई मन्त्रालय दिने यसअघि नै सहमति भएकाले पूर्व सहमतिअनुसार नभएर आफ्नो सहयोग नरहने बताइसकेकी छन् ।

१० मन्त्रालय बनाइयो

यसअघि पृथ्वी सुब्बा गुरुङले आफ्नो पक्षमा पार्न मन्त्रालय फुटाएर मनाङेलाई युवा तथा खेलकुद मन्त्री बनाएका थिए । पोखरेलले भागबण्डा मिलाउन १० मन्त्रालय बनाएका छन् । आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई टुक्र्याएर कानून, सञ्चार प्रदेशसभा मन्त्रालय बनाइएको छ ।

कांग्रेसबाट मन्त्री भएका कुमार खड्कालाई सरकारको प्रवक्ता तोकिएको छ ।

पोखरेल नेतृत्वको मन्त्रिपरिषद्मा कानून तथा सञ्चार, अर्थ, पर्यटन तथा उद्योग वाणिज्य, कृषि तथा सहकारी, उर्जा तथा खानेपानी, भौतिक पूर्वाधार तथा यातायात, वन र युवा तथा खेलकुद मन्त्रलाय रहनेछन् ।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार  १ : ३० बजे

इलाममा बाढीपहिरोले क्षतिग्रस्त सडक खुलाउन धमाधम काम हुँदै

काठमाडौं- पूर्वी पहाडका जिल्लाहरु जोड्ने मेची राजमार्ग असोज १८, १९

सर्वोच्चमा रिट हाल्नेको जिकिर : सुशीला कार्कीको नियुक्ति असंवैधानिक, संसद् फर्किनु पर्छ

काठमाडौं- अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतमा

अब दर्ता नभई सहकारी सञ्चालन गर्न नपाइने, १५ लाखसम्म जरिवाना

काठमाडौं– अबदेखि दर्ता नभई कुनै पनि बचत तथा ऋण सहकारी

पर्यटकको पर्खाइमा गण्डकीका पर्यटकीयस्थल

गण्डकी– दशैँलगत्तै बर्सातका कारण दुई–तीन दिन मौसम प्रतिकूल भए पनि

मोहन बस्नेतको आरोप : क्रियाशील सदस्यता विवाद नटुंग्याई गगन-विश्व ‘जम्प’ गर्न खोज्दैछन्

काठमाडौँ– नेपाली कांग्रेसका नेता मोहन बहादुर बस्नेतले नियमित महाधिवेशनका लागि