पहिरोले नारायणगढ–मुग्लिन सडक खुल्दै बन्द हुँदै « Khabarhub

पहिरोले नारायणगढ–मुग्लिन सडक खुल्दै बन्द हुँदै


२२ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वर्षा शुरु भएसँगै नारायणगढ–मुग्लिन सडकखण्ड दिनहुँजसो पहिरो जाने र सडक अवरुद्ध हुने शृङ्खला चलिरहेको छ । पहिरो पन्छाएर जाममा परेका सवारीले सडकखण्ड पार गर्न नपाउँदै अर्काे पहिरो जाने समस्या यतिबेला बढेको हो ।

डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी इञ्जीनियर शिव खनालका अनुसार भरतपुर महानगरपालिका–२९ को सेतीदोभान, इच्छाकामनाको चार किलो, पाँच किलो, १४ किलोलगायतका ठाउँमा पहिराले विगत एक सातायता दुःख दिइरहेको छ । आज मध्याह्नमा सेतीदोभानमा सडक खुलाउन जुटिरहेका उनले भने, “लेदो माटो र ढुङ्गा झरिरहेकाले सडक सफा गर्न कठिन भएको छ ।”

पछिल्ला वर्षहरूमा पहिरो नखसेको सो ठाउँमा एकाएक पहिरो खसेको हो । सडकबाट झण्डै ८० मिटरमाथि बारी छ । त्यहाँ छ मिटर जति माटो मात्रै रहेको उनले जानकारी दिए । त्यस ठाउँमा खेती गरिँदै आएको छ । सोही ठाउँबाट पहिरो तल खसेको छ । भिरको ४० मिटर जतिमा पानीको मूल फुटेको छ । त्यहाँबाट पानी बगिरहेकाले पनि पहिरो रोक्न कठिन भएको छ । सडक सफा गरेर केही सवारी पार गर्न नपाउँदै फेरि पहिरो खस्ने गरेको उनको भनाइ छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापा सडक खुलाउन मुस्किल भएको बताउनुहुन्छ । एक सातायता सो सडकले दुःख दिइरहेको छ । उनले भने , “अब सडक खुल्यो भन्ने बेलामा सेतीदोभानमा पहिरो खस्न शुरु गरेको हो ।” असार १८ गते साँझदेखि खसेको पहिराले निरन्तर दुःख दिइरहेको छ । कतिबेला के हुने हो ? निकै जोखिम बढेको भन्दै उनले भने , “सबैलाई म अनुरोध गर्न चाहन्छु, हिँड्नैपर्ने भएमा वैकल्पिक सडक प्रयोग गर्नुहोस् ।”

जाममा परेकाहरू बिरामी भएका, खान नपाएका र सडकमा उच्च जोखिममा रहेका भन्दै उनले पूर्वबाट आउने सवारीलाई बर्दिबास र हेटौँडाबाट राजधानी छिर्न सुझाव दिएको छ । सडक पार गर्नका लागि सडक र बाहिर लाम बसेका सवारीको सङ्ख्या तीन हजारभन्दा बढी पुगिसकेको भन्दै उनले विगत तीन दिनदेखि सडक खुल्ने प्रतीक्षामा ठूला सवारी साधन कुरिरहेको जानकारी दिए ।

भरतपुरका खुला ठाउँमा ठूला सवारी साधन रोकेर राखिएको छ । नारायणगढ–मुग्लिन सडकका फराकिला सडक र खुला ठाउँमा पनि सवारी रोकिराखिएको उनले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले सो सडकमा पहिरो झरेलगत्तैदेखि निरन्तररूपमा सफा गर्ने उपकरण र जनशक्ति परिचालन गरिएको बताए । उनका अनुसार निरन्तररूपमा पहिरो खसिरहेकाले काममा कठिनाइ भएको हो । काम गर्न सकेसम्म रोकिएको छैन ।

डिभिजन सडक कार्यालय भरतपुर र सुरक्षा निकायले सडक खुलाउनका लागि दिनरात काम गरिरहेका छन् । केही वर्षअघि ठाउँठाउँमा पहिरो खसेर समस्या भएपछि पूरै सडकखण्डलाई विस्तार र पहिरो नियन्त्रण कार्य गरिएको थियो । तीन वर्षअघि काम सम्पन्न भएयता अघिल्ला दुई वर्षमा खासै समस्या भएको थिएन ।

यस वर्ष भने मौसम सक्रिय भएसँगै पहिरोले दुःख दिन थालेको हो । यस सडकमा सामान्य अवस्थामा दैनिक १० हजार हाराहारी सवारी साधन आवतजावत गर्ने तथ्याङ्क छ ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  १० : ४९ बजे

कानुनमन्त्री सोविता गौतमद्वारा न्याय परिषद् र न्याय सेवा आयोगसँग छलफल

काठमाडौं – नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले

सट्टेबाजी एप र वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने सरकारको निर्णय

काठमाडौं – नेपाल सरकारले देशभर सञ्चालनमा रहेका सट्टेबाजी सम्बन्धी एप

प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स पूर्ण बन्द गराउने सरकारको निर्णय

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तथा उच्च

नेपालगन्जमा युवतीको जलेर मृत्यु, तीन जना पक्राउ

बाँके – नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरमा आगोले जलेको अवस्थामा भेटिएकी एक

पहिरोले मेची राजमार्ग अवरुद्ध

झापा – इलामको रोङ गाउँपालिका–४ बाखोरस्थित सडकखण्डमा पहिरो खस्दा मेची