काठमाडौँ- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ ।
भेटमा पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीबाट हटेपछिको विकसित राजनीतिक घटनाक्रम तथा पार्टी एकताका लागि कार्यदलले गरेके १० बुँदे सहमतिका विषयमा कुराकानी भएको स्रोतले जनाएको छ ।
कार्यादलमा भएको १० बुँदे सहमति स्थायी कमिटी बैठकअघि ओली र नेपालले त्यसमा सहमति जनाएर बैठकमार्फत अनुमोदन गर्ने तयारी भइरहँदा गौतमले नेपाललाई भेटेका हुन् ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि नेपाल-खनाल समूहसँग ओली अझ रुष्ट छन् ।
ओलीले मंगलबार देशबासीका नाममा गरेको सम्बोधनमा पनि नेपालको आलोचना गरेका थिए । नेपाल-खनाल पक्ष पनि बैठकमा जाने नजानेबारे अझै निर्णयमा पुगिनसकेका बेला गौतमले बैठकमा आउन आग्रह गरेको जनाइएको छ ।
नारायणकाजी श्रेष्ठसँग पनि भेट
नेता नेपाल र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच पनि आजै भेटवार्ता भएको छ ।
देउवा प्रधानमन्त्री बनेको भोलिपल्ट आज बिहान श्रेष्ठले कोटेश्वर पुगेर नेपाललाई भेटेका हुन् । गौतमअघि श्रेष्ठलाई भेटेका नेपालले गठबन्धनलाई अझै सशक्त बनाएर लैजाने भूमिका निर्वाह गर्न आग्रह गरिएको जनाइएको छ ।
प्रतिक्रिया