काठमाडौँ– काठमाडौँ उपत्यकामा असार १६ गतेदेखि धेरै जमघट हुने केही सीमित बाहेक धेरै क्षेत्र खुला भएका छन् ।
बजार खुला भएको छ । मानिसहरूको आवतजात निर्बाध भएको छ । फुटपाथहरू भरिभराउ हुन थालेका छन् ।
निजी र सार्वजनिक सबै सवारी साधनहरू चलेका छन् । सबैजसो निजी तथा सरकारी कार्यालयहरू खुला भएको छ ।
यससँगै दुईसाता यता बजारमा चहलपहल बढेको छ ।
विषेशगरी काठमाडौँको व्यस्त मानिने असन, इन्द्रचोक, महाबौद्ध, वसन्तपुर, न्यूरोड, खिचोपोखरी लगायतका स्थानमा मानिसहरुको भीडभाड बढेको छ ।
साथै काठमाडौँ उपत्यकाका अन्य स्थानमा पनि चहलपहल भने बढेको देखिन्छ ।
कम्तीमा २ मिटर भौतिक दूरी कायम गर्नु भनिरहँदा सर्वसाधरण भने एकअर्कालाई धकेल्दै हिँडिरहेको देखिन्छ ।
केही दिनयता विभिन्न खोप केन्द्रमा कोरोनाविरुद्धको खोप लगाउनेहरुको भीड कायमै छ । जहाँ स्वास्थ्यका न्यूनतम मापदण्डसमेत पालना भएको देखिँदैन ।
१६ दिनमा ३७ हजार जना संक्रमित, ३९३ को मृत्यु
कोरोना भाइरस संक्रमण रोकथामका लागि गत असार १५ गते काठमाडौँ उपत्यकामा निषेधाज्ञाको मोडालिटी परिवर्तन भएको हो ।
त्यससँगै मानिसको चहलपहल ह्वातै बढेको छ । तर कोरोना संक्रमितको संख्या भने घटेको छैन । झन बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
निषेधाज्ञा खुकुलो बनाएयता ३७ हजार जना कोरोना संक्रमित थपिएका छन् ।
निषेधाज्ञा खुकुलो बनाएकै दिन असार १६ गते देशभर २ हजार ८९२ जना संक्रमित थपिएका थिए ।
त्यस्तै २० गते संक्रमण १ हजार ६ सयम झरेको संक्रमणको संख्या क्रमशः २ हजारभन्दा माथि थपिँदै साउन १ गते २ हजार ९ सय ३६ जना संक्रमित थपिएका छन् ।
त्यस्तै मृत्यु हुनेको संख्या पनि बढेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । असार कोरोना संक्रमणका कारण असार १६ गते ४१ जनाले ज्यान गुमाएका थिए । त्यससँगै १९ गते मृतकको संख्या १९ मा झरेको थियो भने २० गते बढेर २७ मा पुग्यो ।
त्यस्तै असार २९ गते १२ झरेको मृतकको संख्या साउन १ गते ह्वातै बढेर ४३ पुगेको छ । समग्रमा १६ दिनमा ३ सय ९३ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।
यो तथ्याङ्कलाइ हेर्दा निषेधाज्ञा खुकुलो र बजार चलायमान बनाउनभन्दा पनि कोरोना संक्रमणको जोखिमबाट बच्न जरुरी देखिन्छ ।
भीडभाडसँगै जोखिम बढ्यो, खोप नलगाएका जेखिममा
सरकारले आर्थिक गतिविधि सुचारु गर्नका लागि निषेधाज्ञा खुकुलो बनाएसँगै कोरोना संक्रमणको जोखिम झन बढेको बताउँछन् जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डे ।
पहिलो लहरको तुलनामा दोस्रो लहरमा संक्रमणदर र मृत्युदर दुवै बढेको र संक्रमण कायमै रहदा निषेधाज्ञा खुकुलो भएपछि जनस्वास्थ्यका मापदण्डमा ध्यान पुर्याउन सुझाव दिन्छन् उनी ।
‘निर्माण क्षेत्रमा काम गर्ने, फोहोरमैला उठाउने, तरकारी तथा फलफूल पसल, ठेलामा सामान बेच्ने लगायत अन्य बजारमा काम गर्ने अधिकांशले मास्क लगाएको छैनन्’ डा. पाण्डेले भने ‘लगाएकले पनि घाँटी र चिउँडोमा मास्क लगाएर हिडिरहेका छन् ।’
उनकाअनुसार सर्वसाधरणले स्वास्थ्यका मापदण्ड अपनाएको खण्डमा लकडाउन खुलेपनि संक्रमण फैलिन पाउदैन ।
अहिले कोरोनाविरुद्धको खोप नलाउने उच्च जोखिममा रहेकाले सरकारले जतिसक्दो छिटो खोपमा काम गर्नुपर्ने उनको भनाइ छ ।
‘स्वास्थ्यका मापदण्ड पालना भए नभएको बारे सुरक्षाकर्मी परिचलान गर्ने’ उनी भन्छन्, ‘परीक्षण बढाउनुपर्यो ।’
देशभर ८७ वटा पीसीआर ल्याब छन् । एउटा ल्याबले दिनमा हजार जनाको परीक्षण गर्ने हो भने पनि ८७ हजार जनाको स्वाब परीक्षण गर्ने क्षमता छ ।
तर दैनिक ८ देखि १० हजार मात्र पीसीआर परीक्षण भएको देखिन्छ । परीक्षणलाई अभियानकै रुपमा लैजान उनी सुझाउँछन् ।
त्यस्तै कन्ट्रयाक ट्रेसिङ सबैभन्दा प्रभावकारी रहेपनि यो काम अहिले बन्द रहेको उनको भनाइ छ ।
‘भाइरसका नयाँ प्रजाति थपिइरहेका छन् । तर हामीसबै कोरोना लाग्दैन केही होइन भन्दै न्यूनतम मापदण्ड समेत पालना नगरी हिँडिरहेका छन्’ उनले सुनाए ।
उनकाअनुसार भ्याक्सिन नलगाएकाहरु अहिले संक्रमणको उच्च जोखिममा छन् ।
‘हामीकहाँ ठूलो जनसंख्या जोखिममा छ । त्यसकारण कम्तीमा १ करोड नेपालीलाई खोप लगाउने हो भने जोखिम धेरै न्यून हुन्छ’ उनले भने ।
प्रतिक्रिया