लुतो फाल्ने पर्व उल्लासमय मनाइँदै « Khabarhub

लुतो फाल्ने पर्व उल्लासमय मनाइँदै


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– झरी रोकिएको छ । एक सातायता त्यसअघिको लगातारको चोटिलो वर्षा थामिएको छ । मौसमको यो अनुकूलतामा महोत्तरीको सुदूर उत्तरी क्षेत्रमा साउने सङ्क्रान्तिका दिन आज ‘लुतो फाल्ने’ पर्वको उल्लास छ ।

जिल्लाको उत्तरवर्ती क्षेत्रका बर्दिबास, गौशाला, औरही र भङ्गाहा नगरपालिका क्षेत्रमा पर्वते मूलका बसोबास रहेको बस्तीमा साउने सङ्क्रान्तिका दिन मनाइने ‘लुतो फाल्ने’ परम्परालाई उल्लासमय बनाउन युवायुवती जुटेका छन् ।

खासगरी पहाडी मूलका नेपाली हिन्दू परम्परामा मनाइने यस पर्वमा साउने सङ्क्रान्तिका दिन साँझ लुतेसरो, कुकुरडाइनो, भलायो र कुरिलोसहितका जङ्गली वनस्पतिमा आगो सल्काएर अगुल्टो खोल्सा कटाउने गरी हुत्याउँदै ‘लुतो जा’ भन्दै कराइने चलन छ ।

सूर्यास्तपछि साँझपख मनाइने यो परम्पराको तयारीका लागि अहिले एकाबिहानै बस्तीबस्तीबाट युवायुवतीको समूह यी वनस्पतिको खोजीमा वन क्षेत्र पसेका छन् ।

पहाडी मूलका हिन्दू परम्पराको पर्व भए पनि लुतो फाल्ने वनस्पति लिन जङ्गल जाने समूहमा तराईकै मूल बासिन्दा कोइरी, यादव, लोहार, हजाम, पासवानसहितका जाति समुदाय र फरक धर्म परम्पराका इस्लाम धर्मावलम्बी युवायुवती पनि सरिक देखिएका छन् ।

एक ठाउँमा बस्दा आपसी सद्भाव अभिवृद्धिमा सांस्कृतिक घुलमिलले सजिलो बनाउने हुँदा आफूहरू लुतो फाल्ने पर्वको तयारीमा लागेको भङ्गाहा–४ का बासिन्दा ३० वर्षीय इस्लाम धर्मावलम्बी युवा शेराजुल राइन बताउँछन् ।

आफ्ना बस्तीमा नयाँ युवा पुस्तामा हेलमेल र अपनत्व बढेको देख्दा पुराना बाबु पुस्ताका अभिभावक पनि खुशी देखिएका छन् ।

तराईमा मनाइने छठ, चौरचन र जुडशीतललगायतका पर्व र इस्लाम धर्मावलम्बीका इद, बकरिद र मुहर्रमजस्ता पर्वमा पहाडी मूलका युवाको र पहाडी मूलका तराईका बासिन्दाले मनाउने पर्वहरूमा मधेसी र इस्लाम युवायुवतीको हुने सरिकताले चाडबाड थप रमाइलो हुने र आपसी सहकार्य बढ्ने भङ्गाहा–४ कै सामाजिक, राजनीतिक कार्यकर्ता मुकुन्द दाहालको धारणा छ ।

जिल्लाको उत्तरी भेगका पहाडी र मधेसी मूलका छ्यासमिस बस्तीमा एकअर्काका सांस्कृतिक पर्वहरू अब सबैका साझा बनेका देखिँदा छन् । फरकफरक सांस्कृतिक परम्पराका नयाँ पुस्तामा देखिएको घुलमिल र हिमचिमले पुराना राजनीतिक आग्रह र पहाडी–मधेसी भनेर हेर्ने, सोच्ने दृष्टिकोण हराउँदै, मेटिदै जाँदा खुशी लाग्ने गरेको बर्दिवास–९ पशुपतिनगरका सामाजिक राजनीतिक कायकर्ता सुरजसिंह कुशवाहाले बताए ।

पर्वका अवसरमा आज जिल्लाको सुदूर उत्तरी क्षेत्रको वनक्षेत्रमा विभिन्न ठाउँका युवाको समूह ‘लुतो फाल्ने’ पर्व प्रयोजनका वनस्पति खोज्न व्यस्त देखिएका छन् । साँझमा ‘लुतो फाल्ने’ विधिको परम्परा अति नै रमाइलो लाग्ने हुँदा पर्वते मूलका साथीसँगै मिसिएर आफू पनि वनस्पति खोज्न वन आएको गौशाला नगरपालिका–१ का युवा चन्देश्वर महतोको भनाइ छ ।

जिल्लाको यो क्षेत्रमा साउने सङ्क्रान्तिका दिन धेरैजसो खिर खाने चलन छ । जिल्लाको उत्तरी क्षेत्रमा सघन बसोबास रहेका मगर जातिले त साउने सङ्क्रान्ति पर्व विशेषरूपमै मनाउने गरेका छन् । मगर जातिमा यस पर्वका दिन विवाह गरिएका छोरीचेलीलाई बोलाएर खुवाउने परम्परा छ । बिहानदेखि साँझसम्म विभिन्न परिकार खाने–खुवाउने गरिएपछि साँझमा भने बस्तीकै युवायुवती भेला भएर हल्लीखल्ली गर्दै ‘लुतो फाल्ने’ पर्व मनाउँछन् ।

पर्व मनाउने नेपाली परम्परा अति नै सहिष्णु र सहकार्यमा आधारित भएको बुद्धिजीवीको धारणा छ । फरक–फरक धर्म, संस्कृति र परम्पराका भए पनि एकअर्काका पर्वमा उत्तिकै रमाएर सरिक हुने नेपाली समाजको सहकार्य संस्कृति नमूना नै रहेको बर्दिवास जनता बहुमुखी क्याम्पसका प्राचार्य तोपबहादुर ठकुरी बताउँछन् ।

पर्व विशेषमा खिर खाने प्रचलनले आज एकाबिहानै दूध डेरीहरूमा उपभोक्ता लाम लागेका देखिन्छन् । ग्रामीण बस्तीमा पशुपालक किसानका घरबाट टोल छिमेककाहरूले दूध लिएर पर्व मनाउने गरेका छन् ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ८ : ४३ बजे

झापामा ‘स्विप अपरेसन’ एक सय अट्ठाइस जना पक्राउ

झापा– लागूऔषध दुर्व्यसन तथा ओसारपसारविरुद्ध प्रहरीले सञ्चालन गरेको ‘स्विप अपरेसन’

नेपालले युएईलाई दियो २०१ रनको चुनौती

काठमाडौं– आजदेखि काठमाडौँमा सुरु भएको आईसीसी विश्वकप लिग–२ क्रिकेट प्रतियोगितामा

भूकम्पको एक दशक : राहतका घरमा ताला ठोकेर स्थानीय सहरतिर, गाउँ रित्तै

दोलखा – २०७२ साल वैशाख १२ गते अर्थात त्यो कालो

इजरायल-लेबनान वार्ता प्रयाससँगै क्षेत्रीय तनाव अझ गहिरिँदै

एजेन्सी– युरोपेली परिषद्का अध्यक्ष एन्तोनियो कोस्टाले जलडमरूलाई कुनै पनि प्रतिबन्ध

विस्थापित सुकुमबासीबारे पोखरेल- नियम मात्रै होइन, विकल्प पनि चाहिन्छ

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले थापाथलीस्थित बागमती किनारको बस्ती