काठमाडौँ– डा. सागर रेग्मी विज्ञान तथा प्रविधि युवा पुरस्कारबाट सम्मानित भएका छन् ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले प्रज्ञा प्रतिष्ठान विज्ञान तथा प्रविधि प्रवर्द्धन पुरस्कार विसं २०७७ का लागि डा रेग्मीसहितका १७ जनालाई पुरस्कार प्रदान गरेको हो ।
बालुवाटारमा नास्टद्वारा आयोजित पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरूलाई पुरस्कृत गरेका हुन् ।
रेग्मीलाई माइक्रोफ्लुइडिक प्रणाली आविष्कारका लागि यो पुरस्कारबाट सम्मानित गरिएको हो । जसले क्यान्सरयुक्त रक्त कोषहरू हटाउन मद्दत गर्दछ । पुरस्कार स्वरुप डा. रेग्मीले ७५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
४० वर्षभन्दा कम उमेरका देशका युवा वैज्ञानिकहरूलाई उनीहरूले अध्ययनको क्षेत्रमा गरेको प्रयास र समर्पणको सम्मान स्वरूप प्रत्येक वर्ष यो पुरस्कार दिने गरिन्छ।
रेग्मीले सन् २०१९ मा सिंगापुरको नान्याङ टेक्नोलोजी विश्वविद्यालय (एनटीयु) बाट पीएचडी डीग्री गरेका थिए । एनटीयु विश्वका शीर्ष १५ विश्वविद्यालयमध्येको एकमा पर्दछ ।
एनटीयु सन् २०१५ देखि अप्रिल २०२१ सम्म क्यूएस वर्ल्ड युनिभर्सिटीको वरीयतामा कान्छो विश्वविद्यालहरूको पहिलो स्थानमा रहेको थियो ।
डा. रेग्मीले २०११ र २०१३ मा भारतको पुणे विश्वविद्यालयबाट स्नातक र स्नातकोत्तर पूरा गरेका थिए ।
उनले पुणेको विश्वविद्यालयबाट स्नातक अध्ययन गर्न काठमाडौँस्थित भारतीय दूतावासबाट जेनेरल कल्चरल स्कोलारशिप स्किम (जीसीएसएस) प्राप्त गरेका थिए ।
प्रतिक्रिया